Comments Add Comment

गर्मीका कारण वीरगञ्जका विद्यालय बन्द, मौसमविद् भन्छन्–आत्तिनु पर्दैन

३१ जेठ, वीरगञ्ज । गर्मी बढेपछि वीरगञ्जमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकहरुको छलफल तथा नगर शिक्षक महासंघको राय अनुसार विद्यालय बन्द गर्ने निर्णयमा पुगेको सूचनामा उल्लेख छ ।

‘गर्मी अत्याधिक बढेको छ, कतिपय सामुदायिक विद्यालयमा पंखा पनि छैन, स–साना बालबालिकालाई गर्मीमा विद्यालयमा झनै समस्या छ’ महानगर प्रमुख विजयकुमार सरावगीले भने, ‘त्यहि भएर एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौ, अवस्था हेरेर एक साता थप्न पनि सकिन्छ ।’

एकसातापछि पनि मनसुन शुरु नभई प्रचण्ड गर्मी कायम रह्यो भने विद्यालय बन्दलाई एक साता अझै निरन्तरता दिनुपर्ने अवस्था आउन सक्ने सरवगीले जानकारी दिए ।

वल्र्ड वेदर अनलाईन, वेदर फोरकाष्ट डटकम लगायतका अनलाइनले तापक्रम ४० देखि ४५ डिग्री सेल्सियस पुग्ने अनुमान गरेका छन् ।

गत वर्ष पनि गर्मीकै कारण जेठ २९ गतेदेखि असार ३ गतेसम्म वीरगञ्ज महानगरपालिकाले विद्यालय बन्द गरेको थियो ।

आत्तिनुहाल्नु पर्दैन : मौसिमविद्

मौसमविद्हरू भने यो वर्ष आत्तिहाल्नु पर्ने गरीको गर्मी नहुने बताउँछन् । वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले अनलाइनखबरसँग भने, ‘यस पटक औसत वर्षा हुने अनुमान गरिएको छ, त्यसले एक्स्ट्रिम गर्मी होला जस्तो लाग्दैन ।’

अत्याधिक गर्मी भएको महशुस गरिए पनि तथ्याँकहरूले प्रचण्ड गर्मीको संकेत गर्दैन । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार काठमाडौंको अत्याधिक तापक्रम ३३.५ डिग्री सेल्सियस मापन भएको छ ।

‘काठमाडौंमा पनि गर्मी नभएको होइन तर विगतमा ३४.५ डिग्री सेल्सियस तापक्रम पुगीसकेकाले एक्स्ट्रिम गर्मी भन्न मिल्दैन’, वरिष्ठ मौसमविद शाक्य भन्छन् ।

यो वर्ष मनसुन शुरु भएको छैन । औसतमा पूर्वी नेपालमा १० जुन र काठमाडौंमा १२ जुनमा मनसुन शुरु हुन्छ । गत वर्ष भने ८ जुनमै मनसुन शुरु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment