Comments Add Comment

किन डेनमार्क भेला बहिस्कार गर्न खोज्दैछ पौडेल-सिटौला समूह ?

त्रासमा देउवा इत्तर समूह

Photo Credit : फाइल फोटो

३१ जेठ, काठमाडौं । पहिलो चरणको जागरण अभियान सक्दानसक्दै प्रमुख विपक्षी नेपाली कांग्रेसमा आन्तरिक कलह चर्किएको छ । पार्टी सभापतिप्रति असन्तुष्ट नेताहरु बन्द कोठामा यतिसम्म विश्लेषण गर्न थालेका छन् कि आफूलाई चुन्ने सुनिश्चित नहुँदासम्म शेरबहादुर देउवाले महाधिवेशन नै गर्दैनन्, त्यसका लागि पार्टीका संरचनाहरु भताभुङ्ग पार्न पनि सक्छन् ।

चुनावमा नराम्रो हार व्यहोरेपछि पहिलोपटक जनतामाझ गएको कांग्रेसले २५ वैशाखदेखि २५ जेठसम्म जागरण अभियान चलाएको थियो । प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गरेर २ हजार बढी कार्यक्रमहरु भएको र साढे ३१ हजारले पार्टी प्रवेश गरेको भन्दै कांग्रेसतर्फ आकर्षण बढेको निष्कर्ष सुनाए ।

तर, पार्टीको अवस्था भने ठीक विपरीत छ । बुधबार मात्रै कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा एउटा भेला भएको थियो, जसमा रामचन्द्र पौडेल, डा. रामशरण महत, बलबहादुर केसी, मिनेन्द्र रिजाल लगायतका नेताहरुको सहभागिता थियो । यो भेलामा डेनमार्क भेला बहिस्कारबारे छलफल मात्रै भएन, पार्टी सभापति देउवाले केसम्म गर्न सक्छन् भन्नेसमेत विश्लेषण भयो ।

के हो डेनमार्क भेलाको विवाद ?

कांग्रेसले जनसम्पर्क समितिहरुका लागि भन्दै जून २१ देखि २३ तारिखसम्म डेनमार्कमा प्रशिक्षण राखेको छ । ३३ देशका जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने कार्यक्रममा प्रशिक्षणका साथै विभिन्न विषयमा छलफल हुनेछ ।

भेलालाई सम्बोधन गर्न उपसभापति एवं नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधि गइसकेका छन् । सांसद मिनेन्द्र रिजाल पनि डेनमार्क पुगेका छन् ।

स्रोतका अनुसार शशांक निवासमा भएको छलफलमा नेताहरुले रिजाललाई डेनमार्क नजान सल्लाह दिएका थिए । तर, उनले आफू अर्कै कार्यक्रममा जान लागेको बताए । साथै डेनमार्क प्रशिक्षण बहिस्कार गर्ने निर्णय नगर्न रिजालले सुझाए ।

अनलाइनखबरसँग कुरा गर्दै रिजालले आफू डीआईपीडीको कार्यक्रममा सहभागी हुन आएको र अन्यथा निर्णय नभए पार्टीको कार्यक्रममा सहभागी हुने बताएका छन् ।

रिजालको भनाइले पनि प्रष्ट हुन्छ कि देउवा इतर समूहले डेनमार्क भेला बहिस्कार गर्न सक्छ ।

किन त ? यसको कारण जान्न पहिले जनसम्पर्क समितिमा रहेका विवाद बुझ्नुपर्छ ।

कांग्रेसको जनसम्पर्क समिति वेल्जियम, जापान, क्यानाडा, अष्ट्रेलिया लगायतमा विवाद छ । वेल्जियममा चुनावबाट सीता सापकोटाको अध्यक्षता जनसम्पर्क समिति बनेको थियो तर विवाद भएपछि माधव सापकोटाको नेतृत्वमा अर्काे कमिटी बन्यो । सापकोटाको कमिटीलाई मान्यता दिदै पार्टी सभापति देउवाको निर्देशन बमोजिम मुख्य सचिवले पत्र पठाए । तर, महामन्त्री शशांक कोइरालाले सापकोटाकै कमिटीलाई वैधानिकता दिदै अर्काे पत्र पठाए ।

अर्को साता डेनमार्कमा हुने तीन दिने प्रशिक्षणमा पनि विवाद भएका समितिका अध्यक्षहरुलाई बोलाइएको छैन । तर, १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहेका सबैलाई बोलाइएको छ । डेनमार्क प्रशिक्षणमा सहभागी हुँदा पार्टी सभापतिले गलत बाटोबाट चालेको कदमलाई मान्यता दिएको ठहर्ने रामचन्द्र पौडेल समूहको बुझाइ छ । त्यसैले शशांक निवासमा बुधबार भएको भेलामा नेता रामशरण महतले डेनमार्क भेलामा रिजाललाई पनि सहभागी हुन नदिने धारणा राखेका थिए । तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने जनसम्पर्क विभाग नै नबनेकाले बिभिन्न जनसम्पर्क समितिको विवाद विचाराधीन रहेको बताए । उनले भने, ‘प्रशिक्षण प्रतिष्ठानको काम प्रशिक्षण दिने हो । त्यहीअनुसार डेनमार्कको कार्यक्रम राखिएको हो, अरु केही होइन ।’

त्रासमा देउवा इत्तर समूह

रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहमा रहेका नेताहरु यसलाई पार्टीको आगामी महाधिवेशनसँग पनि जोडेर हेर्छन् । देउवा फेरि सभापति हुन चाहन्छन्, यसमा कुनै दुईमत छैन । पौडेल र सिटौला समूह मिल्दा देउवा हार्न पनि सक्छन् ।

त्यसैले देउवाले आफू जित्ने सुनिश्चित नहुँदासम्म महाधिवेशन नै गर्दैनन् भन्ने आशंका पौडेल र सिटौला समूहको छ । एक नेता अनलाइनखबरसँग भन्छन्, ‘बन्द कोठामा नेताहरु देउवाले केसम्म गर्न सक्छन् भनेर विश्लेषण गर्छन्, जुन निक्कै गम्भीर छ ।’

नेताहरु देउवाको विगत -संसद भंग गरेर राजालाई प्रजातन्त्र बुझाएको घटना) सम्झन्छन् । आफ्नो विरोेधका बीच पदाधिकारी नियुक्त गरेको, महासमितिमा गरेको प्रतिवद्धता विपरीत बहुमतको बलमा विधान संशोधन गरेको निकटको वर्तमान हेर्छन् । आफू अनुकुल नभएको भन्दै तरुण दल, नेवि संघ लगायतका भ्रातृ संगठनको कमिटीहरु महिनौंसम्म नबनाएको वर्तमानलाई पनि हेर्छन् ।

र, विश्लेषण गर्छन्, देउवाले आफू जित्ने अवस्था नहुँदासम्म महाधिवेशन गर्दैनन् । बरु पार्टी संगठन लथालिङ्ग किन नहोस्, आफ्नो अनुकुल नभई निर्णय गर्दैनन् ।’

पार्टी सभापतिमाथि सार्वजनिक मञ्चहरुबाट लगातार प्रश्न गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइराला देउवाले महाधिवेशन टार्न खोजेको शंका गर्छन् र भन्छन्, १३ औं महाधिवेश भएको चार वर्षभित्र अर्को महाधिवेशन हुनुपर्छ ।’

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने जागरण अभियानसँगै महाधिवेशनको तयारी सुरु गरेको जानकारी दिए । असार तेस्रो साता बस्ने केन्द्रीय कार्यसमिति बैठकले अन्तरिक संरचना निर्माणबारे निर्णय गर्ने भन्दै उनले भने, ‘महाधिवेशनबारे पनि केन्द्रीय समितिले नै छिट्टै आवश्यक निर्णय गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment