Comments Add Comment

एकल बिन्दु सेवा केन्द्रबाट एक महिनामा ३७ उद्योग दर्ता

स्वदेशी लगानीका २०,विदेशी लगानीका १५ संयुक्त लगानीका एक

३१ जेठ, काठमाडौं । एकल बिन्दु सेवा केन्द्रबाट सेवा आरम्भको एक महिनामा स्वदेशी तथा विदेशी लगानीका ३७ उद्योग दर्ता भएका छन् । तीमध्ये २० पूर्ण स्वदेशी लगानी तथा १५ पूर्ण विदेशी लगानी एवं एक संयुक्त लगानीका उद्योग हुन् ।

दर्ता भएका उद्योगहरु मध्ये ७८ अर्ब १२ करोड ९८ लाख ४२ हजार १२६ रुपैयाँ लगानी नेपाली र २४ करोड ५८ लाख रुपैयाँ विदेशी लगानीका छन् । केही उद्योग दर्ताका फाइलहरु अन्तिम प्रक्रियामा रहेका कारण केन्द्रको पहिलो महिनाको अन्तिम दिनसम्म यो संख्या अझै बढ्न सक्ने उद्योग विभागका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए ।

एकल बिन्दु सेवामार्फत जलविद्युत कम्पनीदेखि क्याफे, तारे होटल तथा सफ्टवेयर कम्पनीसम्ममा लगानी भित्रिएका छन् ।

सात इकाइले काम थाले

केन्द्र विकासकै चरणमा रहेका कारण तत्काल सात इकाइले प्रारम्भिक कार्य थालेको विभागले जनाएको छ । एकल बिन्दु सेवा केन्द्रबाट नेपाल राष्ट्र बैंकमार्फत विदेशी मुद्रा विनिमय तथा लगानी स्वीकृति, भन्सार र राजश्वको सहजीकरण, अध्यागमनको भिसा सहजीकरण, जग्गा प्रशासन, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति र वातावरण मूल्याङ्कन इकाइले प्रारम्भिक चरणमा काम थालेका छन् । ऊर्जा मन्त्रालय, वन मन्त्रालय र विद्युत प्राधिकरणबाट आउनु पर्ने इकाइहरु भने स्थापना हुनै बाँकी रहेको सूचना अधिकारी खड्काले जानकारी दिए । एकल बिन्दुको कुल स्वीकृत दरबन्दी ४१ जना रहे पनि हाल ३१ जना कर्मचारीबाट सेवा सञ्चालन भइरहेको खड्का बताउँछन् ।

अधिकार प्रत्ययोजन हल गरिँदै

एकल बिन्दु सेवा केन्द्रमा विभिन्न मन्त्रालय तथा निकायबाट खटिएका इकाइका प्रमुुखहरुको अधिकार निश्चित नहुँदा काम प्रभावित बन्न पुगेको विभागले जनाएको छ । इकाइ प्रमुखहरुको काम कर्तव्य र अधिकारको समन्वय गरिदिन विभागले मन्त्रालयका सचिवलाई निवेदन गरिसकेको र यो छिटै टुङ्गीने सूचना अधिकारी खड्काले बताए ।

कतिसम्मको विदेशी विनिमयको स्वीकृति एकल बिन्दुमा खटेका अधिकारीले दिने, भिसा सहजीकरणका लागि के–के अधिकार त्यहाँ खटेका अधिकारीमा हुनेलगायतका अन्यौल एकल बिन्दु सेवा केन्द्रमा देखिएको थियो ।

निर्देशिका बन्यो, कार्यविधि अन्तिम चरणमा

एकल बिन्दु सेवा केन्द्रको पहिलो संशोधित निर्देशिका प्राप्त भइसकेको सूचना अधिकारी खड्काले बताए । उनका अनुसार सेवा केन्द्रको कार्यविधिको तयारी अन्तिम अवस्थामा पुगेको छ । निर्देशिकामा उल्लेख भएको एजेन्सी इकाइहरु कार्यविधि बनेपछि थपिँदै जाने विभागको विश्वास छ ।

डाटा सेन्टर नहुँदा समस्या

डाटा सेन्टरको काम सकिन अझै समय लाग्ने भएकाले केन्द्रको काम प्रभावित बनिरहेको विभागले जनाएको छ । कम्पनी रजिष्टारमा अनलाइनमार्फत उद्योगको नाम एक महिनाअघि रिजर्भ गरिनु पर्छ ।

त्यहाँको डाटामा एकल सेवा केन्द जोडिएको छैन जसले गर्दा डुप्लीकेसनको समस्या देखापरेको छ । यस्तै, समस्या अध्यगमन र भन्सारमा पनि देखिएको विभागले जनाएको छ । सेवा केन्द्र पूर्ण अटोमेशनमा जाने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment