Comments Add Comment

हार्न पनि सिकाउनुहोस् आफ्ना बालबच्चालाई

हामी आफ्ना बालबच्चालाई सिकाउँछौ, कसरी सफल हुने ? कसरी उत्तिर्ण हुने ? कसरी जित्ने ? कसरी सबैलाई उछिन्ने ?

हामी यी कुराहरु बच्चालाई यसरी सिकाउँछौं, मानौं उनी एक धावक हुन् । जब उनीहरु जन्मन्छन्, तब हामी अगाडि बढ्न, दौड्न र सबैलाई जित्नका लागि उक्साइरहन्छौ । हामी भन्छौ, ‘तिमी सफल बन्नुपर्छ, अगाडि बढ्नुपर्छ, सबैलाई जित्नुपर्छ ।’

बच्चाको कलिलो मस्तिष्कमा यही कुराले जरा गाढ्छ कि, ‘मैले जित्नुपर्छ ।’

जित्नुपर्छ भन्ने भावनाले नै उनीहरु हरेक ठाउँमा प्रतिस्पर्धा गर्छन् । भिड्छन् । चाहे पढाईमा होस्, चाहे खेलकुदमा होस्, चाहे व्यवसायमा होस् । हरेक कुरामा उनीहरुलाई जित्नुपर्छ भन्ने लाग्छ । उनीहरुलाई लाग्छ, जित्नु नै उपलब्धी हो । जित्नु नै प्राप्ति हो ।

जब उनीहरुले कुनैपनि क्षेत्रमा जित हासिल गर्छन्, सबैले धाप मार्दै स्याबासी दिन्छन् । फेरी पनि जित्नका लागि उक्साउँछन् । बालबालिकाहरु यस्तै स्याबासी र वाहवाहीको लागि जित्ने दौडमा लागिरहन्छन् । तर, जित सधै आफ्नो पक्षमा हुँदैन ।

कहिले काहीँ उनीहरुले हार पनि व्यहोर्नुपर्ने हुनसक्छ । जब उनीहरु हार्छन्, तब उनीहरुको भावनामा नराम्ररी ठेस पुग्छ । ‘जित्नैपर्छ’ भनेर दौडिरहेका उनीहरु हारलाई सहजै स्विकार्न सक्दैनन् । हारलाई पचाउन सक्दैनन् । अन्ततः यसले बालबच्चाको मनमा नराम्ररी ठेस पुग्छ । आफु कमजोर भइयो वा आफुभन्दा अरु अगाडि भए भन्ने बोधले उनीहरुलाई दुःखी बनाउँछ ।

हार स्विकार्न सिकाउने कि ?

हामी बच्चालाई जहिले पनि जित्न उकास्छौ । जित्नका लागि प्रेरित गर्छौं । जित नै जीवनको उपलब्धी भनेर बुझाइदिन्छौ । त्यही कारण उनीहरु हार पचाउन सक्दैनन् । हार्नु भनेको जीवनमा ठेस लाग्नु हो, हार्नु भनेको आफ्नो गल्ती हो भन्ने पर्छ । यही कुराले उनीहरुको खुसी खोसिन्छ ।

कुनैबेला एसएलसी -हाल एसईई) परीक्षाको ठूलो हाउगुजी थियो । शिक्षक र अभिभावकले भन्थे, ‘यो त फलामे साङ्लो हो, तिमीले पार गर्नैपर्छ ।’ यो परीक्षामा उत्तिर्ण हुनैपर्छ भन्ने दबाव रहन्थ्यो । जब एसएलसीमा अनुत्तिर्ण हुन्थे, त्यसमध्ये कतिपयले पठनपाठन नै त्यग्थे भने कतिपय आत्महत्या गर्थे । परीक्षामा अनुतिर्ण हुनु भनेको जीवनमै असफल हुनु हो भन्ने मानसिकताले उनीहरुलाई आत्महत्याको बाटोमा डोहोर्‍याउने गथ्र्यो ।

यदि जित मात्र जीवन होइन, हारलाई स्विकार्न सक्नुपर्छ भन्ने कुरा बुझाइएको भए उनीहरु परीक्षामा अनुतिर्ण हुँदैमा त्यती धेरै विक्षिप्त हुने थिएनन् ।

हाम्रा बालबच्चाहरु खेलकुदमा भाग लिन्छन् । विभिन्न प्रतियोगितामा सहभागी हुन्छन् । परीक्षामा सामेल हुन्छन् । यी कुरामा हार व्यहोर्नुपरेमा निकै दुःखी र निरास हुन्छन् । हतोत्साही हुन्छन् । किनभने हामीले उनीहरुलाई जित्नु नै सबैथोक भनेर प्रेरित गरिरह्यौ । हारलाई स्विकार्न र हारबाट सिक्नुपर्छ भनेनौ ।

परीक्षा, प्रतियोगिताको कुरा छाडौं । सामान्य कुरामा पनि जित्नैपर्छ भन्ने छ हाम्रा बालबच्चालाई उनीहरु हारलाई हर-हालतमा सहन सक्दैनन् । मानौ उनीहरु टेलिभिजन हेरिरहेका छन् । रिमोट उनको अधिनमा छ । कसैले उनको हातबाट रिमोट खोसिदियो भने बच्चाले सोच्नेछन् कि, म कमजोर भएँ । यही बोधले उनीहरु झगडा गर्न तम्सन्छन् । रुन्छन् । जिद्दी गर्छन् । रिमोट आफ्नो हातमा हुनैपर्छ भन्ने उनीहरुलाई लाग्छ ।

बच्चालाई जबसम्म हामी जित्न मात्र प्रेरित गरिरहन्छौ, उनीहरुले जहिले पनि आफुलाई जिताउन मात्र खोजिरहन्छन् । यसले गर्दा उनीहरुमा हार स्विकार्नै नसक्ने बानीको विकास हुन्छ । कुनै कुरामा हार्नुपरेमा उनीहरु त्यसलाई पचाउन सक्दैनन् । यसले उनीहरुलाई सफल बनाउने वा प्रगतिपथमा अघि बढाउनेभन्दा पनि जिद्दी, अराजक बनाउने संभावना बढी रहन्छ । किनभने जीवनमा हार पनि व्यहोर्नुपर्छ र हारलाई सहज रुपमा स्विकार्न सक्नुपर्छ भन्ने भावनाको विकास नै भएको हुँदैन ।

जबकी जीवनमा जित र हार सराबरी हुन्छ । हामी जित्छौ, हार्छौ पनि । हार्नु भनेको सम्पूर्णमा हामी कमजोर हुनु होइन । हार्नु भनेको सफलता र संभावना को ढोका बन्द हुनु पनि होइन । बरु हारलाई स्विकाने हो भने यो एउटा अमूल्य पाठ हुनसक्छ, जीवनको ।

हारबाट सिक्ने

जितले हामीमा आत्मविश्वास बढ्छ । जितले हामीलाई एक कदम अगाडि पुर्‍याउँछ । जितले हामीलाई प्रगतिको ढोका खोलिदिन्छ ।

तर, हारले पनि हामीले केही त दिन्छ ।

हारले हामीलाई सहन सिकाउँछ । हारले हामीलाई स्विकार्न सिकाउँछ । हारले हामीलाई आफ्नो गल्ती-कमजोरी बुझ्ने मौका दिन्छ । हारले हामीलाई फेरि प्रयास गर्नुपर्छ भन्ने पाठ सिकाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment