Comments Add Comment

कृषि विश्वविद्यालयको वार्षिक उत्सवमा कृषि प्रदर्शनी र कृषक मेला

३१, जेठ, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयले स्थापना दिवसका अवसरमा कृषि प्रर्दशनी तथा कृषक मेला आयोजना गरेको छ । जेठ ३२ देखि असार ३ गतेसम्म गरिने मेलाको तयारी पूरा भएको विश्वविद्यालयले जनाएको छ ।

मेलाको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । कृषि संकायको परिसरमा हुने मेलामा ५० वटा स्टलहरु रहने मेला सचिवालयका संयोजक प्रा. डा. अर्जुन श्रेष्ठले बताए ।

मेलामा कृषि यान्त्रिकीकरणको क्षेत्रमा काम गरिरहेका उद्यमी, कृषि पदार्थ, बीउबिजनको उत्पादक र बिक्रेता, कृषिमा सम्बन्धित बीमा कम्पनी र बैंक, कृषिको सूचना प्रविधि, कृषिसँग सम्बन्धित सरकारी र गैरसरकारी संस्था, नर्सरी र व्यावसायिक तरकारी किसानहरुको सहभागिता रहने छ ।

मेलामा कृषि तथा वनविज्ञान विश्वविद्यालयलले आफ्नो छुट्टै स्टल राखी विश्वविद्यालयमा भइरहेका अनुसन्धानका बारेमा जानकारी दिने जनाएको छ । त्यसका साथै किसानका समस्या, माटो परीक्षण, बाली तथा पशुको क्षेत्रमा देखिएका रोग किराको नमूना संकलन गरी तत्काल समाधानको उपाय सुझाउने विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.मनराज कोलाक्षपतिले जानकारी दिए ।

किसानका समस्या जानकारी लिन विश्वविद्यालयले किसान कल सेन्टर र किसानसँग एएफयू भन्ने कार्यक्रम सञ्चालन गरेको छ ।
चार दिन विहान ९ बजेदेखि साँझ ६ बजेसम्म चल्ने मेलामा हरेक दिन चितवन र आसपासका क्षेत्रमा व्यवसायिक तरकारी र फलफूल खेतीमा देखापरेका समस्याका बारेमा अन्तर्क्रिया हुनेछ । सो अवसरमा कृषि वैज्ञानिकहरुसँग कृषकले प्रत्यक्ष रुपमा भेटेर आफ्नो समस्या राख्न सक्ने विश्वविद्यालयका रजिष्ट्रार कोलाक्षपतिले जानकारी दिए ।

किसानसहित कृषि क्षेत्रमा काम गर्ने विभिन्न क्षेत्रका गरी करीव ५ हजार जनाको सहभागिता रहने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले विश्वविद्यालय स्थापनाको प्रमुख उद्देश्य शिक्षण, अनुसन्धान र प्रसार भए पनि विगतमा शिक्षण र अनुसन्धान भएको तर प्रसारको काम प्रभावकारी नभएकोले कृषि प्रर्दशनी तथा कृषक मेला गरिएको बताए ।

विश्वविद्यालयले किसानको समस्या समाधानका लागि गोरखाको घ्यालचोक र मकवानपुरको दामनमा कृषि ज्ञान केन्द्र स्थापना गरेको छ । कृषि ज्ञान केन्द्रलाई अन्य स्थानमा पनि विस्तार गरेर किसानहरु समक्ष विश्वविद्यालय पुग्ने योजना रहेको उपकुलपति प्रा.डा. ढकालको भनाइ छ ।

२०६७ साल असार ३ गते चितवनको रामपुरमा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment