
२७ जेठ, काठमाडौं । तोकिएको समयमा सम्पन्न हुन नसकेका आयोजनाको म्याद एक वर्षसम्म थप्न सरकारले बाटो खोलिदिएको छ । यसबाट झण्डै साढे १ हजार ८ सय ४८ वटा आयोजनाको संकटमोचन भएको छ ।
सरकारले तोकिएको समय नाघेर सम्झौताको ५० प्रतिशत म्याद थप भइसकेका आयोजनाको ठेक्का रद्द गर्ने गरी खरिद नियमावलीमा छैटौं संसोधन गरेको थियो । त्यसको विरुद्ध निर्माण व्यवसायी आन्दोलित बनेका थिए । अन्ततः सरकारले निर्माण व्यवसायीको दवावमा झूकेर नियमावलीमा सातौं संसोधन गरेको छ ।
गुपचुपरुपमा गरिएको यो संसोधनले रुग्ण आयोजनालाई थप एक वर्ष पाउने गरी व्यवस्था गरेको हो । यसअनुसार अब २ वर्षको लागि म्याद राखेर सुरु गरिएको आयोजना ३ वर्षसम्म नबने पनि सरकारले अर्को एक वर्ष म्याद थप गर्न सक्नेछ ।
हाल देशभर विभिन्न आयोजना कतै ठेकेदारको चरम लापरवाहीले त कुनै सरकारी अधिकारी र ठेकेदारको मिलेमतोमा लथालिंग छन् । यी आयोजना जतिपटक म्याद थप्दा पनि कतिपय आयोजना पूर्ण हुन सकेका छैनन् ।
अब सम्झौताको भन्दा ५० प्रतिशत बढी म्याद थप भएका आयोजनामा सम्बन्धित मन्त्रालय वा निकायका सचिवले थप एक वर्ष म्याद थप गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।
निर्माण व्यवसायीले एकैपटक अर्बौंको योजनाको ठेक्का तोडिने अवस्था आएपछि विरोध थालेका थिए । सरकारी अधिकारीले पनि नियमावलीले सम्पन्न हुनै लागेका रुग्ण आयोजनाको लागि पनि नयाँ टेन्डर गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि जनाएका थिए ।
हाल ११ वर्षसम्म पनि म्याद थप्दै अड्काइएका आयोजना छन् । अब त्यसलाई १२ वार्षसम्म लम्ब्याउन सकिने गरी सरकारले बाटो खोलिदिएको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तरगत मात्रै हाल ९०६ वटा म्याद सकिएर बसेका ठेक्काहरु छन् ।
सडक विभागका अधिकारीहरुले विशेषगरी पुलका आयोजनामा म्याद थप्न नसकिने गरी ल्याइएको प्रावधानले बढी समस्या गर्ने बताएका थिए । यस्तै जटिल स्थानमा सडक निर्माण गर्न लगाइएका ठेक्कालाई पनि यस्तो प्रावधानले समस्या गर्ने तर्क उनीहरुको थियो ।
प्रतिक्रिया 4