Comments Add Comment

सुनसरीले जितिन पाककला प्रतियोगिता

९ असार, काठमाडौं । नेपालमै पहिलो पटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना÷स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा आयोजित प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ शुक्रबार सम्पन्न भएको छ ।

पोखरामा शुक्रबार सम्पन्न भएको पाककलामा आधारित राष्ट्रिय सीप प्रतियोगितामा प्रदेश नम्बर ३ की सुनसरी नेपाली प्रथम भइन । प्रथम पुरस्कार विजेता नेपालीले नगद रु १ लाख रुपैयाँ प्राप्त गरिन ।

औपचारिक तालीम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रष्फुटन गराउने मूल उद्देश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिताको आयोजना हुन गरिएको हो, जसमा देशका सात वटै प्रदेशबाट पहिलो चरणको प्रतियोगिताबाट छानिएका १४ जना प्रतिष्पर्धीहरूबीच शुक्रबार साँझ पोखरा ग्राण्डमा १४ जना फाइनल चरणमा प्रतियोगिता भएको थियो ।

सातै प्रदेशका १ सय ६३ जना प्रतियोगिहरुबाट विभिन्न चरणमा छनौट गरी फाइनल चरणमा १४ जना छनौट भएका थिए । नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरि पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने मूल उद्देश्य राखेर आयोजना गरिएको यो प्रतियोगितामा १ सय ६३ प्रतिष्पर्धीहरूमध्ये प्रत्येक प्रदेशबाट २–२ जना छनोट गरिएको थियो भने तीमध्ये उत्कृष्ट सातबीच अन्तिम स्पर्धा गराइ विजेता छनोट गरिएको हो ।

प्रतियोगितामा प्रदेश नं ३ सुनसरी नेपाली प्रथम भइन भने प्रदेश नम्बर ३ कै रमेश थापाले दोस्रो स्थान हासिल गरे । थापाले नगद ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रदेश नम्बर ५ का ओमप्रसाद ढकालले तेस्रोे हुदै ५० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।

काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरेको थियो । प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्र्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भइरहेको वेलामा प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए ।

पर्यटन गण्डकी प्रदेशको प्राथमिकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पाककलाजस्तो पर्यटन क्षेत्रको महत्त्वपूर्ण प्रतिस्पर्धाको थालनी पोखराबाटै आरम्भ भएकोमा सह्राहना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment