Comments Add Comment

पेट्रोलियम पाइपलाइन परियोजना : पाइप गाड्ने काम सकियो

३ असार, वीरगञ्ज । अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजना अन्र्तगत नेपाल तर्फको पाइप गाड्ने काम पनि सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पथलैया देखि अमलेखगञ्ज जंगल क्षेत्रमा रुख कटान भएपछि पाईपलाईन गाड्ने कामले पूर्णता पाएको हो ।

रुख कटानको विषयमा आवश्यक निर्णय नआउँदा लामो समय ९ किलोमिटर क्षेत्रमा पाइप गाड्न नपाउँदा काम अघि बढ्न सकेको थिएन । ०७५ माघ ३ गते नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले रुख काट्ने निर्णय गरेपछि त्यस क्षेत्रमा रुख काटिएको थियो ।

रुख कटान गरेर पन्छाएका क्षेत्रमा पनि भूमिगत पेट्रोलियम पाइपलाइन विछ्याउने काम सकिएको आयोजनाका मेकानिकल इन्जिनियर सरद पौडेलले बताए । ‘पाइप गाड्ने काम पूर्ण रुपमा सकिएको छ । अब परीक्षणको काम चल्दैछ । अहिले अन्तिम चरणमा पथलैयादेखि अमलेखगञ्जसम्मको पाइपलाइनमा ‘हाइड्रो’ टेष्टिङ भइरहेको छ,’ उनले भने ।

नेपालतर्फ अमलेखगञ्जदेखि रक्सौलसम्म ३६.२ किलोमिटर पाईप गाडिएको हो । रक्सौलदेखि मोतिहारीसम्म ३२.७ किलोमिटर पाइप गाड्ने काम सम्पन्न भइ टेष्टिङसमेत भइसकेको छ ।

भारतीय पक्षले पटनादेखि मोतिहारीसम्म पनि पाईप गाडने काम सकाईसकेको छ । उनीहरु पम्पिङ स्टेशनको काम गरिरहेका छन् ।

इन्जिनियर पौडेलका अनुसार ‘क्लिजिङ’ (पाइपलाइन सफा) गर्नका लागि विभिन्न चरणमा फरक फरक टेष्टिङ गर्नुपर्ने हुन्छ । अहिले टुक्रा टुक्रामा हाईड्रो टेष्टिङ चलिरहेको छ । त्यसपछि इलेक्ट्रोनिक र म्याग्नेटिक टेष्टिङ हुने उनको भनाइ छ । त्यसैले कतिदिनमा सञ्चालनमा आउँछ भनेर भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

‘अहिले टुक्रा टुक्रामा हाइड्रो टेष्टिङ चलिरहेको छ, पथलैयादेखि सिमरा खण्ड अन्तिम हो । त्यसपछि टुक्रा टुक्रामा नै इलेक्टि्रक र म्याग्नेटिक टेष्टिङ हुने र त्यसपछि पुरै लाइनमा पानी पठाएर टेष्टिङ हुने जानकारी हामीले पाएका छौं,’ उनले भने, ‘टेष्टिङको धेरै प्रक्रिया रहेछ, पाइपलाइन परियोजना नेपालका लागि नौलो भएकोले हामी पनि सिक्दैछौं । कहिले सुरु हुन्छ भनेर ठ्याक्कै तोकेर त भन्न सक्दैनौं तर छिट्टै सुरु हुन्छ ।’

सन् २०१७ डिसेम्बरदेखि सुरु भएको परियोजनाको लागत १ किलोमिटरमा औसत ५ करोड रुपैयाँ पर्ने अनुमान छ । भारत सरकारको सहयोगमा भारत कै कम्पनी लिखिता इन्फास्ट्रक्चर प्राइभेट लिमिटेडले परियोजना निर्माण गरिरहेको छ ।

४ मध्ये ३ वटा ट्याङ्की मर्मतको काम सकियो

पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगञ्ज डिपोमा ४१ सय लिटरका २ वटा र ३९ सय किलो लिटरका १ वटा गरी ३ वटा ट्यांकी मर्मतको काम पनि सकिएको छ । ४१ सय किलोलिटरका २ र ३९ सय किलो लिटर तेल अटने क्षमताका १ वटा ट्याङ्की मर्मत भइसकेका हुन् । ती मध्ये दुई वटा ट्याङकीमा तेल भण्डारण सुरु भइसकेको छ ।

एउटा ४१ सय किलो लिटर क्षमताको ट्याङकीमा बाहिरी रंगरोगनको काम मात्रै बाँकी छ । बाँकी ३९ सय लिटरको एउटा ट्याङकी भित्र सफा गर्नुको साथै मर्मतको काम चलिरहेको छ । ट्यांकी मर्मतको काम पनि अन्तिम चरणमा पुगेको इन्जिनियर पौडेलले बताए ।

पाइपलाइनमार्फत पेट्रोल, डिजेल र मट्टीतेलको ढुवानी गर्न सकिने भएपनि परियोजना सम्पन्न भएपछि पाईपलाईनबाट डिजेल मात्रै ल्याउने तयारी छ । यसको इन्धन बहाव क्षमता मोतिहारीमा २ सय ९४ किलोलिटर प्रतिघण्टा र रक्सौलमा १९१ किलोलिटर प्रतिघण्टा हुनेछ ।

नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत वीरगञ्ज-रक्सौल नाका हुँदै ट्याङकरमा भित्र्याउने गरिन्छ । यसमा ढुवानी लागत बढी पर्दै आएको छ भने चुहावटले गर्दा पनि नोक्सानी हुने गरेको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा चुहावट नियन्त्रण हुनुको साथै इन्धन आयातमा लागिरहेको वाषिर्क अर्बौ रुपैयाँ बचत हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment