Comments Add Comment

अमेरिकामा ‘नेपाल दिवस’ मनाएको त्यो दिन

नयाँ वर्ष ०७६ को कार्यक्रम । बैशाख ७ गते । (२०१९ अप्रिल २०) हामी अमेरिका थियौँ । तर, सबै झकिझकाऊ नेपालका थिए, नेपालका पोष्टर टाँसिएका थिए । हाम्रा बालबालिका अंग्रेजीमा कुरा गरिरहेका थिए । तर, मञ्चमा उभिएर तिनीहरुले नै नेपालको राष्ट्रिय गाना गाए ।

अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाल दिवस मनाउने परम्परा सन् २०१७ बाट सुरु भएको हो । बैशाख १ गतेलाई ठ्याक्क अंग्रेजी क्यालेन्डरमा राख्न नसक्ने हुँदा अप्रिल महिनाको तेस्रो शनिबार मनाउने चलन यहाँको नगरपालिकाबाट नै अनुमोदन भएको थियो । यो दिवसमा नेपालबाट मात्र नभई भारत,बङ्गलादेश,पाकिस्तानबाट पनि सहभागिता हुने गर्छ ।

संयोग यस्तो पर्दो रहेछ कि ती देशमा पनि बैशाख महिना नै पहिलो महिना रहेछ । यसबाट के थाहा भयो भने हामीहरु सबैको पात्रो एउटै व्यक्तिले सुरु गरेका रहेछन् । हामीहरु सबैले उनैको तिथी–मिति लिदैँ आएका रहेछौ ।

त्यो संस्थाको पूर्व अध्यक्षको नाताले वर्तमान कार्यसमितीले मलाई एउटा कुर्सी सुरक्षित राखी दिएका थिए । दाँयाबाया थुप्रै अन्य पाहुनाहरु विराजमान थिए । त्यही मन्चमा केहीबेर अगाडि मात्र अमेरिकाको लागि नेपालका राजदुत डा.अर्जुन कुमार कार्कीले भाषण गरे । संस्थाका वर्तमान अध्यक्ष डा.बटु शर्माले आफ्नो राय व्यक्त गरे । त्यसैगरी नगरपालिकाका मेयर श्री टि.जे.कली ले पनि आफ्नो मन्तव्य दिएर गए । भाषण गर्ने कार्यक्रम पछि पालो थियो नाचगानको ।

मै छोरी सुन्दरी कसरी भरौँ पानी

उठी उठी भरौँ भने घैलाभन्दा सानी
बसी बसी भरौँ भने कम्मर दुख्ने बानी…

माइकबाट मीरा राणाको स्वर घन्किरहेको थियो । मन्चमा दुईजना बालिकाहरु गुन्युचोलीमा फनफनी नाचिरहेका थिए । दर्शकको घुईँचो थियो । हामीले सानो हुँदा रेडियो नेपालबाट यो सदावहार गीत खुब सुन्यौँ । अहिले कपाल सेतै हुँदा पनि रहर मेटिएको छैन । गतिला वस्तुले कहिल्यै धीत मर्दैन ।

तीनवटा गीतपछि मीरा राणाको गीतमा नाच सुरु हुँदै थियो । त्यहि बेला मेरा मित्र लेखनाथ दुलाल जी म बसेको कुर्सी नजिकै आउनुभयो र जीउलाई कुप्रो पार्दै कानमा खुसुक्क भन्नुभयो र हिँडिहाल्नु भयो ।

“न्यौपानेजी ! तपाई एकैछिन बाहिर चौरमा आइदिनुहोस् न । केही काम छ ।”

म जुरुक्क उठें र भीडलाई पन्छाउँदै दर्शक समुहबाट बाहिर चौरतिर निस्किएँ । लेखनाथजी मलाई नै कुरेर बस्नुभएको थियो, देख्नासाथ भनिहाल्नुभयो, ‘एकैछिन हाम्रो बुथ हेरेर बस्नपर्ने भयो । मलाई घर नगई भएन । धेरै बेर लाग्दैन, आईहाल्छु ।”

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको नर्थ क्यारोलाइना च्याम्पटरले खडा गरेको साहित्य वुथ थियो त्यो । आफैँले स्थापना गरेको संस्था, त्यसमा आफ्नै किताबहरु प्रदर्शनीमा थिए । मैले नाईँ भन्ने कुरै थिएन । पालमुनिको कुर्सीमा किताब कुरेर बसेँ ।

नेपालबाट मगाईएका थुप्रै किताबहरु त्यहाँ थिए । सरुभक्तको पागल बस्ती, अमर न्यौपानेको सेतो धर्ती, रामलाल जोशीको ऐना, मेरो आफ्नो दरबार बाहिरकी महारानी, सरस्वती प्रतिक्षाको नथिया, रमेश विकलको अविरल बग्दछ ईन्द्रवती, लेखनाथको बिरानो आकाशबाट आदिआदि । ग्राहकको अनुरोध आयो भने बिक्री गर्न पनि हाम्रो सल्लाह थियो । सकभर किताब हेर्ने र सोध्ने क्रम जारी नै थियो ।

एकजना खैरो टोप लगाएका अमेरिकन हाम्रो बुथ नजिकै आए र मतिर हेर्दै दुई हात जोडेर हँसिलो हुँदै बोले –“नमस्कार ! आरामै हुनुहुन्छ ?”

उनको हात जोडाई र बोलीबाट मैले अड्कल काटिसकेको थिएँ कि उनी कुनै नेपालीको संगतमा छन् वा उनलाई नेपाल बारेमा सामान्यभन्दा बढी नै जानकारी छ ।

मैले नमस्कार फर्काएँ र एउटा कुर्सी तान्दै बस्न अनुरोध गरेँ ।

तर, उनी बसेनन् । बरु सरसर्ती किताबका पाना पल्टाउँदै टेबलको परसम्म पुगे । अनि फेरि मैतिर फर्किए ।

“यी सबै किताबहरु नेपाली लेखकका नै हुन् ?”

“हुन् ।” मैले उत्तर दिएँ ।

“अंग्रेजीमा लेखिएका किताब छैनन् ?”

“छ । यी !” भन्दै मैले झोलाबाट मेरै किताब An Odyssey in Cycle उनलाई दिए ।

“कति मुल्य ?” उनले सोधे ।

“यो तपाईलाई उपहार ! सित्तैमा”

“धन्यवाद ! घरमा गएर पढ्नुपर्ला” भन्दै झोलामा राखे ।

त्यहीबेला एकजना गोरी महिला हाम्रो बुथमा देखा परिन् । उनको साथमा एउटा खानेकुराको प्याकेट पनि थियो । त्यो प्याकेटलाई देख्नासाथ ती पुरुषले सोधी हाले–

“यो के हो ? तिमीले के किन्यौ ?”

“मःम !” महिलाले उत्तर दिईन् । “तिमी कुरा गथ्र्यौ नि । गहुँको रोटीमा मासु बेरेर स्टीम गरेको डल्लो ।”

“ए ! मःम पनि बेच्न राखेको रहेछ ।” भन्दै त्यो पुरुषले दुईवटा डल्ला खपाखप उठीउठी नै मुखमा राखे ।

एक त नेपालबारे निकै चासो देखाएका छन्, अर्कोतिर आफूभन्दा पाका व्यक्ति, फेरि ममः बारेमा पनि उनको रुची । त्योभन्दा पनि अर्को पक्ष अप्रिल महिनाको बतास जोडले चलिरहेको थियो । उसले उठीउठी मःम मुखमा हालेको मलाई चित्त बुझेन । मैले फेरि उनलाई बस्न अनुरोध गरेँ ।

“बस्नुहोस् ! कुर्सी खाली नै छ । बसेर नै मःम खानुहोस् ।”

बल्ल उनीहरु कुर्सीमा बसे । मःम खाए अनि आफ्नो परिचय दिए –“ मेरो नाम शंकर हो, उनी मेरी श्रीमती मिरा ।” उनीहरुको नाम सुन्नासाथ मलाई हाँसो उठ्यो । अनौठो पनि लाग्यो ।

“ए ! तपाईहरुको नाम त नेपालीको जस्तै रहेछ । कसरी जुराउनुभयो यस्तो नाम ?”

“यो हाम्रो खास नाम होइन । नेपालीलाई सजिलो हुन्छ भनेर हामीले राखेका हौँ । हाम्रो वास्तविक नाम स्टरलिङ्ग र नायरा हो ।”

“त्यसो भए तपाईहरुलाई शंकर र मिरा नै भनौँ है त ।”

उनले उत्तर दिन भ्याएका थिएनन्, त्यहीबेला अघिसम्म मञ्चमा बुद्धको प्रतिमूर्ति बनेका व्यक्तिलाई संकेत गर्दै शंकरतिर फर्केर बोलेँ –

“चिन्नुभयो उनलाई ? अघि मञ्चमा गौतम बुद्ध बनेर ध्यानमग्न बस्ने व्यक्ति उनै हुन् । अघि पहेँलो धोती र खास्टोमा बेरिएर कमन्डलु लिएका थिए । अहिले यस्तो !”

मैले जतिसुकै उत्साहित र गौरवका साथ बोले पनि उनी उत्साहित हुन सकेनन् । उनले मेरो कुरामा रमाइलो मानेनन् । बरु गंम्भीर अनुहार बनाउँदै बोले –

“गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर हल्ला गर्ने होइन, देखाउने हो ।”

“त्यही त ! हामीले गौतम बुद्धको प्रतिमूर्तिलाई ट्रकमा राख्यौँ । शहर परिक्रमा ग¥यौं । चारघण्टा जति गौतम बुद्धको प्रतिमूर्ति बनेर ती व्यक्ति मञ्चमा बसेको तपाईले देखिहाल्नुभयो । यसको नेपालमा पनि खुब प्रचार–प्रसार भइरहेको छ ।”

“गौतम बुद्धको मूर्तिलाई ट्रकमा राखेर घुमाउँदैमा, गौतम बुद्ध नेपालमा जन्मेका हुन सक्दैन । सडकमा धुलो उडाउँदैमा उनको जन्म नेपालमा हुने होइन ।” फेरि मतिर तीखो आँखा पार्दै बोल्न थाले “सडकको धुलो उडाउने होइन, सफा गर्ने हो । सडकमा नारावाजी गर्ने होइन, पिच गर्नुपर्छ । गाउँघर सुन्दर बनाउनुपर्छ । रुख रोप्नुपर्छ । शुद्ध खानेपानीको व्यवस्था गर्नपर्छ । यति भयो भने गौतम बुद्ध भारतमा जन्मिएका रहेछन् भने पनि नेपालमा आउँछन् । तपाईहरुले त्यसको दुःख गर्नु नै पर्दैन । विश्वले स्वतः जानकारी पाउँछ ।”

उनको कुरो सुनेपछि म धेरैबेर रनभुल्ल परेँ । ट्वाल्ल परी हेरिरहेँ । केही बोल्न आँट नै आएन । मनमनै सोचेँ नेपालबारे शंकरको गहिरो अध्ययन मात्र होइन, गहिरो चासो पनि रहेछ । उनले नेपालको बारेमा निरन्तर नियालिरहेका छन् । अब मेरो चासो उनको व्यक्तिगत परिचयतिर गयो ।

“आज यहाँ कार्यक्रम छ भनेर कसरी थाहा पाउनुभयो र आउनुभयो ?” मैले सोधेँ ।

“केही दिन अगाडि एकजना नेपाली तरकारी बजारमा भेट हुनुभएको थियो, उनले नै खबर गरेका हुन् ।”

“त्यसोभए तपाईको यो पहिलो कार्यक्रम हो ?”

“होइन, बोष्टनमा हुँदा त्यहाँ पनि नेपालीहरु सम्पर्कमा हुनुहुन्थ्यो । तर, नर्थ क्यारालाइनामा पहिलो चोटि हो । मेरा छोरा–बुहारीले यहीँ जागिर पाएपछि म पनि यतै आएँ । छोराको घर नजिकै मैले पनि घर किनेको छु । तर मलाई नेपाल निकै प्यारो लाग्छ ।”

पेशाले मेकानिकल ईन्जिनियर । उनले नेपालको पहिलो भ्रमण ७० को दशकमा गरेका रहेछन् घुम्नका लागि । भारत हुदैँ नेपाल पसेपछि एक वर्षजति नेपालमा अल्मलिएछन् ।

उनको भर्खर कलेजबाट इन्जिनियर बनेको युवा जोश रसुवाको धुन्चे नजिकको गाउँमा बितेछ । केही वर्षपछि पुनः नेपाल नै फर्किन्छ भनेर नेपालबाट अमेरिका आए पनि फेरि नेपाल जान पाएनछन् । उनका पाइला साउदी अरबको तेल खानीतिर पुगेछन् ।

साउदी अरबको तेल खानीमा काम गर्दागर्दै एकजना नेपाली सम्र्पकमा आएछन् । त्यहीँ सम्पर्कबाट  पुनः उनको भ्रमण नेपालतिर भएछ र गत वर्ष ६ महिनाजति नेपाल बसेर फर्किएका रहेछन् । उनलाई नेपालबारे मात्र होइन, त्यो भेकका अरु देशको पनि गहिरो अध्ययन रहेछ ।

४० वर्षपछि पुनः पहिलेकै गाउँमा पुगेछन् । तर, उनलाई त्यो गाउँदा पुग्दा खुशी लाग्नुको सट्टा दिक्क लागेछ । केके न उन्नति भयो होला भनेर त्यहाँ पुगेका शंकरलाई निराश बनाएछ । बाबुले बजाउने डम्फु छोराले बजाउन थालेपछि उनले हरेश खाएछन् ।

धामी झाँक्री पेशाले नै बंशजको पेशा बनेर सर्दै गएपछि त्यो देशको अवस्था कस्तो भयो होला ? उनी केही चिन्तित स्वरमा बोले पनि मैले केही प्रतिक्रिया जनाउन सकिनँ ।

चिन्ता र चासो देखाउनेमा फरक पर्छ । चिन्ता गर्नेले केवल हेर्ने मात्र गर्छ, ऊ सहभागी हुन सक्दैन । तर, चासो देखाउने केही न केही आँट गरेको हुन्छ । अगाडि बढ्छ । शंकरले  देखाएको चासोप्रति मलाई गौरव लाग्यो, एउटा विदेशीले यस्तो हैसियत देखाउनु सानोतिनो कुरा थिएन । तरै पनि म केही बोलिनँ । सुन्दै गएँ ।

“भक्तलाई भेटेपछि फेरि मलाई नेपाल जान मन लाग्यो । म नेपाल गएँ ।”

“को भक्त ?” भनेर मैले उनलाई सोधिनँ । बरु मेरो आशय उनको नेपाल भ्रमणबारे गयो । मैले सोधेँ, “कस्तो लाग्यो त पहिलेको नेपाल र अहिलेको नेपाल ?”

“साह्रै दुःख लाग्यो । नमज्जा लाग्यो ।” उनले पहिलाको कुरा दोहो¥याए ।

सोचेको भन्दा बिल्कुल उल्टो उत्तर पाएँ उनीबाट मैले । नेपाल भ्रमण गरेर फर्कने विदेशीको मुखबाट यस्तो उत्तर विरलै सुनिन्थ्यो । उनीहरु आफू सुरक्षित हुन हो वा नेपालीबाट माया पाउनको लागि भने पनि नेपाललाई हितैषी वा बनावटी ममता देखाएर नेपाललाई माया गरेका हुन्थे ।

तर शंकरले निर्धक्क ठाडै उत्तर दिए– “दुःख लाग्यो ।”

मेरो शंका अब भक्ततिर गयो । भक्तले के पढाएर पठाएछन् त ? मैले शंकरलाई सोधेँ

“को हो भक्त भनेको ? कसरी चिन्नुभयो उहाँलाई ?”

“साउदी अरबमा भेटेको । म बसेकै घरमा उनी काम गर्ने गर्थे, ऊटँ चराउने ।”

ऊँट चराउने भन्नासाथ म झस्याङ्ग भएँ । आर्थिक अवस्था कमजोर हुने धेरै भक्तहरु साउदी अरबमा पसेका छन् । अझ ऊटँ चराउनेको पढाइ पनि पक्कै त्यति दह्रो हुदैँन । त्यहाँ उनीहरुले खपेका दुःख र कष्टका कथाहरु सुनिदैँ आएको हो ।

“भक्त पनि तपाई सँगै गएका थिए ?” मैले सोधेँ ।

“कहाँ भक्त फुत्त–फुत्त हिँड्न पाउने हो र ? त्यत्रा ऊँटको हेरविचार कसले गर्छ ? उसको पासपोर्ट त ऊँट मालिकसँग थियो ।” यति भनिसकेपछि अनुहार केही अँध्यारो बनाउँदै फेरि थपे –“नेपालीलाई साउदी अरब नगई खान पुग्दैन र ? रोक्ने नियम लगाउनुपर्छ ।”

आफ्नै अगाडि एउटा विदेशीले आफ्नो देशप्रति सहानुभुति देखाउनु, नेपाल र नेपालीलाई सचेत गराउनु, योभन्दा ठुलो चेतना केही थिएन । तर म उनको भनाईको समर्थक हुँदाहुँदै पनि दबाएर राख्न बाध्य भए र मेरो मुखबाट प्रचलित शव्द फुत्त बाहिर आयो –

“बाध्यता !”

“बाध्यता ?” उनले मेरो कुरामा प्रश्नचिह्न राखे । अनि फेरि आव्रmोशित भावना देखाउँदै बोले –“बाध्यता नभन्नुहोला ।”

कुनै घटना थियो वा कथा ! नत्र किन शंकर यति धेरै नेपाल र नेपालीबारे चासो राख्छन् । किन नेपालीलाई माया गरेका छन् ? मैले अन्दाज लगाउन मैले केही नरम भएर बोलेँ ।

“त्यसोभए साउदी अरबमा नेपालीलाई गाह्रो छ हगि ।”

यसपटक उनको रिस मुसलमान धर्मप्रति गयो । तर, उनले यसपटक मुसलमानलाई गाली गरेनन् । बरु भक्तले भोगेका दैनिकीतिर गयो । हिन्दु भएका कारण उसले सहेको अपमान, घृणा र तुच्छतातिर गयो ।

“भक्तको स्तर उटँको भन्दा माथि गएन । उनी उँटको चुल्होमा पाकेको खान्थेँ । उँटसँग नै सुत्थे । घरभित्र पस्न उनलाई अनुमति थिएन ।”

शंकरले निकै अनौठो मानेर मलाई सुनाए पनि, भक्तलाई दयामाया देखाए पनि प्रभावित हुन सकिनँ । नौलो कुरा सुनेँ पछि मात्र मान्छेले अनौठो मान्ने हो, नौलो दृष्य देखेपछि ताजुब लाग्ने हो किनकि दृष्यहरु त्यो कामहरु मेरो लागि नौलो थिएन । म आफैँले साउदी अरबमा देखेर आएको थिएँ । त्यस्ता घटनाहरु भोग्ने व्यक्तिले नै मलाई सुनाएका थिए । त्यतिबेला बरु मेरो मुखबाट नेपाली र नेपाल सरकारले भन्ने गरेको प्रचलित वाक्य फुत्त बाहिर आयो –

“के गर्ने ? नेपालमा अवसर नभएपछि । बाँच्नका लागि भए पनि अर्काको अपमान सहन पर्ने रहेछ ।”

मलाई लागेको थियो यसपटक शंकर पक्कै पनि मेरो भनाइमा सहमत हुन्छन् । अँ त नि भनेर मसँग सहकार्य गर्छन् । तर, त्यस्तो भएन । उनले मेरो कुरोमा सही थपेनन् । बरु उनको कुरो अर्कोतिर गयो । कहिल्यै नसुनेको कुरा्, कसैले नदेखेको, कसैले विचारै नगरेको ।

“धामी–झाँक्री, भुतप्रेत, मठ–मन्दिर र दान–दक्षिणामा भुलेपछि कसरी देशमा अवसर आउँछ ? अवसर पाउन अनुसन्धान र विकास गर्नुपर्छ । दिमाग र जाँगर एकैचोटि लगाउनुपर्छ । नयाँ प्रविधि आफंैले निकाल्नुपर्छ । विदेशीको भर पर्न हुदैँन ।”

नेपाल दिवसको कार्यक्रम सकियो । दर्शकहरु खाजा खान र किनमेलतिर लागे । तर, शंकरका श्रीमान श्रीमतीले त्यो कुर्सी छोडेनन् । साहित्य समाजले खडा गरेको वुथमा आएका प्रत्येक नेपालीसँग गफ गरे । रमाइलो माने । तर, म भने शंकरले उक्साएको विचारमा मग्न भएँ । उनले सल्काएको उत्साहमा झल्यास्स भएँ । यहाँसम्म कि म बोल्दै बोलिनँ । घरीघरी शंकर भने त्यहीँ कुरा दोहो¥याइरहेका हुन्थे । सबैलाई सचेत बनाएका हुन्थे । उनको भनाइमा रहस्य थिएन । केवल सुझाव थियो । उनले देखेको र भोगेको नेपाल बारे चासो थियो ।

वास्तवमा हामीहरुले लिएको बाटो गलत नै हो ? हामीहरुले सही सोचाई राखेनौँ ? हाम्रा राजा–महाराजाले हामीलाई उचित निर्देशन दिएनन् ? उनीहरु आफैँ अल्मलिए । हामी पनि अल्मलियौँ । तर, राजा महाराजा अल्मलिए भन्दैमा हामी अल्मलिन नहुने । हामीहरुले सोचाइ कमजोर बनाउन नहुने । फलस्वरुप हामी पश्चिमी मुलुकको ओझेलमा पर्‍र्यौ । म विचारमग्न भएँ । आफ्नो दिमागमा आफैँले खेलाएको खल्बलीलाई आफैँले तुलानात्मक रुपमा अध्ययन गर्नतिर लागेँ ।

लिगलिगकोटका राजा द्रव्य शाहले गोरखा राज्य विजय गरेपछि गोरखा डाँडाभरि मन्दिरै मन्दिर बनाए । उनको धेरैजसो समय पाटी,पौवा र पोखरी निर्माणमा गयो । तर अहिले उनले बनाएको मन्दिर भत्केको भत्क्यै छ । पटकैपिच्छेको भुँईचालोले पाताल गरिदियो । नेपाल सरकारलाई मर्मत र संभार गर्नमा हैरान ।

तर, त्यहीबेला क्रिटोफर कोलम्बसले बनाएको पानीजहाजले अर्को विश्व नै पत्ता लगायो । अहिले उनले बनाएको पानी जहाज प्रत्येक महासागरमा तैरिरहेका छन् लाखौँ संख्यामा ।

पृथ्वी नारायण शाहले नुवाकोटमा विजय गरेपछि ठूलो दरबार बनाए । त्यो दरबारमा उनले थुप्रै खर्च गरे । तर, ०७२ सालको भुँइचालोले लडाइदियो । नेपाल सरकारले त्यो पुनः मर्मत गर्न सकेको छैन । तर, त्यहीबेला न्युटनले स्याउको बोटबाट खसेको स्याउले नै गुरुत्वाकर्षणको सिद्धान्त निकाले । त्यो सिद्धान्तले बैज्ञानिक क्रान्तिमा चमत्कार नै ल्याइदियो ।

पृथ्वीनारायण शाहलाई काठमाडौँ उपत्यकामा विजय पाउन हात हतियारको खाँचो प¥यो । उनले बन्दुक ल्याउने मान्छे भारत पठाए । तर, बन्दुक आफैँले बनाउनुपर्छ भन्ने ध्यानै गएन । त्यतिबेला नुवाकोटमा नै बन्दुक बनाउन थालेको भए काठमाडौँमा मात्र होइन, पुरै भारत वर्ष नेपालको अधीनमा हुन्थ्यो ।

काठमाण्डौका राजा प्रताप मल्ललाई किच्कन्याले पछ्याउन थालिन् । राजा ज्योतिषीकहाँ गए । ज्योतिषीको सल्लाह बमोजिम बाग्मतीबाट हाड ल्याएर त्यसलाई भष्म पारे अनि रानीपोखरीको छेउमा हात्तीले कुल्च्याए, तर त्यो ज्योतिषी सल्लाह ठीक थिएन । प्रताप मल्ललाई मानसिक रोगले समातेको थियो । उनी स्त्रीलम्पट भएका थिए । त्यसको औषधी बनाउनपर्छ भन्नेतिर लागेर औषधी आविष्कार गरेको भए मेडिकल जगतमा चमत्कार हुन्थ्यो । तर, त्यो चेतना भएन ।

त्यतिधेरै टाढा नजाऔँ । ती इतिहास कुरा हुन् । राईट ब्रदर्शले हवाईजहाज परीक्षण उडान गरिरहेका बेला चन्द्र शमशेर धुमधामले सिंहदरबार बनाउँदै थिए । उनलाई ठुलठुला दरबार बनाउने र नाम कमाउने सोख थियो । राईट ब्रदर्शले बनाएको जहाजले विश्वको कति चक्कर लगायो कति । चन्द्रमामा पुगिसक्यो । तर, सिंहदरबार चिरा परेको परै छ । बनाउँदैमा हैरान ।

आजभोलिकै कुरा गरौँ । नयाँ नेपालकै कुरा गरौँ । बिल गेट्सले कम्प्युटर जगतलाई अचम्मित पार्दै थिए । उनको सफ्टवेयर विश्व बजारमा आउँदै थियो । तर, हाम्रा कामरेड भने दुश्मनको नाममा आफ्नै भाइबन्धुको टाउको छिनालिरहेका थिए । जनयुद्धको भ्रममा जनता भड्काइरहेका थिए । कताको नयाँ प्रविधि, कताको अनुसन्धान ।

बेलाबेलामा शंकरले मलाई फोन गरिरहन्छन् । प्रत्येक फोनमा हाम्रो वार्ता लामै हुन्छ । मलाइभन्दा उनलाई नेपालको बारेमा चासो हुन्छ । उनी नेपालको हिमाल, पहाड र प्राकृतिक दृष्यको कुरा गर्दैनन्, बरु उनको कुरा हुन्छ– नयाँ प्रविधि,वृहत रोजगारी, कृषि उत्पादन अनि अनुसन्धानको ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment