Comments Add Comment

कीर्तिमानी संख्यामा पर्यटक आएको वर्ष बसाई अवधि भने घट्यो

Photo Credit : नेपाल पर्यटन बोर्ड ।

८ असार, काठमाडौं । सन् २०१८ नेपालमा पर्यटक आगमनका दृष्टिकोणबाट सफल वर्ष हो । यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आए ।

सन् २०१७ को तुलनामा पर्यटकको संख्या २५ प्रतिशतले बढेको थियो । तर, पर्यटक आगमन कीर्तिमानी संख्यामा बढ्दा पर्यटकको औसत बसाई अवधि भने केही घटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार यस वर्ष पर्यटकको औसत बसाई १२.४ दिन रह्यो ।

सन् २०१७ मा १२.६ दिन पर्यटक नेपाल बसेका थिए । सन् २०१६ मा १३.४ र सन् २०१५ मा १३.१६ दिन पर्यटक नेपालमा बसेको तथ्यांक छ । सन् २०१५ मा पर्यटक आगमन भने ५ लाख ३८ हजार ९ सय ७० मात्र थियो । यो नेपालमा भूकम्प आएको वर्ष हो ।

नेपालमा भारतीय र चिनियाँ पर्यटकको आगमन बढ्दा पर्यटकको औसत बसाई घट्ने पर्यटन वयवसायीहरु बताउँछन् । सोइइटी अफ ट्राभल एण्ड टूर्स अपरेटर्स (सोट्टो) नेपालका पूर्वअध्यक्ष यम खड्काका अनुसार नेपालमा पर्यटकको बसाई अवधि लम्ब्याउने मूख्य ‘प्रडक्ट’ पर्वतारोहण र पदयात्रा हो । तर यस प्रयोजनमा आउने पर्यटकको संख्या तुलनात्मक रुपमा कम हुन्छन् ।

धार्मिक तथा मनोरञ्जनको उद्देश्यले आउने पर्यटक धेरै हुन्छन् । तर, उनीहरु कम अवधि नेपाल बस्छन् । सन् २०१८ मा बिदा मनाउने र मनोरञ्जनको उद्देश्यले नेपाल आउने पर्यटक ७ लाख ३ हजार ८ सय ४३ जना थिए । उक्त बर्ष धार्मिक पर्यटक १ लाख ८७ हजार ६ सय ९२ थिए । पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकको संख्या १ लाख ६९ हजार १ सय ८० थियो । जसले गर्दा समग्र पर्यटकको बसाई अवधि क्रमशः घट्दो क्रममा रहेको खड्का बताउँछन् । नेपालले नयाँ पर्यटकीय प्रडक्ट उत्पादन गर्न नसरिहेको र परम्परागत प्रडक्टका कारण धेरै पर्यटकलाई लामो समय नेपालमा बसाउन नसकिएको उनको भनाई छ ।

पछिल्लो ५ वर्षमा पर्यटकको बसाई अवधि (दिन)

सन् २०१४ : १२.४४

सन् २०१५ : १३.१६

सन् १०१६ : १६.४

सन् २०१७ : १२.६

सन् २०१८ : १२.४

बढ्दैछन् महिला पर्यटक 

सन् २०११ मा नेपाल आउने पर्यटक पुरुषभन्दा महिला धेरै थिए । उक्त वर्ष ५२.२ प्रतिशत महिला पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि भने निरन्तर पुरुष पर्यटकको बाहुल्य थियो । सन् २०११ पछि महिला पर्यटकको संख्या कम थियो । सन् २०१८ मा भने उल्लेख्य महिला पर्यटक नेपाल आएका छन् । तथ्यांक अनुसार यस वर्ष कूल ५ लाख ४८ हजार १ सय ४४ महिला पर्यटक नेपाल आए । यो संख्या कूल पर्यटकको ४७.७ प्रतिशत हो ।

कैलालीबाट ७६ पर्यटक मात्र

सन् २०१८ मा आएका कूल पर्यटकमध्ये २ लाख ३ हजार ७ सय ८५ जना पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिएका थिए । तथ्यांकअनुसार पर्यटक आगमनका दृष्टिकोणबाट सबैभन्दा व्यस्त नाका भैरहवा हो । लुम्बिनी दर्शनका लागि धेरै पर्यटक यस नाकाबाट छिर्ने गर्छन् ।

सबैभन्दा कम पर्यटक भने कैलालीबाट भित्रिएका छन् । यस नाकाबाट ७५ जना मात्र नेपाल आएको तथ्यांक छ । नेपालगन्जबाट पनि मात्र ५ सय ९० पर्यटक भित्रिएको तथ्यांक रहेको छ । स्थलमार्गबाट भित्रने पर्यटक अधिकांश बौद्धमार्गी बाहुल्य जनसंख्या भएको देशका रहेका छन् । सन् २०१८ मा श्रीलंकाबाट सर्वाधिक ५७ हजार ८ सय ७ जना पर्यटक स्थलमार्गबाट नेपाल भित्रिए । थाइल्याण्डबाट ३२ हजार ३ सय ५४, म्यानमारबाट ३० हजार ६०, चीनबाट १९ हजार ३ सय ७४ जना पर्यटक नेपाल भित्रिएका छन् । स्थलमार्गबाट छिरेका भारतीयलाई पर्यटकमा गणना गरिदैन ।

लुम्बिनीमा १५ लाख पर्यटक

सन् २०१८ मा लुम्बिनी भ्रमणमा आन्तरिक तथा बाहृय पर्यटकको संख्या १५ लाख पुगेको छ । लुम्बिनीमा ११ लाख ५५ हजार ५ सय ४४ आन्तरिक पुगेको तथ्यांक रहेको छ । १ लाख ९२ हजार ४ सय १० भारतीय पर्यटक लुम्बिनी पुगेका छन् । तेस्रो मुलुकबाट भने १ लाख ६९ हजार १ सय ८० पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

होटेलमा दैनिक ४० हजार पर्यटक धान्ने क्षमता

सन् २०१८ मा नेपाल आएका पर्यटकलाई औसत दैनिक संख्यामा हिसाव गर्दा प्रतिदिन ३ हजार २ सय १३ जना पर्यटक नेपाल आउने गर्छन् । यस वर्ष पर्यटकस्तरीय भन्दा माथिका प्रतिदिन ४० हजार ८ सय ५६ जना पर्यटकलाई सेवा दिनसक्ने गरी होटेलको क्षमता बढेको छ । सन् २०१७ मा बेड संख्या ३९ हजार ८ सय ३३ रहेकोमा सन् २०१८ मा मात्र १०२३ वटा बेड होटेल उद्योगमा थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment