Comments Add Comment

सिलगढी नगरपालिकाबाट १५ बालश्रमिकको उद्दार

२७ जेठ, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरलाई बालश्रम मुक्त बनाउने अभियानलाई तीब्रता दिएको छ । अभियानको क्रममा शुक्रबार थप १५ जना बालश्रमिकलाई उद्दार गरिएको हो ।

नगर क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुका घरमा काम गरिरहेका उनीहरुलाई उद्दार गरेर सिलगढी–६ मा रहेको शैलेश्वरी एकेडेमीमा भर्ना गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए ।

बालबालिका, अभिभावक र बालश्रमिक राख्ने मालिकबीच भएको लामो अन्तरक्रियापछि श्रमिक बालबालिकालाई विद्यालय भर्ना गर्ने सहमति भएको थियो ।

त्यस्ता बालबालिकाको पढाइको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने पनि जनाइएको छ । शैलेश्वरी एकेडेमीलाई प्रति विद्यार्थी मासिक ५ हजार ७ सय ५० रुपैयाँका दरले नगरपालिकाले एकमुष्ठ रकम उपलब्ध गराउने सम्झौता भएको जोशी बताउँछन् ।

‘विद्यार्थीको खाना, आवास, पोशाक र शैक्षिक सामग्रीको व्यवस्थापन विद्यालयले नै गर्ने छ’, जोशीले अनलाइनखबरसँग भने, ‘नगरपालिकाले त्यसवापत पनि एकमुष्ठ पैसा दिने छ ।’ उनले नगरपालिकाले बेलाबेलामा खाना र पढाइको स्तरबारे पनि जाँच गर्ने जनाए ।

नगर प्रमुख मञ्जु मलासीले श्रममुक्त बालकलाई आइतबार विद्यालयको जिम्मा लगाउँदै नगरपालिकाभित्र कुनै पनि व्यक्तिले बालश्रमिक राखेको पाइए कानुन बमोजिम कारबाही गर्ने बताइन् ।

यसैबीच, दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले युवालाई सीप सिकेर स्वरोजगार बन्न आग्रह गरेकी छन् ।

सोमबार दिपायल सिलगढी नरपालिकाले आयोजना गरेको ३ महिले ‘पञ्चे बाजा सीप विकास तथा व्यान्ड बाजा’ तालिमको उद्घाटन उनले युवालाई स्वरोजगार बन्न आग्रह गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment