Comments Add Comment

चिठ्ठा परेको भन्दै मिर्गौला रोगीकै परिवारमाथि ठगी, दुई जना पक्राउ

३० जेठ, विराटनगर । इलामको माई नगरपालिका– ८ का पासाङ शेर्पा मिर्गौला रोगबाट पीडित आमाको उपचारकालागि विर्तामोडमा बसिरहेका छन् । आमा सकुन्तलाको नियमित डाइलासिस गर्न एक वर्षयता विर्तामोड बसिरहेका पासाङलाई सामाजिक सञ्जाल इमोमा २५ लाख रुपैयाँ परेको भन्दै फोन आयो ।

आमाको मिर्गौला प्रत्यारोपण गर्न खर्च खोजिरहेका पासाङका लागि २५ लाखको चिट्ठा परेको सुन्दा भगवान भेटे जस्तै भयो । इमोको फोनमा फोन गर्ने युवतीले काठमाडौंबाट बोलेको बताउँदै पुरस्कार लिन इमोका मालिकलाई सम्पर्क गर्नुपर्ने बताइन् । ती युवतीले इमोका मालिक भन्दै श्रवण मलाहको नम्बर दिइन् । मलाहले २५ लाख परेकाले कर प्रयोजनकालागि ४५ हजार रुपैयाँ मागे ।

पासाङले दायाँ बाया सोचेनन् । आमालाई भने ‘तपाईको किड्नी फेर्न पैसा आयो ।’ आशै आशमा २०७५ पुस १५ गते मालिक भनिएका श्रवण मलाहलाई दिउँसो ४५ हजार रुपैयाँ पठाइदिए । एक घण्टापछि २५ लाख पाउने आश थियो । तर श्रवणले फेरि कम्युटरमा लक भएका कारण ७५ हजार पठाउन आग्रह गरे ।

रकम खोजखाज गरेर पासाङले ७५ हजार पनि पठाए । तर एक घण्टामा आउँछ भनेको नम्बरमा फोन लाग्न छाड्यो । सम्पर्क नभएपछि उनले ठगिएको थाहा पाएर भोली पल्ट प्रहरी चौकीमा ठगिएको उजुरी दिए । ‘ममी मिर्गौला ट्रान्सप्लान्ट गर्ने पैसा जुट्यो भन्दै खुसी भएर पैसा पठाए’ पासाङ भन्छन् ‘तर हामी ठगिएका रहेछौं ।’

पासाङबाट एक लाख २० हजार रुपैयाँ ठगी गर्ने व्यक्ति मोरङ धनपालथान गाउँपालिका– ६ बस्ने ३६ वर्षका श्रवण मलहा हुन् । मोरङ प्रहरीले श्रवण र उनका सहयोगी विराटनगर– ११ का निरज मरिकलाई पक्राउ गरेको छ । पासाङलाई मरिकको नाममा पैसा पठाउन लगाइएको थियो । मरिक पक्राउ परेपछि श्रवणलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्रवणले निरजलाई एक पटकको एक हजार रुपैयाँ कमिसन दिएर ठगिएकाहरुले पठाएको रकम निकाल्न प्रयोग गर्दै आएका थिए । बुधबार नियन्त्रणमा लिएका श्रवणको बयानका आधारमा बिहीबार श्रवणलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका मलाहको घरबाट बिभिन्न ब्यक्तिका नागरिकता तथा ब्यक्तिगत परिचय पत्रका प्रतिलिपीहरू समेत बरामद भएको छ ।

हिरासतबाट छुटे लगत्तै पुरानै धन्दा

प्रहरीले गत पुस २६ गते मलाहलाई विराटनगर– ७ हाटखोलाबाट ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । त्यसबेला पश्चिमका व्यक्तिको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।

३० हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका मलाहलाई जिल्ला अदालत मोरङले गत माघ २२ गते २ लाख धरौटीमा छाडेको थियो । एक महिना प्रहरी हिरासतमा बसेर छुटेका उनले फेरी पुरानै धन्दा सुरु गरेको प्रहरी बताउँछ ।

धरौटीबाट छुटेका मलाहले पून ठगी धन्दा अपनाएको प्रहरीले उनको घरबाट फेला पारेका विभिन्न व्यक्तिका नागरिकता लगायका सामाग्रीहरुले पनि देखाउछ ।

दुई जनालाई मुलुकी अपराध संहिता, २०७४ को ठगी सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले बताए । मलाहबाट अन्य व्यक्ति पनि ठगिएको देखिएकाले ठगिएका व्यक्तीहरुलाई पनि प्रहरीलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment