Comments Add Comment

कुमार पौडेल मृत्यु प्रकरण : एक साताभित्र छानविन प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन

९ असार, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्य तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

पौडेलको प्रहरीको गोली लागेर यही असार ५ गते लालबन्दीमा मृत्यु भएको थियो । प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी सरकारी पक्षको रहे पनि सांसदहरुले त्यसमा शंका व्यक्त गर्दै सत्य तथ्य छानविनको माग गरेका थिए ।

मुठभेडमा मारिएको भनिएका कुमार पौडेलको हात ६-७ ठाउँमा कसरी भाँचियो ? भनेर सांसदहरुले प्रश्न उठाएका छन् । विप्लव समूहले पनि बाटो ढुकेर पौडेलको हत्या गरिएको आरोप लगाउँदै आएको छ ।

सोमबारको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा सांसद जनार्दन शर्मा (प्रभाकर)ले प्रहरीको रिपोर्टले मुठभेडमा मारिएको बताए पनि जनताको रिपोर्टले मुठभेडमा मारिएको नभन्ने भन्दै सत्य तथ्य बाहिर ल्याउन माग गरेका थिए ।

त्यसपछि गृहमन्त्री थापाले फिल्ड रिपोर्टका आधारमा घटनाको छानविन गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

यो पनि पढ्नुहोस कुमार पौडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment