Comments Add Comment

पूर्वी नेपालमा मनसुनी वर्षा शुरु, देशभर फैलिन केही दिन लाग्ने

५ असार, काठमाडौं । गत २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा बढी अर्थात १४ दशमलब ६ मिलिमिटर पानी पर्‍यो । जल तथा मौसम विज्ञान विभागका अनुसार ओखलढुंगा, धनकुटा, विराटनगर लगायतका क्षेत्रमा पनि वर्षा भएको छ ।

मौसमविद्हरूका अनुसार पूर्वी नेपालबाट मनसुनी वर्षा शुरु भइसकेको छ । गत वर्षको तुलनामा १० दिन ढिलो गरी मनसुन शुरु भएको हो । गत वर्ष ८ जुनमै मनसुन शुरु भएको थियो ।

विभागले मनसुन शुरु भएको औपचारिक घोषणा भने गरिसकेको छैन । ‘मनसुन शुरु हुनका लागि आवश्यक पर्ने सबै मापदण्ड पूरा भइसकेको छ,’ विभागकी मौसमविद मन्जु बासी भन्छिन्, ‘बैठक बसेर एक-दुई दिनमा औपचारिक घोषणा गर्छौं ।’

मनसुन देशभरी फैलिन भने आठ-दश लिन लाग्न सक्ने मौसमविद् बासीले जानकारी दिइन् । उनका अनुसार यो वर्ष साधारण वर्षा हुने अनुमान गरिएको छ ।

सामान्तया पूर्वी नेपालमा १० जुन र काठमाडौंमा १२ जुनमा मनसुन शुरु हुन्छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पूर्व र मध्य नेपालका केही स्थान तथा पश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षासहित मेघगर्जन हुने पूर्वानुमान गरेको छ ।

यस्तै बिहीबार राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment