Comments Add Comment

दुबई अस्पतालमा तङ्ग्रिदै कमला, उपचारका लागि अझै आर्थिक अभाव

खर्च मिनाह गरिदिन अस्पताललाई दूतावासको आग्रह

युएई / ५ महिनाअघि अस्पतालको शैय्यामा कमला गिरीलाई देख्नेहरुले उनीप्रतिको आशा गुमाइसकेका थिए । ल्यूकेमीया ब्लड क्यान्सरले थलिएर उनी अचेत अवस्थामा दुबई अस्पतालको शैय्यामा लडिरहेकी थिइन् ।

श्रीमान विमल गिरीले समेत आश मारिसकेका थिए । तर, उनीभित्रको आत्मविश्वास, धैर्यता जीवित थियो । त्यहीँ विश्वासले अहिले आशा जगाउँदै लगेको छ ।

अचेत अवस्थामा रहेकी कमला अहिले हिड्डुल गर्न सक्ने भएकी छिन् । उनी फोनमा कुराकानी गर्न सक्छिन् । उनको आत्माबल बढाउन विमलले नियमित अस्पताल वरिपरी हात समाएर हिडाउने गर्छन् । कमला पनि नयाँ जीवन पाएकोमा खुशी छिन् । उनको खुशी मुहारमा प्रष्ट देखिन्छ । त्यसो त विमलले उनको हौसला बढाउन विभिन्न प्रयास गदै आएका छन् ।

यो पनि पढ्नुहोस ब्लड क्यान्सरले थलिएकी कमला २ महिनादेखि दुबई अस्पतालको बेडमा

गत वैशाख १८ गते कमलाको जन्मदिन थियो । उनलाई थप हौसला दिन विमलले अस्पतालको स्वीकृतिमा अस्पतालमै उनको जन्मदिनको केक काटे । नजिकका केही आफन्त र साथीभाइ बोलाए । विमल श्रीमतिको मुहारमा खुशी देख्न चाहन्थे । आफूभित्रका पीडा लुकाए । तर, जीवनका विभिन्न रमाइला क्षण सम्झाउँदै कमलालाई ढाडस दिइरहे ।

विमल भन्छन् , ‘छोरी सानी छे । उसले के भइरहेको छ बुझ्न सक्दिन । सबै मानिसहरुलाई आफ्नो व्यथा सुनाउन सकिन । कयौं पटक वाथरुममा ऐनाको अघि रोएर मन हलुका बनाएँ । अब त उनी ठीक हुँदैछिन् । आँखा रसाउन कम हुँदैछ । उनी ठीक भएपछि फेरि कमाउन सक्छु ।’

थप उपचारका लागि आर्थिक अभाव

काभ्रेकी कमलाको थप उपचारमा अहिले आर्थिक अभाव भएको छ । अहिलेसम्म ५ वटा केमो दिइसकेको र अन्तिम तथा छैटौँ केमोको तयारी भइरहेको श्रीमान विमलले बताए ।

उपचारमा संलग्न चिकित्सकले १० दिन भित्रमा उक्त केमो दिइने जनाउँदै, त्यसको तयारी गर्न भनेका छन् । तर, आफूसँग पैसा नभएकाले थप उपचारमा कठिनाइ भएको बिमलले बताए ।

पाँचौ केमोसम्म आफन्त, विभिन्न व्यक्ति र संस्थाको सहयोगमा उपचार भएको थियो । उनले भने, ‘सबैसँग हारगुहार गरिसके । फेरि पनि तिनै व्यक्तिहरुसँग सहयोग माग्ने अवस्था छैन । अहिले गर्दै आएको रोजगारीसमेत छोड्नु परेपछि आम्दानीको श्रोत ठप्प छ । अब कसरी उपचार गराउने मसँग कुनै विकल्प छैन । ‘

एकपटकको केमोका लागि करिब ८ हजार दिराम आवश्यक पर्छ । दैनिक उपचार लगायतको खर्चको बिल अस्पतालमा तिर्नै बाँकी रहेको उनले बताए ।

१ करोड ५० लाख बढी खर्च

कलमलाको अहिलेसम्मको उपचारमा ५ लाख २० हजार दिराम -१ करोड ५६ लाख रुपैयाँ ) खर्च भइसकेको छ । जुन रकम अस्पतालमा तिर्न बाँकी छ ।

बिमलले २२ हजार दिराम भने तिरिसकेका छन् । थप उपचारमा अझै एक महिना समय लाग्ने चिकित्सकले बताएका छन् । उक्त समयसम्ममा उपचार खर्च अझै बढ्ने देखिन्छ । अस्पतालमा खर्च बढिरहेको तर आम्दानीको श्रोत नभएपछि उनी चिन्तामा छन् ।

दैनिक उपचार खर्च मात्रै ३ देखि ४ हजार दिराम हुन्छ । त्यसबाहेक घर र छोरीको स्कुल खर्चको हिसाब भिन्नै छ । श्रीमतीको उपचार खर्चमात्र तिर्न सके मन हलुका हुने उनी सुनाउँछन् ।

खर्च मिनाहका लागि दूतावासको आग्रह

अहिलेसम्मको उपचार खर्च आफूले तिर्न नसक्ने भएपछि विमलले दूतावासलाई खर्च मिनाहका लागि पहल गरिदिन आग्रह गरे ।

दूतावासले सुरुदेखि नै अस्पतालसँग खर्च छुट गरिदिन आग्रह गदैँ आएको छ । यसअघि दूतावासले पत्रमार्फत र उपनियोग प्रमुख आफैले अस्पताल पुगेर यसविषयमा अस्पताल प्रशासनसँग छलफल गरेका थिए ।

सोमबार पुनः दूतावास उपनियोग प्रमुख सागरप्रसाद फुयाँल र श्रमकाउन्सुलर भेषबहादुर कार्कीले अस्पताल प्रशासनसँग भेट गरे ।

उपनियोग प्रमुख फुयाँलले उपचारमा अस्पताल प्रशासनको सहयोगको प्रशंसा गदैँ थप उपचारमा सहयोग गर्न आग्रह गरे ।

बिमारीको परिवारको आर्थिक अवस्था कमजोर रहेको र पैसा तिर्न नसक्ने जनाउदै हालसम्मको उपचार खर्च छुट गरिदिन उनको आग्रह थियो ।

अस्पतालले दुतावासको आग्रहलाई सकारात्मक रुपमा लिएको जनाउदै केहीँ रकममा हेर्न सकिने जनाएको छ । तर, सम्पूर्ण खर्च छुट गर्ने प्रावधान नरहेको जनाउदैँ विकल्प प्रस्तुत गरेको छ ।

यो पनि पढ्नुहोस कमलाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे दूतावासका प्रतिनिधि

अस्पतालले कुनै च्यारीटि सो को आयोजना गरेर खर्च जुटाउन सकिने विकल्प दूतावाससँग राखेको उपनियोग प्रमुख फुयाँलले अनलाइनखबरलाई बताए ।

च्यारीटी सोका लागि सम्पूर्ण व्यवस्थापन अस्पताल प्रशासनले गर्नेछ । योसँगै अन्य प्रयासहरु समेत दूतावासले खोज्ने उनको भनाइ छ । उनले पीडित परिवारलाई धैर्य गर्न समेत आग्रह गरे ।

युएईका संस्थासँग सहयोगको याचना

कमलाको उपचारमा जिल्लागत तथा व्यक्तिगत रुपमा सहयोग जुटिरहेको छ । उनीहरुको सहयोगले अहिले कमलाको दैनिक उपचार सम्भव भइरहेको हो ।

युएईको एक स्थानीय रेडियोले १६ हजार दिराम सहयोग गरेको छ । उक्त रकमले कमलाको पाँचौ केमो गराएको र बचेको रकमले घर र छोरीको पढाइ खर्चमा प्रयोग गरेको विमलले जानकारी दिए ।

तर अबको थप उपचारका लागि श्रोत जुटाउन समस्या छ । यहाँका केहीँ संस्थाका प्रतिनिधिले अस्पतालमै पुगेर उनको स्व्ास्थ्यबारे जानकारी लिएका थिए ।

साथै उनीहरुले सहयोगको प्रतिबद्धतासमेत जनाएका थिए । बिमलले अहिले आफ्नो सबै विकल्प बन्द भएकाले सहयोग मागेका छन् । यहाँ रहेका केहीँ ठूला संस्थाहरुसँग सहयोगको अपील गरेका हुन् । उनले भने, ‘स्वास्थ्यमा पहिलेको भन्दा धेरै सुधार भएको छ । अब एकपटक सबैको सहयोग पाएमा उनलाई पूर्णरुपमा निको बनाउन सकिनेछ ।’

साथै अस्पतालको सबै रकम छुट गराउन दुतावासले पहल गरिरहेको र अन्य सामाजिक संस्थाबाट समेत सहयोग गरिदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment