Comments Add Comment

कलैयाको नगरसभामा उपप्रमुखकै अवरोध

१० असार, वीरगञ्ज । उपप्रमुखसहित नगर कार्यपालिकाका सदस्यहरु विरोधमा उत्रिएपछि बाराको कलैया उपमहानगरपालिकाको चौथो नगरसभा मंगलबार बस्न सकेन ।

नगर सभा सदस्यहरुलाई जानकारी समेत नदिई ऐन कानुन विपरीत नगरसभा गर्न खोजिएको भन्दै उनीहरुले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।

नियम विपरीत नगर सभा गर्न पाइदैन, विना सूचना नगर सभा गर्न पाईदैन भन्दै उनीहरुले केहीबेर उपमहानगरपालिका कार्यालय भित्रै नाराबाजी गरेका थिए ।

नगरसभा सदस्यहरुले मंगलबार नगर सभा गर्ने भनिएको हलमा तालाबन्दीसमेत गरेका छन् । नगर प्रमुख राजेश राय यादव एकलौटी ढंगले नियम विपरीत चल्न खोजेपछि विरोध गर्नुपरेको एक जना वडा अध्यक्षले बताए । उनका अनुसार नीति कार्यक्रम र बजेट कार्यपालिका बोर्डले पारित नै नगरी नगरसभा बोलाइएको छ ।

पछिल्लो पटक असार ६ गते बसेको कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको थियो । त्यसपछि बैठक बसेको छैन । समस्या समाधानका लागि नगर प्रमुख यादव, उप प्रमुख खातुन, प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेलगायतका बीचमा समस्या समाधानका लागि छलफल भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत वेल्वासेले नगर सभा शुरु गर्नका लागि छलफल चलिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment