Comments Add Comment

‘गलबन्दी’ को विवाद संसदमा ! मीनबहादुरले भने– जातीय विभेद नगरौं

९ असार, काठमाडौं । चर्चित लोकदोहोरी गीत ‘गलबन्दी च्यातियो…’ को विवाद संसदमा पुगेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले गायक प्रकाश सपुत र शान्तिश्री परियारको बचाउ गरे ।

गायक शम्भु राईले ‘गलबन्दी’ को लय आफ्नो एल्बम देउसी भैलोको ‘आउ नाचौं साथी हो..’ बोलको गीतसँग ठ्याक्कै मिलेको दाबी गर्दै आएका छन् । दुईवटा गीतको लय एकअर्कामा मिले/नमिलेको विवाद भइरहँदा सांसद विश्वकर्मा ‘गलबन्दी’ को पक्षमा उभिएका हुन् ।

एक महिनामा युट्युबमा डेढ करोडभन्दा बढीले हेरेको यो गीतको लय गायक राईको गीतको लयसँग नमिलेको सांसद विश्वकर्माको दाबी छ । लोकभाकाको नक्कल वा चोरी नहुने उनको भनाई छ ।

‘गलबन्दी’को लय विवादको निहुँ कतिपयले सामाजिक सञ्जालमा जातीय विभेद हुनेखालका धारणा राखेको भन्दै उनीहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन समेत सांसद विश्वकर्माले माग गरे ।

पूर्वमन्त्री समेत रहेका विश्वकर्माले सोमबार संसदमा व्यक्त गरेको धारणा उनकै शब्दमाः

मिन विश्वकर्मा । फाइल फोटो

विगत केही दिनदेखि के बालक, के तरुण, के यवा, के वृद्धा सबैको मुखमा हरपल गुनगुनाइरहने धुन बनेको छ– गलबन्दी च्यातियो तिमीले तानेर.. । नेपाली सांगीतिक इतिहासमा यति छोटो समयमा डेढ करोड दर्शक बनाउनु चानचुने कुरा होइन ।

संसारभरि नेपाली मनले मात्रै होइन विदेशी मनले पनि यही धुन गुनगुनाइरहेका छन् । यसमा नेपालको मौलिक संस्कृतिलाई समृद्ध बनाउने कलाकार प्रकाश सपुत र शान्तिश्री परियारलाई हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछु । सरकारको सम्बन्धित निकायले उनीहरूलाई उच्च सम्मान गर्नुपर्नेमा सत्तारुढ दलकै भातृसंस्थामा आवद्ध कलाकार शम्भु राईले मेरो लय नक्कल गरेको भनी मुद्दा हालेछन् ।

हामीले ख्याल गर्नुपर्ने कुरा के भने लोकभाका भनेकै पूर्वजहरूले गाउँदै उनीहरूका अनुयायीले पछ्याउँदै पुस्तौंपुस्तासम्म जीवित राख्नु हो । एक दिन, एक पटक, एक कलाकारले कुनै एक समयमा गाएको, गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन । गाउँघर, रोदीघर, रत्यौली वा मेलापातमा जाँदा स्वतःस्फूर्त रुपमा गाउने भाका नै लोकभाका हो । यो भाका न नक्कल हुन्छ, न चोरी गरिन्छ ।

यद्यपि प्रकाश सपुतले गाएको उक्त भाका कसैसँग मेल खाँदैन । शम्भु राईसँग मेल खाने त कुरै भएन । तर, विडम्बना एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायांकनसमेत गरी प्रस्तुत गरेको गीतमा एक फरक भूगोल, फरक परिवेश, फरक शैली र फरक कालखण्डमा उस्तैउस्तै गीत मैले पनि गाएको थिएँ । नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय बन्नु पर्ने हो ।

तर, उल्टै शम्भु राई र उनका मतियारहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावका दृष्टिले अति नीच गालीगलौज गर्ने र उनलाई हतोत्साही बनाउन निरन्तर लागि परेको देखिन्छ । त्यतिमात्रै होइन, संविधान, कानून र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरूमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानून, जातीय छुवाछुट तथा कसूर सजायँ ऐन र संविधानको धारा २४ अन्तर्गत उनीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दछु ।

यो पनि पढ्नुहोस प्रकाश सपुतविरुद्ध शम्भु राइले मुद्दा हाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment