Comments Add Comment

सैनामैनाको नीति : कृषि र पूर्वाधारमा जोड, जंकफुड प्रतिबन्ध !

५ असार,बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले पूर्वाधार विकासका लागि कार्यान्वयनको वर्षका रुपमा लिंदै आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगर प्रमुख चित्रबहादुर कार्कीले पाँचौ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन, उद्योग र पूर्वाधारमा जोड दिइएको बताए ।

सैनामैनाले नगर गुरुयोजना निर्माण, ठूला पूर्वाधार विकास, एकीकृत नमुना बस्ती विकास, हाटबजार स्थानान्तरण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, कृषि, पशु, स्वरोजगार एवं क्षमता विकास जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
नगरपालिकाले गुरु योजना अनुसार नगरको अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकासका लक्ष्यहरु निर्धारण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

सैनामैनाको बुद्धकालीन सभ्यतालाई उजागार गर्दै त्यसलाई पर्यटकीय र खोज अनुसन्धानको केन्द्र बनाइने मेयर कार्कीले बताए । यस्तै सैनामैना चक्रपथ कालोपत्रे गर्ने, लुम्बिनी जोड्ने सडकको स्तरोन्नति गर्ने, कृषि उत्पादकत्व बढाउने, बहुउद्देश्यीय जलासय निर्माण गर्ने, खेलकुद रंगशाला निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सैनामैना वडा नं. २ मा रहेको थारु होमस्टेलाई अझ व्यवस्थित गरी विशेष होम स्टे बनाउने का रुपमा सञ्चालन गर्ने भएको छ ।
प्रदेश सरकार सँगको सहकार्यमा वडा नं. ३ मा स्मार्ट कुखुरा पालन, वडा नं. ६ र ११ मा स्मार्ट पशुपालनको लागि कृषि ग्राम कार्यक्रम सञ्चालनमा रहेको छ ।

जंकफुडलाई निरुत्साहित

नगरपालिका भित्रका सवै विद्यालयहरुमा जंकफुडलाई निरुत्साहित गर्नेदेखि विद्यालय भवनमा एकै किसिमको रंग रोगन गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ । विहानी सत्रमा संचालन भएका सवै विद्यालयलाई दिवा सत्रमा सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप यस नगरपालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न पहल गर्ने पनि उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उक्त कार्यक्रममा उत्कृष्ट करदाता,नगरका विद्यालय तथा कर्मचारी सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment