Comments Add Comment

प्रधानमन्त्रीको सूचना प्रणालीमै खोट !

९ असार, काठमाडौं । विश्वेश्वरप्रसाद (वीपी) कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभन्दा पहिला नै उनका दाजु मातृकाप्रसाद प्रधानमन्त्री बनिसकेका थिए । मातृकाप्रसाद कोइराला राणा शासनको अन्त्यपछि विसं २००८ र २०१० सालमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि वीपी पूर्वप्रधानमन्त्रीसमेत रहेका दाजु मातृकाप्रसादसँग राजकाज सञ्चालनसम्बन्धी सल्लाह लिन गएछन् ।

‘अरु सबैले ल्याएको सूचनामा विश्वास गर्नू तर जासुसी निकायले दिएको सूचनामा कहिल्यै भर नपर्नू’ अनुभवी मातृकाप्रसादले वीपीलाई यस्तो सल्लाह दिँदै भनेछन्, ‘किनभने उनीहरूले तिमी जस्तो सुन्न चाहन्छौं, त्यस्तै सूचना मात्रै तिमीलाई दिन्छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना, चिनीको मूल्य निर्धारण जस्ता विषयमा आफूलाई गलत ‘ब्रिफिङ’ भएको बताएका छन् । गलत सूचना पुगेको हो कि सूचनादाताले प्रधानमन्त्रीलाई जे मनपर्छ त्यस्तो सूचना मात्रै दिएका हुन् ? पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भनेजस्तै ओलीलाई मन नपर्ने सूचना उनीकहाँ नलगिएको पो हो कि ?

दोस्रो पटक प्रधानमन्त्री बनेपछि ओलीले राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर–सरकारी संस्थाको मापदण्ड तोक्ने र अनुगमन गर्ने जिम्मेवारी आफू मातहत लगे । झण्डै दुईतिहाइको सरकारको नेतृत्व गरेका ओलीले ‘फस्ट ह्यान्ड’ सूचना पाएपछि विश्लेषण गर्न सजिलो हुन्छ भनेर महत्वपूर्ण निकाय आफू मातहत लगेपछि नै आफू कहाँ सही सूचना नआइपुगेको भनेर गुनासो गर्न थालेका हुन् ।

मेलम्ची आयोजनाका प्रमुख ठेकेदार कम्पनी सीएमसीसँग सरकारले सम्झौता रद्द गरेको सात महिनापछि आएर बल्ल प्रधानमन्त्रीले आफूलाई सचिव गजेन्द्र ठाकुरले गलत ‘ब्रिफिङ’ गरेको खुलासा गरे ।

सचिवले सही सूचना दिएनन् भन्नुको अर्थ प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयको सूचना मन्त्रीसँग होइन, सचिवसँग लिँदा रहेछन् भन्ने पनि हो । जबकि मन्त्रालयमा के भइरहेको छ भन्ने जानकारी लिने सबैभन्दा नजिकको व्यक्ति आफ्नै मन्त्रिपरिषदका सदस्य हुन् ।

प्रधानमन्त्रीमाथि मन्त्रीभन्दा सचिवलाई विश्वास गरेको आरोप पनि लाग्ने गरेको छ । गृह सचिव प्रेमकुमार राई, वन तथा वातावरण सचिव विश्वनाथ ओली, उर्जा सचिव दिनेशकुमार घिमिरे, स्वास्थ्य सचिव रामप्रसाद थपलिया लगायतका कतिपय सचिवहरूलाई आवश्यकता भन्दा बढी विश्वास गर्ने गरेको मन्त्रीहरूको भनाइ छ ।

कर्मचारीको च्यानल प्रयोग गर्दा प्रधानमन्त्रीकहाँ यथार्थ सूचना नपुगेको सत्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै कतिपय नेताहरूको बुझाइ छ । नेकपा नेता सुरेन्द्र पाण्डेले केही महिना पहिले अनलाइनखबरसँग यस्तो भनेका थिए:

आन्दोलनबाट गुज्रिएर आएका मान्छेले तँपाईको यो कमजोरी छ भनीरहेको हुन्छ । तर कर्मचारीहरूले हजुरको यो कमजोरी रैछ भनेर भन्छ र ? भन्दैन नी । हजुर त महान मान्छे रैछ भनेर आफ्नो किसिमको काम लिन्छ । त्यसबेलामा सत्तामा पुग्ने मान्छेमा एउटा भ्रम उत्पन्न हुन्छ । मेरो पार्टीका मान्छे मलाई गाली मात्रै गर्छन् । यि मेरा मित्र हैन रैछन् । कर्मचारी चाहिँ जहिल्यै पनि मेरो पक्ष पोषण गरिरहन्छ । यो पो मेरो मित्र रहेछ भन्ने पर्छ र उसमाथि निर्भर हुँदा आफ्नो टेक्ने खुट्टा भाँचिन्छ । त्यसैले सत्तामा पुग्दा धेरै नै होस गर्नुपर्छ ।

आलोचनात्मक सल्लाह दिनेहरू प्रधानमन्त्रीको सल्लाहकार टीममा अटेका छैनन् । अर्कोतिर साँच्चै सल्लाह दिने हैसियतका समकक्षीहरूको सल्लाह पनि प्रधानमन्त्रीले वीरलै लिने गरेको जानकारहरू बताउँछन् । लिनैपर्ने व्यक्तिको सल्लाह नलिँदा स्वार्थ समूह हावी हुन सक्ने त छँदैछ ।

अर्कोतिर प्रधानमन्त्रीलाई भेटेर फर्कनेहरूको अनुभवमा उनी सानोभन्दा सानो विषय पनि ओलीको जानकारीमा हुन्छ । विभिन्न अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्ति सुन्दा पनि प्रधानमन्त्री ओलीलाई चासो र जानकारी नभएको विषय कमै भएजस्तो लाग्छ । हरेक दिन प्रायः सबै सञ्चार माध्यमका समाचार पढ्ने/हेर्ने गरेको उनी आफैँले बताउने गरेका छन् ।

नेपाल सरकार (कार्यविभाजन) नियमावली अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख काम कार्य नीतिनिर्माण, अनुगमन र समन्वयकारी भूमिका खेल्नु हो । त्यसले गर्दा प्रधानमन्त्रीलाई प्राविधिक विषयको जानकारी हुनुपर्छ भन्ने होइन ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको राजनीतिक सल्लाहकार रहीसकेका विश्लेषक हरि शर्मा भने प्रधानमन्त्रीसँग पर्याप्त सूचना नभएको मान्न तयार छैनन् । ‘प्रधानमन्त्रीज्यूलाई प्राविधिक विषयको विस्तृत जानकारी चाहिने होइन’ उनी भन्छन् ‘सूचना प्रविधिको युगमा उहाँले आवश्यक सूचना पाइरहनुभएको छैन भन्ने लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment