Comments Add Comment

डेनमार्कमा कांग्रेसको भेला : कति सफल, कति असफल ?

असन्तुष्ट नेता भन्छन्– कम्युनिस्टलाई भित्र्याउनुपर्ने, हामीलाई बाहिरै राखियो

१० असार, बार्सिलोना । डेनमार्कको कोपनहेगनमा नेपाली कांग्रेसको तीनदिने प्रशिक्षण भेला सकिएको छ । कोपहेगनको भेस्टरपोर्टमा अवस्थित रिचमण्ड होटलमा तीन दिनसम्म चलेको भेलामा विश्वभरबाट २४ जनसम्पर्क समितिका २ सय बढी प्रतिनिधिले भाग लिएका थिए ।

पार्टीको केन्द्रिय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको थियो । डेनमार्कमा हुने प्रशिक्षण कार्यक्रममा कांग्रेसका एक दर्जन नेताहरु सहभागी बनेका थिए ।

भेलामा पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका साथै कांग्रेस नेताहरु डा.रामशरण महत, डा.मिनेन्द्र रिजाल, भीष्मराज आङ्गदम्बे, धनराज गुरुङ र गोविन्द भट्टराई लगायतका नेताहरुले सहभागिता जनाउनुका साथै प्रशिक्षणसमेत दिए ।

भेलामा विज्ञ तथा पूर्वसांसदहरुले पनि सहभागिता जनाउँदै स्क्याडिनेभियन क्षेत्रको प्रजातान्त्रिक समाजवादबारे जानकारी गराए । सहभागीहरुवीच प्यानल बनाएर नेपाली विज्ञहरुले विभिन्न विषयमा छलफल गर्दै नेपालका सन्दर्भका विषयमा प्रस्तुतिहरु समेत राखे । यी दुई विषयबस्तुलाई जोडेर कांग्रेसले विश्वस्तरमा गरेको प्रशिक्षण कार्यक्रमलाई सफल ठानिएको केही प्रतिनिधिहरुले टिप्पणी गरेका छन् ।

तर, अर्कोतर्फ नेपालबाट सहभागी बनेका नेताहरुले लामो भाषण गरेको र कम्युनिष्ट सरकारको तिब्र आलोचना बाहेक सिन्को नभाँचेनन् भन्नेहरुको संख्यामा पनि खासै कमी छैन ।

लोकतान्त्रिक गणतन्त्रप्रति कम्युनिस्टहरुलाई विश्वास नभएको कांग्रेस नेताहरुको आरोप थियो । कम्युनिष्टहरुले मुलुकलाई जनवादी गणतन्त्रतर्फ डोर्‍याएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उनीहरुको ठहर थियो । कांग्रेस नेताहरुले वर्तमान सरकारलाई संघीयता विरोधी सरकारको संज्ञासमेत दिए । सरकारले संसदमा पेश गरेका विधेयकहरु संघीयताविरोधी रहेको उनीहरुले बताए ।

अर्कोतर्फ कार्यक्रममा कांग्रेसमा मौलाएको गुटउपगुटको पनि चर्चा चल्यो । आफ्नै अन्तरघातका कारण कांग्रेसले चुनावमा ठूलो नोक्सानी ब्यहोरेको केन्द्रीय नेताहरुले स्वीकार गरे । तर, यसो भनिरहँदा सोही प्रशिक्षण कार्यक्रममा समेत आन्तरिक विवाद देखियो । त्यो विवादकै कारण ७ वटा देशका जनसम्पर्क समितिका सभापतिहरुले कार्यक्रममा उपस्थिति जनाउन नसकेको असन्तुष्ट पक्षको भनाइ छ ।

आखिर डेनमार्कमा सम्पन्न कांग्रेसको प्रशिक्षण भेला सफल भयो कि असफल ? यसबारे अनलाइनखबरका युरोप संयोजक बसन्त रानाभाटले केही केन्द्रीय नेताहरुदेखि भेलामा सहभागी प्रतिनिधिहरु र निमन्त्रणाको प्रक्रियाबारे असन्तुष्टि जनाउँदै कार्यक्रममा सहभागी नबनेका महाधिवेशन प्रतिनिधिहरुसँग समेत प्रतिक्रिया लिएका छन् ।

एउटामात्रै थरमा निम्तो आयो भनेर असन्तुष्ट हुनुपर्ने कारण छैन
पुरुषोत्तम दाहाल, कार्यकारी निर्देशक, नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पहिलो कुरा त यो भेला होइन पूर्णरुपमा प्रशिक्षणसँग जोडिएको विषय हो । र, यो बढी अन्तरक्रियात्मक प्रशिक्षण हो । यसमा हामीले १६ वटा विषयवस्तुहरुमा छलफल गर्‍यौं । नेपाली कांग्रेसले अहिलेसम्म, विश्वस्तरीय कुनै पनि प्रशिक्षण गरेको थिएन । पहिलो पटक डेनमार्कमा सम्पन्न भयो, जहाँ २४ देशबाट २ सयभन्दा बढी सहभागीहरु उपस्थित हुनुभयो । नेपाली कांग्रेसका कतिपय सन्दर्भमा सूचना अलिकति गलत भएर साथीहरुलाई कन्फ्युजन भइरहेको अवस्था थियो । त्यसबारे सम्पूर्ण प्रतिनिधिहरुलाई स्पष्ट हुने अवसर मिल्यो ।

दोस्रो कुरा, विभिन्न देशहरुसँग जोडिएका जनसम्पर्क समितिहरुबीच एउटा समन्वय समाज स्थापना भयो । नेपालभन्दा बाहिर रहनुभएका लोकतन्त्रमा विश्वास गर्ने साथीहरुले लोकतन्त्रको सुदृढीकरणका साथै पार्टीलाई बलियो बनाउने कुरामा जोड दिनुभयो ।

तेस्रो कुरा, नेपालको समग्र विकास, खास गरेर लगानी प्रवद्र्धनका विषयहरुमा होस् वा सामाजिक क्षेत्रहरुमा कसरी समावेश हुने लगायतका महत्वपूर्ण विषयहरुमा साथीहरु केन्द्रित हुनुभयो । मलाई लाग्छ, त्यो ठूलो उपलब्धि हो ।

डेनमार्कजस्तो विकसित मुलुकका प्रतिष्ठित ब्यक्तिहरु पूर्वसांसदहरु, बिज्ञहरु समेत कार्यक्रममा सहभागी हुनुभयो । ग्लोबल वार्मिङबारे आफ्नो विचार राख्नुभयो । युरोपमा खासगरेर कस्तो किसिमको सोशल डेमोक्रेसी चलिराखेको छ । अर्थात् डेमोक्रेटिक सोसलिज्म भनेर काठमाडौंमा जुन ढंगको व्याख्या गर्छौं, पुस्तकमा पढेर परिभाषा गर्छौं, यथार्थ यी देशहरुमा के छ भनेर कम्तिमा हामीले जानकारी लिने मौका पायांै ।

डेनमार्कका सांसदहरु तथा विज्ञहरुले यसबारेमा सुसुचित गर्नुभयो । नेपालका अहिलेका नयाँ पुस्ताका बैज्ञानिकहरुले खासगरेर कृषि विज्ञानको कुरा स्वास्थ्य विज्ञानको कुरा, शिक्षा, सडक यातायात, विकासको कुरामा यहाँ आएर विज्ञता हासिल गरेका छन्, उहाँहरुका अनुभव पनि सुन्यौं ।

नेपालको सन्दर्भमा के खाँचो छ भन्ने उहाँहरुको प्रस्तुति अत्यन्त महत्वपूर्ण रह्यो । ‘साइनटिफिक प्यानल’ भनेर डेनमार्कको जनसम्पर्क समितिले तय गरेका ९ वटा विषयहरुको प्रस्तुति प्राज्ञिक हिसावले नेपालका सन्दर्भमा महत्वपूर्ण थिए । त्यसकारण पनि यो प्रशिक्षण कार्यक्रम पूर्णरुपमा सफल बन्यो ।

जहाँसम्म महाधिवेशन प्रतिनिधिहरु असन्तुष्टि जनाउँदै सहभागी बनेनन् भन्ने प्रश्न छ, विवादबारे निर्णय प्रतिष्ठानले गर्ने होइन । विवाद समाधान गर्ने पनि यसको सीमा होइन। प्रतिष्ठानले प्रशिक्षणको काम गर्छ र प्रशिक्षणका लागि हामीले सबैलाई निम्ता दिएका थियौं । बेल्जियमसहित सबैलाई निम्ता दिएकै हौं ।

व्यक्तिगत रुपमा नै महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जनसम्पर्कसमितिका पूर्व पदाधिकारीहरु सबैलाई चिट्ठी लेखेका थियौं । अब उहाँहरुले मेरो थरको पछाडि (कसैको दुईवटा थर हुन्छ नि) महिला दिदीबहिनीहरुको बिहे गरेपछि दुईवटा थर राख्ने चलन छ । अनि एउटा मात्रै थरमा निम्ता आयो भनेर त्यसमा असन्तुष्टि गर्नुपर्ने कुनै कारण नै छैन । किनकि उहाँहरुलाई एड्रेस गरिएको हो नि । महाधिवेशन प्रतिनिधिका रुपमा उहाँहरुलाई निम्ता गरिसकेपछि उहाँले मेरो फलानो हैसियतमा पनि निमन्त्रणा आउनुपर्छ भनेर दुईवटा हैसियत खोज्नु कत्तिको जायज छ ? निम्ता गरेका हौं, को आउनुहुन्छ, को आउनुहुँदैन भन्ने होइन । समानरुपमा निम्ता गरिसकेपछि संस्थागत कुनै विवाद छन् भने त्यो अर्कै पाटो हो ।

त्यो नेपाली कांग्रेसको संगठनसँग जोडिएको विषयवस्तु हो । हामी यस विषयमा पर्दैनौं । कहाँ विवाद छन्, कहाँ असन्तुष्टि छन्, त्योसँग प्रशिक्षण प्रतिष्ठान सम्वद्व रहँदैन । उहाँहरुले यति कुरा बुझिदिनुभएको भए मलाई लाग्छ, सहज हुन्थ्यो । धेरैजना भएको ठाउँमा एक दुईजना आउनुभएन, उहाँहरुका आफ्नै कुराहरु हुन्छन् । त्यसलाई मिडियाहरुले ठूलो विषय बनाइदिन्छौं ।  ठूला ठूला पार्टीका महाधिवेशन हुन्छन्, कतिजना सहभागी हुन्छन्, कति हुँदैनन् । अब त्यो सहभागी नभएका मान्छेहरुको बीचमा बहस चलाएर हुन्छ र ? हुँदैन नि । त्यसको रिजल्ट के भइरहेको छ, त्यसलाई महत्व दिनुपर्छ भन्ने मलाई लाग्छ । मूलरुपमा हाम्रो काम कुन ठाउँमा विवाद छ भन्ने होइन। प्रतिष्ठानको आफ्नै सीमा छ । हामी अत्यन्तै सफल भएका छौं ।

कम्युनिस्टलाई भित्र्याउनुपर्ने, हामीलाई बाहिर बनाइयो
सीता सापकोटा, महासमिति सदस्य, बेल्जियम

प्रशिक्षण कार्यक्रम गर्नु पार्टीका विभिन्न गतिविधिहरु बढाउनु राम्रो कुरा हो । डेनमार्कमा कार्यक्रम हुँदैगर्दा हामी पनि खुशी थियौं । उत्साहित थियांै । चाहे प्रतिष्ठानको कार्यक्रम होस् वा भातृसंगठनका कार्यक्रमहरु हुन्, विधि विधान र पद्दतिले चल्ने कुरा हो ।

विश्वमा आज ३२ देशमा कांग्रेसका जनसम्पर्क समितिहरु छन् । १४ वटा देशका जनसम्पर्क समितिहरु डेट एक्सपायर भइसकेका छन् । जनसम्पर्क समिति अमेरिकाको डेट एक्सपायर भएको ३ बर्ष भइसक्यो । तर, विवाद छैन भन्दै निमन्त्रणा गरियो ।

जनसम्पर्क समिति बेल्जियमको विद्यमान विधानअनुसार मार्च ५ तारिखभित्र अधिवेशन गर्नुपर्ने थियो । विधानमा ६ महिना थप्न सक्ने प्रावधान पनि छ । त्यो ६ महिना नथप्दै पनि अधिवेशन गर्न चाहान्छौं भन्दै केन्द्रलाई ४ पटकसम्म पत्राचार गर्दा पनि प्रतिनिधि पठाउनुभएन । संगठन मिलाउन भन्दै केन्द्रीय आमन्त्रित सदस्य किरण पौडल आउनुभयो । बेल्जियमको एउटा होटलमा बस्नुभयो, जहाँ सभापतिसँग सम्पर्क भएन । निर्वाचित समितिसँग कुनै पनि सरसल्लाह नगरिकन विद्रोही कमिटी खोलेर बसेका साथीहरुसँग मात्रै सम्पर्क अगाडि बढाउनुभयो । एकघण्टा पनि निर्वाचित समितिलाई समय दिनुभएन । नेपाल उड्ने दिनमा मलाई हटाएको म्यासेज गर्नुभयो ।
केन्द्रको महामन्त्रीको उपस्थितिमा भएको निर्वाचित समितिलाई केन्द्रीय आमन्त्रित सदस्यले फाल्न मिल्दैन भन्दै त्यसको प्रतिकार गर्न म केन्द्रमा गएँ । त्यसपछि महामन्त्रीका नामबाट परिपत्र हुँदै विधानतः बेल्जियमको सभापति सीता सापकोटा नै हो, तपाई आफ्नो काम कारवाही अगाडि बढाउनुहोला भन्ने परिपत्र पनि भयो । त्यहीअनुसार नै म अघि बढें ।

र, डेनमार्कको कार्यक्रमको कुरा आयो । नीति प्रतिष्ठानबाट पुरुषोत्तम दाइले कसैलाई आग्रह, पूर्वाग्रह राखेर छुट्याउनुभएको छैन । उहाँले पहिले एउटा परिपत्र गर्नुभएको थियो । विश्वभरका जनसम्पर्क समिति र त्यहाँका साथीहरु उपस्थित हुनुहोला भनेर परिपत्र गर्नुभएको थियो । त्यो पत्रले हामीलाई पनि समेटेको थियो । जाने तयारीमा नै थियौं । तर, प्रतिष्ठानको संयोजक उपसभापति विमलेन्द्र निधि हुनुहुन्छ । पछि पुन उहाँकै निर्देशनमा कार्यालय सचिवले जनसम्पर्क समिति बेल्जियम, स्वीडेन, लक्जम्बर्ग, जापान, क्यानाडा र अष्ट्रेलिया यी ६/७ वटा देशहरुलाई छुटाउनुभयो । हामीलाई महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिमात्रै भनेर पत्राचार गरियो । तर, अन्य देशका समितिहरुलाई भने सभापतिका नाममा पत्राचार भयो ।

ठीक छ, यदि विवादकै घेराबाट हेर्ने हो भने सबैभन्दा बढी विवाद त अमेरिकामा थियो नि । किन अमेरिकालाई पत्र काटियो ? किन बेल्जियमलाई पत्र काटिएन ? चार जना बाहिर निस्किएर यो समितिलाई मान्दैनांै, हामी नै आधिकारिक हौं भन्दै निर्वाचित समितिलाई हटाउन मिल्छ ? त्यसोभए पार्टीको विधि विधान, प्रक्रिया पद्दति किन चाहियो त ? हाम्रो लडाइँ पद्दतिका लागि हो । पद्दतिमा मिलाएर लैजान सक्नुभएन ।

मैले स्पष्ट भन्नैपर्ने हुन्छ । नियतवश पूर्वाग्रही भावनाले जनसम्पर्क समिति बेल्जियमलाई नबोलाइएकै हो । यो निर्देशन उपसभापति विमलेन्द्र निधीकै हो । म अन्य, अरु कुनै नेताहरुलाई दोष दिन्न ।

हामीले कार्यक्रमलाई बहिष्कार पनि गरेका छैनौं । हामीले टीका टिप्पणी कहीँकतै गरेका पनि छैनौं । उपसभापतिजस्तो त्यो हाइटको नेताले, प्रतिष्ठानको संयोजकले हामीलाई किन पूर्वाग्रही आँखाले हेर्नुभयो ? बेल्जियममा निर्वाचित समिति छ । निर्वाचित समितिलाई पत्राचार नभएसम्म सीता सापकोटालाई मात्र पत्राचार भएको हो र ? यहाँ २० वटा पत्र आएका छन् । उहाँका नजिकका साथीहरुले जो–जोलाई पत्र काट्ने भन्नुभएको छ, उहाँको निर्देशनमा २० वटा पत्र आएका छन् । यो त बेथिति भयो नि । एउटा सीमाक्षेत्र हुन्छ नि । महासमितिलाई मात्र बोलाउने कि ? महाधिवेशन प्रतिनिधिहरु मात्रै बोलाउने कि ? सभापतिहरुलाई मात्रै बोलाउने कि ? वा निर्वाचित सबै समिति नै आऊ भन्ने कि ? पहिले एउटा पत्र आयो । त्यसले सबैलाई समेटेको थियो । तर, पछिल्लो पत्र एकदमै पूर्वाग्रही ढंगबाट आएको हुनाले संस्थागत निमन्त्रणा आए सबै जाने, नभए नजाने निर्णय हामीले गर्‍यौं ।

अर्को कुरा, प्रतिष्ठानले दिने प्रशिक्षण कार्यक्रम कि त नेपालमा नै दिनुपथ्र्याे नि । संसारभरका नेपालीहरु त्यहाँ जान सकिन्थ्यो । आज खाडी मुलुकका साथीहरु चाहेर पनि डेनमार्क आउन सक्नुभएन । अमेरिका, अष्ट्रेलिया जापान कोरियाबाट कोही पनि आउनुभएन । ३२ वटा देशका सभापतिहरु मध्ये ११/१२ वटा देशका सभापतिहरुको मात्रै उपस्थिति रह्यो ।

केन्द्रीय नेताहरु सबैलाई म सम्मान गर्न चाहन्छु । उहाँहरु सबैको आशा थियो, हामीहरु सबै आउँछौं । सबैलाई बोलाइएको छ भन्ने ठान्नुभएको थियो । तर, केही नेताहरु आफैंमा पनि भ्रममा पर्नुभएको रहेछ । केही समितिहरुलाई छुटाइयो भन्ने विषयमा उहाँहरु आफैं पनि सन्तुष्ट हुनुहुन्न ।

म पार्टीको सिपाही हो । न म हिजो कतै थिएँ, न भोलि कतै जान सक्छु । म यही पार्टीको झन्डामुनि मर्ने हो । तर, मेरो आग्रह के छ भने आज कम्युनिष्टहरुलाई पार्टीमा भित्र्याएर प्रशिक्षण दिनुपर्ने ठाउँमा आफ्नै साथीहरुलाई तिमीहरु नआऊ है भनेजस्तो भयो ।

सातवटा देशका सभापतिहरुलाई नबोलाउनु भनेको तिमीहरु नआउ है, प्रशिक्षण दिन्नाैँ भनिएको हो नि । एउटा साथीले भन्नुभएको थियो, एउटै कक्षामा गुरुले तिमी विद्यार्थी बाहिर निस्क । म यो-योलाई मात्रै पढाउँछु भनेर गुरुले विद्यार्थीमाथि भेदभाव देखाएजस्तो भयो ।

आज बेल्जियममा एक नेता आउनुभएको छ, हामीले स्वागत गर्‍यौं । हामीले गर्ने कार्यक्रम अवैध भनेर लेख्नुभएको छ । अब उहाँहरुले के प्रशिक्षण दिनुभयो र के ग्रहण गरेर आउनुभयो त ? यस्ता गतिविधिले पार्टीलाई कहीँ पनि पुर्‍याउनेवाला छैन । डम्फु बजाएर मैले यति भिड जम्मा गरें, यतिका अगाडि म बोलें भनेर आत्मसन्तुष्टि लिने कुरा मात्र हो । साँच्चिकै पाउनुपर्ने प्रशिक्षण पाएजस्तो मलाई लाग्दैन ।

डेनमार्कवासी नेपालीहरु अत्यन्तै खुशी छौं
वीरेन्द्रसिंह कार्की, सभापति, नेपाली जनसम्पर्क समिति डेनमार्क

सबैभन्दा मुख्य कुरा त मान्छे आफैमा पूर्ण हुँदैन । त्यस्तै संस्थाहरुले गरेका काममा पनि एकदमै राम्रो शत प्रतिशत सफल भयो भन्न मिल्दैन । कामहरु गर्दै जाँदा कमी कमजोरीहरु हुन्छन् । तर, त्यताको पाटोलाई हेर्ने भन्दा पनि सहभागीहरु सबैलाई कसरी एक्टिभ रुपमा प्रस्तुत गर्न सक्यौं त ? यो महत्वपूर्ण हो । हामीले त्यसलाई बढी फोकस गरेका थियौं ।

विश्वभरबाट पाल्नुभएका प्रतिनिधिहरुमध्ये तीन दिनको सेसनमा करिव १०३ जना प्रतिनिधिहरुले केन्द्रीय नेताहरु माझ आफ्नो धारणा राख्ने मौका पाउनुभयो । मात्र ४२ दिनको तयारीमा केन्द्रबाट आउने नेताहरुको भिसा प्रक्रियादेखि लिएर होटल, खाना व्यवस्थापन सबै पक्षको व्यवस्थापन गर्न सफल भयौं ।

डेनमार्कबासी नेपालीले गौरव गर्नैपर्छ, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले समेत विदेशी भूमिमा ग्लोबल सम्मेलन गर्न नसकेको परिप्रेक्ष्यमा नेपाली जनसम्पर्क समिति डेनमार्कले सहजरुपमा कार्यक्रमको संयोजन गर्न सफल भयो । केन्द्रीय नेताहरुले समेत यसको प्रशंसा गर्नुभएको छ । साथै, विभिन्न देशका प्रतिनिधिहरुले पनि उच्च प्रंशसा गर्नुभएकाले हामी अत्यन्तै खुशी छौं ।

नेपालबाट प्रशिक्षण दिन आउनुभएका नेताहरुले समेत स्क्याडिनेभियन क्षेत्रमा भएको समाजवादको मोडेलबारे बुझ्ने अवसर पाउनुभएको छ । डेनमार्कमा सोसल डेमोक्रेट पार्टी कसरी निर्माण भएको छ त ? यसले डेमोक्रेटिक सोसलिज्मलाई कसरी व्यवहारिक रुपमा प्रयोग गरेको छ त ? यी विषयहरु निकै रोचक थिए ।

डायस्पोरामा रहेका नेपालीहरुलाई कसरी राष्ट्रको समृद्विसँग जोड्न सकिन्छ भन्ने बारेमा पनि हामीले गहन छलफल गर्‍यौं । यो असाध्यै उपलब्धिमुलक रह्यो ।

जनसम्पर्क समितिका साथीहरुलाई दिशानिर्देश भयो
किरण पौडेल,आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस
अत्यन्त राम्रो कार्यक्रम भयो । यसले विदेशस्थित जनसम्पर्क समितिका साथीहरुलाई दिशानिर्देश गरेको छ । पार्टीको विधान, पार्टीको सिद्वान्त यी सबै कुराहरुका बारेमा राम्रो जानकारी दिने काम भएको छ । तीनदिने प्रशिक्षण कार्यक्रमले सबैलाई उत्साहित पनि बनायो ।

संगठन विस्तारका कुराहरु उठे । कांग्रेस अहिले प्रतिपक्षमा रहेको अवस्था हो । कसरी बढी संगठित हुने, कसरी अझ पार्टीमा प्रवेश गराउने, अझ हाम्रो सिद्वान्तलाई बढी ब्यापक बनाएर आगामी निर्वाचनलाई आफ्नो पोल्टामा कसरी ल्याउने भन्ने कुरा नै मुख्यरुपमा केन्द्रित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment