Comments Add Comment

भरतपुर महानगरको बजेट तीन अर्ब ३७ करोड

१० असार, चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महागनरको चौथो नगरसभामा उपमेयर पार्वती शाह ठकुरीले बजेट प्रस्तुत गरेकी हुन् । बजेटको स्रोतका रुपमा अन्तरसरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आयबाट ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ४२ करोड ५५ लाख ४६ हजार, सरकारबाट प्रदान गरिने राजस्व बाँडफाँटबाट वापत ५३ करोड २५ लाख ७१ हजार, अन्यबाट एक करोड ५० लाख, जनसहभागिताबाट ३० करोड र बैंक मौज्दातबाट ३० करोड रुपैयाँ राखिएको छ ।

बजेटमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको मेयर रेनु दाहालले बताइन् । बजेटको ३५ प्रतिशत पूर्वाधार विकासमा छुट्याइएको छ भने उत्पादनशील क्षेत्रमा २२ प्रतिशत, शिक्षा र स्वास्थ्यमा २० प्रतिशत, वातावरण र सरसफाईमा १० प्रतिशत, कमजोर पक्षको सवलीकरणमा ५ प्रतिशत र युवा तथा खेलकुद र संस्थागत विकास तथा सुशासनमा ४÷४ प्रतिशत छुट्याइएको छ ।

वडालाई १ करोड १५ लाखदेखि १ करोड २५ लाखसम्म बजेट विनियोजन गरिएको छ । महागनरपालिकामा २९ वटा वडा छन् ।
महानगरपालिकाले चालु आर्थिक बर्षका लागि ३ अर्ब ७६ करोड ३ लाख ९४ हजारको बजेट ल्याएको थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले सामाजिक सुरक्षा भत्तावापत महानगरपालिकालाई आउने झण्डै ६० करोड रकम यसपटक बजेटमा समावेश नगरिएकाले गत वर्षभन्दा कम देखिएको हो ।

‘मन्त्रालयबाट यसलाई बजेटमा नराख्नु भनेकोले राखिएन’ सुवेदीले भने, ‘बजेटको आकार गत बर्षभन्दा कम देखिए पनि यथार्थमा बढेको छ ।’

गत बर्ष महानगरपालिकाले ५५ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । असार पहिलो सातासम्म ३६ करोड ८३ लाख रकम मात्रै उठाउन सकेको छ । घरजग्गा रजिष्ट्रेसनवापत २६ करोड ६६ लाख र जनसहभागीता लागतमा महानगरले ८३ करोड ५९ लाख रकम आम्दानी भएको जनाएको छ ।

नारायणीमा सी बिच, भरतपुरमा सिटी हल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चौथो नगरसभामा १९५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । भरतपुरलाई ‘मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ बनाउने दीर्घकालीन सोच राखिएको छ ।

भरतपुरलाई स्मार्ट र समृद्ध बनाउन महानगरभित्र गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, महानगरीय बहुउद्देश्यीय सभाहल एवम् व्यापारिक भवन, बहुतले प्रशासनिक भवन, नारायणी नदीमा सी बिच मोडलको विकास, अटोल्याण्ड, महानगरीय नमूना सडक जस्ता आयोजनाहरुलाई तीव्र गतिमा अघि बढाइने कार्यक्रममा उल्लेख छ ।

पूर्वाधार निर्माणलाई विशेष प्रथामिकता दिँदै नीति तथा कार्यक्रममा नारायणी नदीमा तटबन्ध सहितको रिङरोड, हुलाकी सडक, पुलचोकदेखि गोन्द्राङ्गसम्म हरियालीसहित ६ लेन सडक, वाइपास सडकको विस्तार गरिने उल्लेख छ ।

त्यस्तै केन्द्रीय बस टर्मिनलको स्तरोन्नति, नारायणी नदीमा सडक पुल लगायतको भौतिक पूर्वाधारका कामहरू केन्द्र एवम् प्रदेश सरकारको सम्न्वयमा अघि बढाइने योजना पनि समावेश गरिएको छ । नारायणी नदी कटान नियन्त्रण गर्न निजी क्षेत्रसँग साझेदारी गरी मानव निर्मित सामुद्रिक तट मोडलसहित मनोरञ्जन पार्क निर्माण प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उद्योगी व्यवसायी भन्छन् : नीति तथा कार्यक्रम राम्रो छ, समेट्ने क्षेत्र छुटेका छन्

भरतपुर महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटमाथि चितवनका व्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले महानगरको नीति तथा कार्यक्रम राम्रो भए पनि अझै कयौं विषयवस्तुहरु छुटेको बताए ।

सडकवत्तीको उचित व्यवस्थापन, सार्वजनिक शौचालय, पिउने पानी जस्ता आधारभूत विषयमा महानगरपालिका चुकेको बताए । उनले नारायणी नदी किनारको वैज्ञानिक व्यवस्थापनका लागि उद्योग बाणिज्य संघले पटकपटक पहल गरे पनि त्यसलाई वेवास्ता गरिएको भन्दै गुनासो गरे ।

नारायणगढ र भरतपुरको फुटपाथ व्यवस्थापनमा महानगरले विभेद गरेको उनको आरोप छ । यस्तै, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले नीति तथा कार्यक्रम र बजेट राम्रो भएको बताए ।

महानगर क्षेत्रमा उद्योग स्थापनाका लागि कयौन समस्या भएको भन्दै त्यसलाई सहजीकरण गर्ने दिशामा महानगरपालिकाले ध्यान दिनुपर्ने बताए । चितवनको शक्तिखोरमा निर्माण गरिने भनेको औद्योगिक क्षेत्रको कामलाई गति दिनुपर्ने उनले बताए ।

चितवनका व्यवसायी दिनेश चुकेले नीति तथा कार्यक्रम र बजेट भेगिय हिसाबले आएको टिप्पणी गरे । प्राथमिकतामा विषय नै तोकेर बजेटसहितको कार्यक्रम हुनपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment