+
+

प्रधानमन्त्रीकै नामको कार्यक्रममा भ्रष्टाचार ! १३ जनाविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ५ गते १८:४९

५ असार, काठमाडौं । प्रधानमन्त्रीकै नाम जोडिएको एक परियोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसमेत १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि चार थान प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा सप्लायर्ससँगको मिलेमतोमा बदनियतपूर्वक आफूहरुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई दुई पटकमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

अख्तियारले विभागका महानिर्देशक कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र सप्लायर्स प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका प्रतिनिधि प्रविण कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?