Comments Add Comment

क्रिस गेल किन भए निरन्तर फेल ?

२ असार, काठमाडौं । क्रिकेटका ‘युनिभर्सल बोस’ वेष्ट इन्डिजका क्रिस गेलले जारी विश्वकपमा सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् । सोमबार उनी बंगलादेशविरुद्धको खेलमा शून्य रनमै आउट भए । यहाँ अचम्म के छ भने गेलले १३ बल खेलेर विना रन आउट भए ।

आक्रामक ब्याट्सम्यानको परिचय बनाएका गेलको प्रदर्शन जारी विश्वकपमा निराशाजनक छ । मोहम्मद सइफुदिनको बलमा क्याच आउट भएका उनको लय किन बिग्रिएको छ ? विश्वका जुनसुकै बलरलाई हैरान बनाउने गेलको स्तर किन खस्कियो ? उनीमाथि प्रश्न उठेको छ ।

गेलले जारी विश्वकपमा ५ खेलबाट १०७ रन मात्रै बनाएका छन् । जबकी सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका अष्ट्रेलियन कप्तान आरोन फिन्चले पाँच खेलबाट ३४३ रन छ । गेलले पाँच खेलमा एक खेलमा मात्रै अर्धशतक बनाएका छन् ।

आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले पाकिस्तानलाई पराजित गर्दा गेलले ५० रन बनाएका थिए । त्यसपछिका खेलमा गेल निरन्तर फेल हुदै आएका छन् ।

दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध उनी २१ रनमा आउट भए । तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध पानीले विथोलिदा खेल नै भएन । तर त्यसपछिको इंग्ल्यान्ड विरुद्धको खेलमा ३६ रन बनाए ।

अब टिममा पर्न सकस ?

प्रदर्शन निरन्तर खस्किएपछि क्रिस गेललाई टीममा पनि संघर्ष गर्नुपर्ने स्थिति आउन सक्छ । उनी ओपनिङ ब्याट्सम्यानमा पर्न भने असफल भइसकेका छन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आउने साई होप ओपनिङमा जम्न थाालेका छन् । क्रिस गेल र इभिन लेविसको जोडी ओपनिङमा आउँदा होप तेस्रो नम्बरमा पर्थे ।

वेष्ट इन्डिजको बेञ्चमा राम्रा अलराउण्डर भएका कारण उनी अबको खेलमा टीममा पर्न मुश्किल देखिन्छ ।

क्रिस गेलको यो अन्तिम विश्वकप हो । यो विश्वकपसँगै एकदिवसीय क्रिकेटबाट गेलले सन्यास लिदै छन् । अन्तिम विश्वकप स्मरणीय बनाउने लक्ष्यमा रहेका गेल एकपछि अर्को खेलमा असफल हुँदा उनी आफै चिन्तित छन् ।

सन् २०१५ को विश्वकपमा भने गेलको ब्याटिङ निकै चलेको थियो । त्यसबेला उनले जिम्बाब्वेविरुद्ध २१५ रनको कीर्तिमानी रन पनि बनाएका थिए । वेष्ट इन्डिजको समूह चरणमा अझै चार खेल बाँकी छ । यी चार खेलमा गेल टीममा पर्दै उत्कृष्ट ब्याटिङ गरेमा मात्र उनी र उनको टीमको विश्वकप यादगार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment