Comments Add Comment

हेटौंडा उपमहानगरले ल्यायो १ अर्ब ८१ करोडको बजेट

१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६/७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पाचौं नगरसभामा उपमेयर मिना लामाले नीति तथा बजेट प्रस्तुत गर्दै आर्थिक बर्षको लागि १ अर्ब ८१ करोड १८ लाख रुपैंयाको बजेट प्रस्तुत गरेकी छन् ।

प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजश्व बाँडफाँटबाट ४५ करोड ८४ लाख ९ हजार, प्रदेश सरकार अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार, संघीय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख र गत बर्षको मौज्दातबाट १० करोड रुपैयाँ जुटाइने उपमेयर लामाले बताइन् ।

बजेटमा पूर्वाधार विकासतर्फ ९७ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै नगरको आर्थिक विकासतर्फ ७ करोड ३५ लाख, सामाजिक विकासतर्फ ६० करोड ५५ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ८ करोड, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६ करोड रुपैंया छुट्याएको छ । तलब, भत्तालगायत अन्य प्रशासनिक खर्चको लागि १९ करोड १४ लाख ४०हजार रुपैंया छुट्याइएको उपमेयर लामाले बताइन् ।

उपमहानगरपालिकाले बजेटमार्फत हेटौंडा १० बसपार्कमा बस टर्मिनल निर्माणको लागि ३ करोड रुपैयाँ छुट्याएको छ । यस्तै बसपार्कलाई व्यवस्थित गर्न २ करोड, कर्रा कोरिडोर निर्माणको लागि २ करोड, संघीय र प्रदेश सरकारको सहयोगमा बृहत्तर चक्रपथ निर्माणको लागि २ करोड रुपैयाँ छुट्याएको उपमेयर लामाले जानकारी दिइन् ।

यस्तै हेटौंडा ८ स्थित चन्द्रोदय माविमा प्याराफिट सहितको खेलकुद प्रशिक्षण केन्द्र निर्माणको लागि १ करोड रुपैयाँ छुट्याएको छ । नगरका युवाहरुलाई आत्मनिर्भर बनाउन ‘मेयर नमूना युवा वडा कार्यक्रम’को लागि ४० लाख रुपैंया विनियोजन गरेको छ । प्रदेश सरकारको सहयोगमा आधुनिक कृषि थोक बजार केन्द्र निर्माणको लागि १ करोड रुपैयाँ छुट्याएको छ ।

उपमहानगरपालिकाले प्रदेश सरकारको सहयोगमा सुविधासम्पन्न बधशाला प्रयोगमा ल्याउने, एक वडा : एक खेलमैदान, एक बाल उद्यान, एक जिम क्लब र एक योग साधना केन्द्र कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

महिला उद्यम विकासको लागि ग्रामीण महिला स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । बजारमा छरिएर रहेका वर्कसपहरुलाई एकत्रित बनाई आवश्यक पूर्वाधार सहितको सुविधायुक्त अटो भिलेज निर्माण गर्ने योजना बनाएको उपमहानगरपालिका मेयर हरिबहादुर महतले जानकारी दिए ।

नगरसभाको उद्घाटन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीनै तहको सरकारबीचको समन्वयबाट मात्र विकास सम्भव भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment