Comments Add Comment

१० महिनामा भित्रियो ७ खर्ब २५ अर्ब रेमिट्यान्स

रेमिट्यान्स बढ्यो, वृद्धिदर घट्यो

४ असार, काठमाडौं । रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको हो ।

१० महिनामा रेमिट्यान्स बढेर ७ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो ।

२०७५ साउनदेखि २०७६ जेठसम्मको खुद ट्रान्सफर आय १९.४ प्रतिशतले वृद्धि भई रु.८२६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.२ प्रतिशतले घटेको थियो ।

२०७५ साउनदेखि २०७६ वैशाखसम्मको ९ महिनामा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स २०.९ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ पुगेको थियो ।

जसअनुसार रेमिट्यान्स बढे पनि वृद्धिदर भने खस्किएको छ । एक महिनाको तुलनामा १ प्रतिशत भन्दा बढीले रेमिट्यान्स वृद्धिदर घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment