Comments Add Comment

काठमाडौंका चोकमा ‘मोटरसाइकल बक्स’को परीक्षण गरिँदै

१ असार, काठमाडौं । बढ्दो सवारी जाम र दुर्घटनाको समस्या कम गर्न सरकारले काठमाडौंको मुख्य चोकमा ‘मोटरसाइकल बक्स’ बनाउने भएको छ । यसको परीक्षण पहिलो चरणमा नयाँबानेश्वर चोकमा गरिँदैछ ।

सडक विभागले हाल एकैपटक काठमाडौंको रिंगरोड र त्यसभित्रका क्षेत्रमा एक करोड ५७ लाख खर्चेर सडकको सिग्नल मार्किङ र सडक आसपास पेन्टिङको काम गर्न लागेको हो ।

यही क्रममा जापानी सहयोग नियोग (जाइका) को सुझावअनुसार चोकमा मोटरसाइकल बक्सको परीक्षण गर्न लागिएको विभागका ट्राफिक इकाइका प्रमुख दीप बाराहीले जानकारी दिए ।

यसअनुसार बानेश्वर चोकमा यो परीक्षणले सकारात्मक नतिजा दिए अन्य मुख्य चोकहरुमा यस्तो बक्स बनाएर नियम लागू गर्ने सरकारको योजना छ । सडक विभागले नयाँ बानेश्वरमा यस्तो बक्स बनाउन काम थालिसकेकको छ ।

यसअनुसार मुख्य चोकको अघिल्लो भागमा बक्स निर्माण गर्नेछ । यस्तो बक्समा मोटरसाइकल मात्रै बस्न पाउनेछन् । हाल चोकको नजिकै आएर बस्ने जाममा मोटरसाइकलहरु जथाभावी बीचमा छिर्ने गरेका छन् । जसका कारण जाममा फसेका अन्य साना सवारीलाई समस्या पर्ने गरेको छ ।

यसैलाई ध्यानमा राखे मुख्य चोकमा मोटरसाइकल बस्ने छुट्टै बक्स निर्माण गर्न लागिएको हो । मोटरसाइकल अघि बक्समा आएर बस्दा जाम खुल्नासाथै छिट्टै अघि गइहाल्ने र पछि रहेका साना सवारीलाई पनि सजिलो हुने तर्क विभागको छ ।

विभागले हाल पीआर विनायक जेभीलाई काठमाडौंमा सकडमा सिग्नलहरु पेन्ट गर्न ठेक्का दिएको छ । विभागले ९ हजार ९ सय वर्गा मिटरमा रोडका थर्मो प्लाप्टिक सिग्नलहरु पेन्ट गर्ने बाराहीले बताए ।

यस्तै ७ सय मिटर रेलिङ र ४५ सय वर्गमिटरको फुटपाथसँगैको विभिन्न भागमा इनामेल पेन्ट गरिनेछ । काठमाडौंमा मुख्य सडक खण्ड र चोकहरुमा यो काम गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment