Comments Add Comment

शुभबहादुरको ‘स्याक्सोफोन’बाट निस्कियो ‘उकाली ओरालीदेखि माई हार्ट’सम्मको धुन

स्याक्सोफोन मार्फत संगीतकार शुभबहादुर सुनामले सोमबार बेलुकी काठमाण्डौमा दर्शकलाई करिब डेढ घन्टा मन्त्रमुग्ध बनाएका छन् । स्याक्सोफोन बादन सम्बन्धी आफ्नो एकल सांगीतिक साँझमा उनी प्रस्तुत भएका थिए । ‘स्याक्समाण्डौं’ नाम दिइएको यो साँझमासुनामले दर्जन भन्दा बढी गीतका धुनहरु स्याक्सोफोन मार्फत प्रस्तुत गरे ।

कार्यक्रमको सुरुवातमा उनले स्वागत धुन प्रस्तुत गर्दा दर्शकले ताली बजाएर स्वागत गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यदेखि गायक प्रेमध्वज प्रधान, गीतकार यादब खरेल लगायतको कार्यक्रममा उपस्थिती थियो ।

प्रस्तुतिको पहिलो चरणमा संगीतकार सुनामले नेपाली र अंग्रेजी गरेर आठ वटा धुन प्रस्तुत गरेका थिए । ‘उनले मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘राजमति वामति’, मायाँ रे, आँखा छोपी नरोउ भनी, हुँ यात्री एउटा, उकाली ओरालीहरुमा जस्ता गीतलाई स्याक्सोफोनको धुनमा प्रस्तुत गरे । पहिलो चरणमै संगीतकार सुनामले टाईटानिक फिल्मको ‘माई हार्ट विल गो अन’, गोईङ होम जस्ता गीतको धुन प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको ‘पिंक प्यान्थर, समर टाइम’ लगायतका धुनले पनि दर्शकलाई मोहित बनायो । बिगत ५२ वर्षदेखि स्याक्सोफोन बजाउँदै आएका सुनामले सात सय भन्दा बढी गीतमा संगीत गरिसकेका छन् । नेपालमा अधिकांश गीतमा उनले नै स्याक्सोफोन मार्फत निकालेका धुन समावेश छन् ।

यो कार्यक्रमको आयोजना सांकृतिक संस्थान र शुभबहादुरले मिलेर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment