Comments Add Comment

कलंकीको नमुना मालपोत कार्यालयले कसरी दिन्छ सेवा ?

४ असार, काठमाडौं । आम मानिसमा मालपोत कार्यालयको छवि राम्रो छैन । धेरै यसलाई भ्रष्टाचारको अखडा मान्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धालाई आधार मान्ने हो भने पनि भ्रष्टाचारमा मालपोत अगाडि नै आउँछ ।

बुधबार कंलकीको मालपोत कार्यालयलाई ‘नमुना’ घोषणा गरियो । प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित भए । कलंकी मालपोतमा के त्यस्तो परिर्वतन भयो र नमुना घोषणा गरियो ? धेरैलाई जिज्ञासा छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडी भन्छन्, ‘नमूना मालपोत कार्यालयमा प्रविधिको प्रयोगलाई जोड दिइएकाले जनताले सास्ती भोग्नुपर्दैन । अनियमितताको सम्भावना कम हुन्छ ।’

उनका अनुसार यो मालपोत सुधारको अभियान हो । सेवाग्राहीलाई परिवर्तनको महसुस हुने गरी सबै कार्यालयलाई नमूना मालपोत कार्यालयमा बदल्ने अठोटका साथ प्रविधिको प्रयोग गरेरै सहज सेवा प्रवाहमा जोड दिइएको छ । ‘हामी केही समयभित्रै साँखु, इलाम र पाँचथरका कार्यालयलाई पनि नमुना घोषणा गर्दैछौं,’ उनी भन्छन्, ‘यस्ता कार्यालयमा जनताले हिजोजस्तो हण्डर खेप्नु पर्दैन ।’

के हुन्छ नमुना कार्यालयमा ?

विभागका अनुसार नमुना मालपोत कार्यालय प्रविधिमैत्री हुन्छन् । कार्यालयमा पूर्ण रुपमा अनलाइन सेवा प्रारम्भ गरिएको छ । मालपोतको फारम अनलाइनमै भरेर दर्ता गर्न सकिने प्रवन्ध गरिएको छ । सेवाग्राही आफैंले घरमै बसेर यस्तो फारम भर्न सक्छ । यो फारम अनलाइनमा ‘सब्मिट’ गरेर त्यसको एक प्रति लिखत प्रिन्ट लिएर सेवा ग्रही कार्यालय जाँदा काम छिटो हुन्छ ।

आफैं अनलाइन फारम भर्न नसक्नेहरुले नजिकको भू–सेवा केन्द्रमार्फत यो सुविधा लिन सक्छन् । त्यसपछि थप कामका लागि मालपोत जाँदा हुन्छ ।

अझ धेरै जग्गा कारोबार गर्ने सेवाग्राहीले मालपोत कार्यालयबाट युजर नेम र पासवर्ड लिएर नै आफ्नो जग्गाको कारोबारको विवरण हेर्न, त्यसैबाट फारम भर्ने लगायतका काम पनि गर्न सक्छन् ।

सेवाग्राही कार्यालय आउँदा सुरुमै सहायता कक्षमा पुग्छन् र आफूले लिन चाहेको सेवाबारे जानकारी लिन्छा् । जुन कामका लागि सेवाग्राही कार्यालय आएको हो, उसको कागजात पुगे/नपुगेको रुजु सहायता कक्षमा खटिएका कर्मचारीले गर्छन् । आवश्यक कागजात जुटेको भए टोकन नम्बर दिइन्छ र, कामका लागि ‘एक द्वार प्रणालीमा प्रवेश दिइन्छ । त्यहाँ फोटो र बायोमेट्रिक लगायत लिइन्छ र, काम सकिने अवधिभरि प्रतीक्षा गर्न अनुरोध गरिन्छ ।

नमूना मालपोत कार्यालयमा हरेक फाँटमा सेवाग्राही फाइल बोकेर दौडिनु पर्दैन । हरेक फाँटले टोकन नम्बरका आधारमा फाइल हेर्छन् र आवश्यक कारवाही गरेर अर्को फाँटमा आफैंले पठाउँछन् ।

आवश्यक परेको खण्डमा मात्रै फाँटमा सेवाग्राहीलाई बोलाइन्छ । कम्प्युटरमा विवरण इन्ट्री गर्ने, मोठ भिडाउने, राजश्वको छड्के परीक्षण गर्ने र कारोबार प्रमाणीकरण गर्ने काम एकै द्वारबाट गर्ने व्यवस्था गरिएको छ ।

नमूना कार्यालयमा हरेक फाँटहरुलाई पारदर्शी गरिएको छ । बन्द कोठाको प्रयोगलाई हटाइएको छ । हरेक फाँटमा कार्यरत कर्मचारीको क्रियाकलाप एक अर्काले देख्छन् ।

पहिलो द्वारबाट प्रवेश गरेको फाइल काम सकिएपछि मात्रै सेवाग्राहीलाई बोलाएर अन्तिममा हातमा थमाइन्छ ।

जग्गा कारोबार भएपछि त्यसको सन्देश रियल टाइममा नै सेवाग्राहीको मोबाइलमा जाने व्यवस्था गरिएको छ । यसले गर्दा अवैध रुपमा जग्गा खरिद बिक्री हुने जोखिम पनि घटाएको दुवाडी बताउँछन् ।

नमूना कार्यालयको सबै जग्गासम्बन्धी सबै ढड्डा र स्रेस्तालाई डिजिटलाइज गरिएको छ । एक क्लिकमा यस्ता ढड्डाहरु हेर्न सकिन्छ । यो प्रणाली पनि कार्यालयमा भइरहेको कारोबारको यथार्थ विवरण पनि विभागीय प्रमुखहरुले सजिलै हेर्न सक्छन् ।

कार्यालयमा सेवाग्राहीलाई बस्न प्रतीक्षालयको व्यवस्था गरिएको छ भने पिउने तातो–चिसो पनी उपलब्ध हुनेछ । अब कार्यालयलाई सफा तथा परिसरलाई हरियाली पनि राखिने महानिर्देशक दुवाडीले बताए ।

यस्तै कार्यालयलाई अपांगमैत्री बनाइएको छ भने महिलाहरुलाई लक्षित गरेर स्तनपान कक्षको व्यवस्था गरिएको छ । यस्तै कार्यालयका हरेक क्रियाकलापलाई सीसीटीभीबाट निगरानी गर्ने व्यवस्था गरिएको छ ।

विभागीय मन्त्री, सचिव र प्रमुखको कार्यकक्षबाट हरेक समयमा कार्यालयहरुको निगरानी गर्न सकिने गरी सीसी टिभी क्यामेरा जडान गरिएको हो ।

मन्त्रीको आशंका

अनेक सुविधा थपेर बनाइएको ‘नमूना मालपोत कार्यालय’ घोषणा गरिएको कार्यक्रममा भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले यो नमूना प्रणाली असफल हुने आशंका पनि व्यक्त गरिन् । उनले कर्मचारी नै त्यसका लागि सक्रिय भएको आरोप लगाइन् ।

‘हुने काम पनि अनलाइन सिस्टम गयो भन्दै हप्ता दिनसम्म फर्काएको सुनेको छु, त्यस्तो बेलामा मैले प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीलाई सोध्छु, सिंहदरबारमा सिस्टम गएको हो ? उहाँ भन्नुहुन्छ यहाँ त सबै ठीकै छ,’ उनले भनिन्, ‘मालपोत कार्यालयमा मात्र चाहिँ कसरी जान्छ सिस्टम ।’

उनले प्रविधिको प्रयोग गर्दा कुनै कर्मचारीलाई चित्त नबुझेको भए अरु कार्यालयमा जान बाटो खुला रहेको बताइन् । ‘बरु अन्त जान आवश्यक पर्ने सहयोग हामी नै गरौंला तर, यहाँ सेवाग्राहीलाई सहज सेवा दिन कुनै सम्झौता हुनुहुँदैन,’ उनले भनिन् ।

उनले कहिले–कहिले मन्त्रालय मातहतका कार्यालयले गरेका कामहरु सेनेर लज्जाबोध हुने अवस्था समेत आएको अनुभव सुनाउँदै उनले सुशासन कायम गर्नकै निम्ति प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन लागिएको पनि सुनाइन् ।

उनले मालोपोत कार्यालयमा पटक–पटक मन्त्रालयबाट छड्के अनुगमन भइरहेको जानकारी दिँदै सेवाग्राहीलाई दुःख दिनेलाई छुट नदिने दाबी गरिन् ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment