Comments Add Comment

पप्पुले बनाएको टेकु पुलमा सवारी आवागमन बन्द

१० असार, काठमाडौं । पप्पु कन्स्ट्रक्सनले टेकुमा बनाएको नयाँ पुलमा सवारी आवागमन बन्द गरिएको छ । पुल गुणस्तरहीन भएको भन्दै यसलाई सञ्चालनमा ल्याउन नहुने माग पहिल्यैदेखि हुँदै आएको थियो ।

परामर्शदाताले सञ्चालनको लागि अयोग्य ठहर गरेको यो पुलमा झण्डै एक वर्ष सवारीसाधन निर्वाध रुपमा चललिरहे । अन्ततः सवारी दुर्घटनाको जोखिम हुन सक्ने भन्दै सरकारले बल्ल यो पुल बन्द गराएको छ ।

विभागले सञ्चालनमा रोक लगाए पनि ट्राफिक प्रहरीले कडाई नगर्दा जोखिमपूर्ण रुपमा यो पुलबाट सवारी गुड्ने गरेका थिए । अहिले प्रहरीले नै पुलको मुखमा ढुंगा राखेर सवारीको आवतजावत रोकको हो ।

हालसम्म निर्माण कम्पनीबाट यो पुल सरकारलाई हस्तान्तरण भएको छैन । पुलमा गम्भीर लापरवाही भेटिएपछि परामर्शदाताले नै भत्काउनु पर्ने रिपोर्ट बुझाएको छ । सडक विभागका प्रवक्ता शिवहरि सापकोटा परामर्शदाता कम्पनीको रिपोर्टअनुसार नै यो पुल विभागले आफ्नो जिम्मामा नलिएको बताउँछन् ।

‘पुलमा गम्भीर लापरवाही र त्रुटि भएको भनिएपछि यो पुल विभागले बुझ्न सक्ने अवस्था छैन,’ सापकोटाले भने ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ भने पुल नभत्काउने पक्षमा उभिएका छन् । उनले सडक विभागलाई टेकु पुललाई आवश्यक मर्मत गरेर सञ्चालन गर्न निर्देशन दिएका थिए ।

तर, विभागका अधिकारीहरु भने यो पुलमा फेरि रेट्रोफिट गरेर सञ्चालनयोग्य बनाउन नसकिने बताउँछन् । यो पुलमा स्पानबीचको अन्तर धेरै छ । यो प्रि–स्ट्रेस प्रविधिमा बनेको पुल भएकाले यसमा रेट्रोफिट गर्दा पनि जोखिम घटाउन गाह्रो हुने देखिएको छ ।

तर, मन्त्री महासेठले पुललाई बलियो बनाएर सञ्चालनको व्यवस्था गरिहाल्न विभागमाथि दबाव दिएका थिए । झण्डै २० करोड खर्च गरेर बनेका दुबै पुलमा विभिन्न प्राविधिक गल्ती भएका छन् । ६० मिटर लामो पुल बनिनसक्दै त्रुटि भेटिएपछि दिगो शहरी यातायात आयोजनाले पप्पुलाई भत्काउन निर्देशन दिएको थियो । आयोजनाको प्राविधिक परामर्शलाई अटेर गरी पुल जबरजस्ती आफ्नै किसिमबाट बनाएको छ ।

यो पुलको पक्की आधार संरचना (प्रि स्ट्रेस कंक्रिट ग्रिडर र केबलको ज्याकिङ)को निर्माण गुणस्तहीन भएको विभागको ठहर छ । आयोजनासँग परामर्श तथा सल्लाह नगरी पुलको डेक स्ल्याब निर्माण गरिएको छ ।

परामर्शदाता कम्पनीले यो पुल ढलानका क्रममा तारको ज्याकिङ नमिलेको रिपोर्ट नै दिएको छ । निर्माण सामग्रीहरुको ल्याब टेस्ट गरिएको छैन । पटक–पटक निर्देशन दिँदा पनि दुबै पुलको ढलान जानकारी नदिई रातारात गरिएको विभागका अधिकारीहरू बताउँछन् ।

पप्पु कन्सट्रक्सन अहिले पुल भत्काउन माग गर्दै मध्यस्थता परिषद् (डिस्प्युट बोर्ड) मा पुगेको छ । यो पुल निर्माणका लागि जुलाई २०१६ मा सकिने गरी जून २०१४ मा सम्झौता भएको थियो । समयमै काम नभएपछि डिसेम्बर २०१७ सम्म म्याद थपिएको थियो । तर, ढिला गरेको बनेको पुल पनि गुणस्तरीय नभएपछि बन्द गरेर राख्नुपर्ने अवस्था आएको छ ।

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment