Comments Add Comment

गृहमन्त्री बादललाई रसुवाली कविको चिठी

गृहमन्त्रीज्यू, कसरी राज्यद्रोही भएँ ?

(प्रहरी हिरासतमा रहँदा मैले एउटा रचना गर्ने अवसर जुटाएँ । नेपाली समाजको स्मृति र गर्तमा बिलाउँदै गएको एउटा साहित्य हो चिठी । मैले गृहमन्त्री रामबहादुर थापाकै चौकीमा बसेर उनलाई चिठी लेखेँ।)

गृहमन्त्रीज्यू, नमस्कार

म यतिखेर पर्खालभित्र छु । स्वतन्त्रताप्रेमीहरूका लागि पर्खालभित्र रहनु निकै कष्टकर कुरा हो । बिनाकारण स्वतन्त्र नागरिकलाई दुःख दिनु आफैँमा लज्जास्पद कार्य हो । राज्य आफूलाई मन नपर्नेहरूसँग यस्तै व्यवहार प्रस्तुत गरिरहेको छ । यो प्रक्रियाको मुख्य निर्देशक तपाईं हुनुहुन्छ ।

सायद यतिखेर तपाईं विप्लव नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्धको असर र भाबी रणनीतिबारे गोप्य मिटिङ गर्दै हुनुहुन्छ होला । गुप्तचरहरूलाई कसरी परिचालन गर्ने, सशस्त्र प्रहरीलाई कुन भूमिका दिने, दमन कसरी गर्ने, विचार समूहलाई कसरी लुटेरा घोषणा गर्ने र वैचारिक आस्थाकै आधारमा जेल कोच्ने आदि विषयले गृहमन्त्रीज्यूको दिमाग रिँगाइरहेको होला ।

गृहमन्त्रीज्यूकोविगत सम्झँदा पनि चिटचिट पसिना आउँछ । बाफरे हिजोका ती दिनहरू ! टाउकाको मूल्यतोकिँदा पनि मृत्युलाई हातमा नचाउँदै मुक्तिका लागि हिँडेको योद्धा ! त्यो रहस्यमयबादल कमरेड । जनयुद्धको ‘मुख्य सूत्रधार ।’ सङ्गठन उस्तै निपुण । जता जाँदा पनि प्रभावशाली हुनसक्ने नेताकारूपमा दुनियाँले चिनेको।

बादल भनेको नेपाली माटोमा हुर्किएको मगरको जुझारु छोरो । इमान्दार मगरहरू कसरी विद्रोही हुन्छन् ? कसरी झूटको स्वर्ग ध्वस्त बनाउँछन् भन्ने एउटा उदाहरण तपाईं नै हुनुहुन्थ्यो । लामो राजनीतिक प्रक्रियामा तपाईं आफ्नु वर्गप्रति इमानदार पनि हुनुभयो । आफ्नु नेतृत्वलाई जनतामा स्थापित गराउनुभयो । जनयुद्धको एउटा चरणमा तपाईं विचार, सङ्गठन र फौजी तीनै मोर्चामा सक्षम नेतृत्वकर्ता हुनुभएको हो । जनतामा लोकप्रिय नेताको छवि बनाउनुभयो ।

तपाईंलाई कसैले लिनप्याओवादी पनि भने । पार्टीमा चर्को बहस पनि भयो । तर, तपाईं विचलित हुनुभएन । निरन्तर मुक्ति अभियानमा जुट्नुभयो ।

चुङबाङ बैठकमा तपाईंले बोलेको एउटा भिडियो भाइरल भएको छ । तपाईंले त्यहाँ आफू लाई होग्जा नभनिदिन अनुरोध गर्नुभएको छ ।प्रचण्ड–बाबुरामलाई त्यो अनुरोध गरिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । तपाईंले आफ्नुनेतृत्वलाई चुली र देउराली भन्नुभएको छ । आफू त्यसको आधार भएको व्याख्या गर्नुभएको छ । त्यो गोप्य भाषणमा तपाईंको वैचारिक भन्दा साहित्यिक तेज धेरै देखिन्छ । यसरी हेर्दा तपाईं भावुक र साहित्यिक व्यक्तित्व पनि हो भन्ने कुरा प्रस्ट हुन्छ ।

यसरी पिँधबाट राजनीति गर्दै स्थापित भउका तपाईं एकाएक सत्तामा पुग्नुभयो । त्यसपछि तपाईंमा फेरि एउटा डरलाग्दो रूप देखा पर्न थाल्यो । तपाईंलाई सत्ताको मातले अर्कै मान्छे बनाइदियो । सत्तामा पुगेपछि तपाईं बादल रहनुभएन, तुँवालो हुनुभयो ।

बानेश्वरचोकमा ३३ दलको आन्दोलनलाई सम्बोधन गर्दै तपाईं भन्नुहुन्थ्यो– यो सत्ताले जनतालाई अधिकार सपन्न गराउँछ । यहाँबाट समाजवाद आउँछ भन्नु झूटको खेती हो । यो भ्रम हो । यसैले हामी खुट्टा नकमाईकन जनयुद्धको जगमा जनविद्रोह गर्ने दिशामा अघि बढ्नुपर्छ । समाजवादको सपना देख्नुपर्छ ।

त्यतिबेला तपाईंको भाषण सुनेर सिठी फुक्नेहरू, ताली पिट्नेहरू, बोतल फालेर उत्तेजित हुनेहरू अहिले तपाईंकै जेलमा छन् । उनीहरूलाई तपाईंले देखाएका सपनाहरूले उत्तेजित गराइरहेको छ ।

हिजो तपाईं जेलाई फासिवादी कदम भन्नुहुन्थ्यो आज तपाईंको सरकारमा त्यही चरित्र बारम्बार देखा पर्दैछ । तपाईंलाई मन नपर्ने गीतलाईबन्देज लगाएर संसद्मानिर्लज्ज भन्नुहुन्छ– सरकारलाई लुटेरा कहाँ भन्न पाइन्छ ? लुट लुट भनेर व्यङ्ग्य कस्न कहाँ पाइन्छ ? यो बकबास हो ।

सामाजिक सञ्जालमा कसैले नक्कली रेलको फोटो राख्दा तत्काल पकाउ गर्नुहुन्छ र हतार गर्दै साइबर क्राइमको मुद्दा चलाइहाल्नुहुन्छ । सरकारको पेटबोली सुनिन्छ– दुईतिहाइले काम गरेको देख्न नसक्ने धमिराहरूलाई यस्तै हालतमा पु‍र्‍याइन्छ । संविधानविरोधी तत्वलाई के फूलमाला लगाएर नगर घुमाउनु ? यो के भन्न खोजेको हो ? सरकारको विरोध गर्न नपाइने कस्तो व्यवस्था हो यो ?

सामाजिक सञ्जालमा स्टाटस हालेकै आधारमा वा कार्टुन, लेख, समाचार सेयर गरेकै आधारमारेड कर्नर नोटिस जारी गर्ने हालत बनिसकेको छ । सरकारको खराब कामको विरोध गर्दा पत्रकारले महँगो मूल्य चुकाउनुपर्ने अवस्था छ ।

नागरिकका फरक विचारमाथि तपाईंको सरकार अरिङ्गालको गोलोजतिकै खनिइरहेको छ । मिडियालाई पूर्ण स्वतन्त्रता दिनु हुँदैन भन्ने कुरामा यो सरकार प्रतिबद्ध छ । यो कुरालाई प्रस्ट पार्न कुनै उदाहरण दिइराख्नु पर्दैन ।

साहित्य, कलादेखि पनि यो सरकार त्रसित छ । यसको पछिल्लो उदाहरण मलाई नै लिन सक्नुहुन्छ । साहित्य र लेखनदेखित्रसित तपाईंको प्रशासनले मलाई पकाउ गरेको छ र राजद्रोहको सङ्गीन आरोप लगाएको छ ।

म पनि तपाईंको भाषण सुनेर, सङ्घर्षबुझेर यो देशलाई बदल्नुपर्छ भनेर हिँडेकाकयौँ योद्धामध्ये एक हुँ । तपाईंलाई थाहा नहुन सक्छ म लेख लेख्छु । कविता लेख्न्छु । जानेका–बुझेका कुराबारे बोल्छु । सामाजिक सञ्जालमा एकदम सक्रिय छु । पत्रिका सम्पादन गर्थें, अहिले बन्द भयो । के यति गर्ने बितिक्कै म राज्यद्रोही भएँ ?

मेरो राजनीतिक आस्था पनि छ । मेरो खास पक्षधरता पनि छ ।वर्गीय समाजमा मेरो पनि वर्ग छ । आफ्नो वर्गप्रति इमानदार हुनुपर्छ भन्ने मेरो मान्यता हो । के आस्था र विचारलाई तपाईंको संविधानले सम्बोधन गर्दैन ? मौलिक अधिकार भन्दैन ? के विपरीत विचार राख्ने सबै देशद्रोही हुन् ? राज्यद्रोही हुन् ?

माओवादी आन्दोलनले स्थापित गराउन खोजेको वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारभित्र इन्द्रेणी रङहरू छैनन् र महोदय ? पक्कै छ । बरु सरकारलाई इन्द्रेणी रङ प्रतिविश्वास नै छैन । मधेसी, जनजाति, गरिब, निमुखा, महिलाप्रति प्रधानमन्त्रीलाई कुनै बाल छैन, मतलब छैन ।

म यो चिठी लेखिरहँदा तपाईंको मातहतमा रहेको हिरासतमा छु । मानवअधिकारको कुरा गर्ने सरकारले हिरासतलाई सामान्य सुधार पनि किन गर्न सक्दैन ? यो सोचिरहेको छु । स्वच्छ खानेपानी, सफा बस्ने ठाउँ के थुनुवाको अधिकारभित्र पर्दैन ? क्षमताभन्दा तेब्बर बढी थुनुवा राख्दा थुनुवा बिरामी पर्छ । उस्तै अवस्थामा मृत्यु हुने सम्भावना पनि हुन्छ ।

यसमा सरकारले किन ध्यान दिँदैन ? सुनेको छु थुनुवाले ओढ्ने सिरक कुनै विदेशी गैससले दिन्छ । पानी खान पैसा तिर्नुपर्छ । नुहाउन पैसा तिर्नुपर्छ । तपाईंको सरकार अलिकति पनि समाजवादी छ भने हिरासतहरूलाई सुधार गरिदिनुस् कृपया ।

यी त सामान्य कुरा भए सरकारका लागि ।

अचम्म के छ भने कवि, कलाकार, पत्रकार, विद्यार्थीदेखि यो सरकारलाई यति धेरै त्रास किन छ ? राज्यको सुरक्षा प्रवाह यी निहत्थातिर ढल्केको देख्दा छट्पटि हुन्छ । कम बोल्ने तपाईंको सम्झना आउँछ । उहिलेका तपाईंको साहित्यिक मन्तव्य सम्झिन मन लाग्छ । के तपाईंको जीवन नै यस्तै अधिकार स्थापित गर्न आन्दोलित भएर बितेको होइन र ?

तपाईंले असाध्यै शत्रु देखेका प्रतिवन्धित मान्छेहरूसँग हिजो तपाईं खुईःखुईः गर्दै लेक चढ्नुभएको हो । भोक लाग्दा दालमोठ बाँडेर खानुभएको हो । जनताको सुकुलमा सँगै सुत्नुभएको हो । सहिदको सालिकछेउ उभिएर कसम पनि खानुभएको हो । अन्तर्राष्ट्रिय गीत गाउँदै छाती हातमा राख्दै भन्नुभएको हो– फुटेर होइन, जुटेर नै लक्ष्यमा पुगिन्छ । तपाईंजस्तो भावुक मान्छे कहिलेकहीँ भावनामा डुब्नुहुन्न र ? हिजोको आदर्शप्रति माया लाग्दैन र ?

अब सांस्कृतिक आन्दोलनबारे केही भन्छु ।

माओवादीसँग सामना परिवारलगायत दर्जनौँ कलाकार टोली थिए । तिनको हालत आज के छ ? लालझुपडीका मान्छेहरू, महासमरका यात्रीहरू जस्ता वर्गीय गीतको भाका छोडेर भजन र चुट्का गाउन बाध्य गायकलाई वर्गगद्दार मात्र भनेर पुग्दैन । उसको जीवनमा आएका आरोह अवरोहबारे घोत्लिनुपर्छ । माया र प्रेमका गीत जसरी गाउन नै पर्‍यो नत्र जनवादी केन्द्रीयताले भरे छाक टर्दैन । तिनलाई बुर्जुवा भनिदिने !

माइला कतै भूमिगत छन् । सामना परिवारलाई सरकारको गुप्तचर निकायले कडा निगरानी गरिरहेको छ । अशोक सुवेदीलाई सञ्चार मन्त्रालयले राज्यद्रोही मुख्य ६ पत्रकारको सूचीमा पहिलो नम्बरमा सूचीकृत गरेको छ । खेमलाई ‘नाटक’ सोच्ने वातावरण छैन । बीपी विद्रोही कतै बसेर कविता लेखिरहेका छन् । नारायणहरुलाई रसुवा–नुवाकोटका जिरे खुर्सानी भनिएको छ । अशोक, आरोह, खोमा, शोभा, ढुण्डी, अराप, लम्जेल, महेन्द्र थुलुङ लगायतले भरथेग गरेर प्रगतिशील आन्दोलन थामिरहेका छन् । हैट्, यस्तो कुरा सम्झँदैछु म !

अँ, जनवादी गायिका कमल वली हिजोआज कता हुनुहुन्छ कुन्नि ? म मुख्य विषयबाट अन्तै लागेँ कि जस्तो लाग्यो । मलाईव्यक्तिगत रूपमा केही भन्नु छैन । गृहमन्त्रीका बारेमा मात्र चासो छ र केही भन्नु छ । एउटा मात्र प्रश्न छ गृहमन्त्रीलाई– किन गणतन्त्रवादी सरकारले फरक मतलाई सम्बोधन गर्न सकेन ? विचारदेखि डरायो ?

तपाईंका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ कुनैबेला बौद्धिक पत्रिका निकाल्नुहुन्थ्यो समयवद्ध । ऋषिराज बराल, अनिल विरही र महेश्वर दाहालको त्यो टोली विद्रोहको अनिवार्यताबारे बहस गथ्र्याे । आज समयले कसलाई कहाँ पुर्‍यायो, कसलाई कहाँ । राजनीति निर्मम हुन्छ । यसैले यसलाई नियमित आकस्मिकताको लयमा बुझ्नुपर्छ ।

सत्तामा रहेपछि बाध्यता होला । आफ्नो वर्गको माया पनि होला । तर, दुईतिहाइको सरकार जटिल कुरामा भाग्ने, सामान्य कुरासँग डराउने गरिरहेको छ । यो तपाईंको सरकारको निकै ठूलो दुःख हो ।

मलाई हिरासत बसाइप्रति उस्तो दुःख छैन, गुनासो पनि छैन । मलाई पिर लागिरहेको छ– जनताको अधिकार यसरी कटौती हुँदै जाँदा लोकतन्त्र कहाँ पुग्ला ? सरकार खराब हुँदै जाने, जनताले त्यसको विरोध गर्न नपाउने नजिर बस्यो भने भोलिका दिनमा त्यो तीर आफैँतिर सोझिन्छ कि सोझिँदैन होला ? अवश्य सोझिन्छ ।

सरकार र गृहमन्त्रीलाई एउटै अनुरोध छ– जनताको जीवनलाई छुने र समाजवादी हुने एउटै काम मात्र गर्नुभयो भने पनि जनताले देशमा सरकार छ भन्ने महसुस गर्न सक्छन् । होइन भने इतिहासमा एउटा खराब सरकारको इतिहास लेख्न तपाईहरूलाईं कसैले रोक्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment