+
+
Shares

खरिद नियमावलीमा सरकारको ‘ब्याकगियर’

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७६ जेठ २७ गते २१:५३

२७ जेठ, काठमाडौं । सरकारले ३० वैशाखमा सार्वजनिक ठेक्काको अव्यवस्था हटाउन कसिलो व्यवस्था गर्दै सार्वजनिक खरिद नियमावलीको छैठौं संशोधन सार्वजनिक गर्‍यो । निर्माण व्यवसायी र सरकारी अधिकारीलाई ‘सरप्राइज’ दिँदै गरिएको संशोधनको मसी नसुक्दै सरकारले एकाएक पछि हटेको छ ।

२३ जेठमा अर्को राजपत्रमार्फत नियमावलीको सातौं संशोधनको सूचना निकालेर सरकारले गोप्य राखेको छ ।

ठूला ठेकदारहरूको मागबमोजिम २३ दिनको अन्तरमा सार्वजनिक खरिद नियमावली संशोधन गरिएको छ । यद्यपि संशोधनमा सबै ठेकेदार खुशी भने देखिएका छैनन् । खासगरी साना ठेकेदार भने संशोधनप्रति असन्तुष्ट देखिएका छन् ।

नियमावलीको छैठौं संशोधन बाहिरएलगत्तै अधिकांश ठूला निर्माण व्यवसायी रुष्ट बनेका थिए । विशेषगरी भ्रष्टाचार मुद्दा लागेकालाई ठेक्का नदिने, कम्पनीको क्षमता हेरेर मात्र ठेक्का दिने र वर्षौंदेखि ठेकेदारबाट अल्झाइएका रुग्ण आयोजनाको ठेक्का तोड्नुपर्ने लगायतका व्यवस्था छैठौं संशोधनमा थिए ।

त्यसको विरोधमा निर्माण व्यवसायीहरुले आन्दोलनको मोर्चा कस्ने चेतावनी दिए । तर, निर्माण व्यवसायीले आन्दोलन नथाल्दै सरकारले ‘ब्याकगियर’ लिएको छ । छैठौं संशोधनका महत्वपूर्ण व्यवस्थाहरु हटाइएको छ, जसका लागि ठूला ठेकदारहरु राजनीतिक लबिङमा लागेका थिए ।

निर्माण व्यवसायीले आन्दोलन गर्छु भनेकै भरमा सरकार पछाडि हटेपछि भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी छक्क परेका छन् । ‘रुग्ण आयोजनाको हकमा अन्योल थियो, त्यसलाई सम्बोधन गर्नु ठीकै हो,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर वास्तविक क्षमता मूल्यांकन गरेर मात्रै ठेक्का दिने व्यवस्था निकै उत्कृष्ट र वैज्ञानिक थियो । सातौं संशोधनले त्यसलाई हटायो ।’

नियमावलीको सातौं संशोधनले ठूला निर्माण व्यवसायीको पक्षपोषण गर्ने विकासे अड्डाका हाकिमहरु बताउँछन् ।

छैठौं संशोधनले क्षमता हेरेर ठेक्का दिनेगरी राखेका ४ वटा उपनियमहरुलाई सोझै हटाएर व्यवसायीको मागलाई लालमोहोर लगाइएको छ ।  छैठौं संशोधनले कम्पनीको विगत ५ वर्षको कुल कारोबारको औसत रकमको चार गुणाभन्दा बढीको ठेक्का लिन नपाउने गरी गरेको व्यवस्थामा व्यवसायी असन्तुष्ट थिए ।

ठूला व्यवसायीले आर्थिक चलखेल गरेको भन्दै साना व्यवसायीले असन्तुष्टि पनि जनाएका थिए । ठूला व्यवसायीले ऐन संशोधनका लागि भन्दै पैसा असुल्न थालेको समेत आरोप लगाए । यसका लागि नेपाल निर्माण व्यवसायी महासंघ नै परिचालन भएको आरोप साना ठेकदारहरुले लगाएका छन् ।

पप्पु र कालिकालाई राहत !

छैटौं संशोधनले भ्रष्टाचारको मुद्दा लागेका ठेकेदारलाई मूल्यांकन प्रक्रियाबाटै पन्छाएको थियो । यसको साझो असर कालिका र पप्पु कन्स्ट्रक्सनलाई परेको थियो । तर, सातौं संशोधनले दुबैलाई राहत दिएको छ ।

अब सरकारले आफूले चाहँदा मात्रै उनीहरुलाई ठेक्का नदिन सक्ने आएको छ । यस्ता कम्पनी ठेक्का प्रक्रियामा सहभागी भए सम्बन्धित निकायले सरकारलाई जानकारी गराउने र सरकारको निर्देशनअनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसले ती भ्रष्टाचारमा मुछिएकाहरु अझै सरकारसँग आश्वास्त भने छैनन् । सरकारले आफूहरुसँग रिस साँधेको अवस्थामा ठेक्का नपाइने चिन्ता ती मुद्दामा फसेका व्यवसायीमा कामय देखिन्छ ।

सातौं संशोधनमा भ्रष्टाचारको मुद्दा लागेका कम्पनीका हकमा छैठौं संशोधनले थपेको नियम १४५ को  ‘ख’मा थप गरेका सबै प्रावधान खारेज गरिदिएको छ । नयाँ व्यवस्थाले कारण राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेको कम्पनी कालिका र नेपालमा परामर्शदाता कम्पनीका रुपमा सबैभन्दा धेरै काम गरिरहेको ‘ईआरएमसी’ लाई ठेक्का प्रक्रियामा सामेल हुने बाटो खुलेको छ ।

एक वर्ष म्याद थप गर्न सकिने

पछिल्लो संशोधनमार्फत तोकिएको समयमा सम्पन्न गर्न नसकेका आयोजनाको म्याद एक वर्षसम्म थप्न बाटो खोलिएको छ । यसबाट झण्डै साढे १ हजार ८ सय ४८ वटा आयोजनामा काम गरिरहेका ठेकेदारको संकट टरेको छ ।

सरकारले तोकिएको समय नाघेर सम्झौताको ५० प्रतिशत म्याद थप भइसकेका आयोजनाको ठेक्का रद्द गर्ने गरी खरिद नियमावलीमा छैटौं संसोधन गरेको थियो ।

त्यसविरुद्ध निर्माण व्यवसायीले आवाज उठाएका थिए । निर्माण व्यवसायीले छैठौं संशोधनका कारण एकैपटक अर्बौंको योजनाको ठेक्का तोडिने अवस्था आएपछि विरोध थालेका थिए ।

नयाँ व्यवस्थाअनुसार २ वर्षको लागि म्याद राखेर सुरु गरिएका आयोजना ३ वर्षसम्म नबने पनि सरकारले अर्को एक वर्ष म्याद थप गर्न सक्नेछ । हाल देशभर विभिन्न आयोजना कतै ठेकेदारको लापरवाहीले त कुनै सरकारी अधिकारी र ठेकेदारको मिलेमतोमा लथालिंग छन् । पटक पटक म्याद थप्दा पनि पुरा भएका छैनन् ।

सरकारी तथ्यांकअनुसार हाल ११ वर्षसम्म पनि म्याद थप्दै अड्काइएका आयोजना छन् । भौतिक पूर्वाधार मन्त्रालयअन्तरगत मात्र ९०६ वटा म्याद सकिएर बसेका ठेक्का छन् ।

अब सम्झौताको भन्दा ५० प्रतिशत बढी म्याद थप भएका आयोजनामा सम्बन्धित मन्त्रालय वा निकायका सचिवले थप एक वर्ष म्याद थप गर्न सक्नेछन् । सरकारी अधिकारीले पनि नियमावलीले सम्पन्न हुनै लागेका रुग्ण आयोजनाको लागि पनि नयाँ टेन्डर गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि जनाएका थिए ।

खरिद नियमावलीमा भएको सातौं संशोधनबारे आधिकारिक धारणा सार्वजनिक गर्न निर्माण व्यवसायीहरुले भोलि पत्रकार सम्मेलन राखेका छन् । संशोधनपछि आन्दोलन के हुन्छ भन्ने प्रश्न गर्दा निर्माण व्यवसायीहरुले भोलि नै जानकारी दिने बताएका छन् ।

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?