Comments Add Comment

मनसुनमा घरको हेरचाह

मनसुन सुरु भएको छ । वर्षायाममा घरको सफाईदेखि सुरक्षासम्मका विविध उपाय अपनाउनुपर्छ । घरभित्र पानी पस्ने, जम्ने, बार्दली, बगैंचा वा घरको पेटीमा झार पलाउने, लेउ लाग्ने, पानी जम्न सक्छ । यसले घरको सौन्दर्य मात्र बिग्रदैन, झिंगा, लामखुट्टे, सर्प, मुसा घरभित्र पस्ने भय हुन्छ ।  दुर्घन्ध फैलने संभावना हुन्छ । कतिपय सामाग्रीहरु चिसो र पानीको बाछिटाले ओसिने हुनसक्छ । काठको घर वा फर्निचर बिग्रने हुन्छ ।

यस्तो बेला वर्षातको पानीबाट आफ्नो घरलाई कसरी जोगाउने भन्ने बारेमा थोरै ध्यान दिनु अनिवार्य । वर्षातको मौसममा आफ्नो घरलाई कसरी सुरक्षित बनाउने तथा आफ्नो घरको हेरचाह कसरी गर्ने ?

-सबैभन्दा पहिला घरका लागि वाटरप्रुफ रंगको छनोट गर्नु पर्छ । वाटरप्रुफ रंगलाई पानीले कुनै पनि प्रकारको हानी गर्न सक्दैन ।

-घरको छतमा आकाशबाट परेको पानी जमेर समस्या सिर्जना हुन सक्छ । त्यसरी जमेको पानीले छत नै चुहिने समस्या पैदा हुन सक्छ । त्यसकारण पनि घर बनाउने बेलामा नै घरको छतलाई रेन प्रुफ बनाउनु उचित हुन्छ ।

-सकेसम्म घरको छतमा पानी जम्न नै दिनु हुँदैन ।

-अहिले प्रायः सबै घरहरुमा विभिन्न ब्राण्डका टायल प्रयोग गरिन्छ । टायल लगाइ सकेपछि त्यसका सुरक्षामा पनि ध्यान दिनु पर्छ । टायल फुटेको छ भने तुरुन्त परिवर्तन गर्नु पर्छ, अन्यथा त्यत्री फुटेको टायलमा पानी जम्न थाल्छ ।

-भर्‍याङ, बरण्डा अथवा घरका अन्य खुला स्थानमा मार्बलको प्रयोग सामान्य झै भैसकेको छ । मार्बललाई नियमित सरसफाइ अनिवार्य हुन्छ, अन्यथा त्यसमा दाग लागेर हेर्नै नहुने हुन्छ । मार्बलमा पानी जम्न थाल्यो भने त्यसको रंग खुइलिएर झनै नराम्रो देखिन्छ ।

-झ्यालबाट पनि पानी घर भित्र छिर्न सक्छ, त्यसैले झ्यालमा कुनै पनि प्रकारको प्वाल छ भने त्यसलाई टाल्नु उपयुक्त हुन्छ ।

-घरको छत चुहिने समस्याबाट छुटकारा पाउनका लागि ह्वाइट सीट, कोलतार सीट, फिक्सिट अथवा चाइनिज मोजेकजस्ता विकल्पहरु प्रयोग गर्न सकिन्छ ।

-हरेक घरमा अर्थिङ गराउनु अनिवार्य झैं भैसकेको छ ।

-विजुलीको वायरिङ बेला-बेलामा परिक्ष्ँण गरिरहनु पर्दछ । बिजुलीको स्विच, प्लग, बटन, स्विच बोर्ड पनि बेला-बेलामा परिक्ष्ँण गरिरहनु पर्दछ । तीनमा समस्या आएमा तुरुन्त मर्मत गर्नु पर्छ ।

-घरको भित्तामा पानी रसाउने समस्या छ भने तुरुन्त त्यसलाई मर्मत गर्नु पर्छ ।

-फर्निचरको सरसफाइमा पनि उत्तिकै ध्यान दिनु पर्छ । त्यसका लागि बजारमा विभिन्न प्रकारका पदार्थहरु उपलब्ध छन् ।

-वर्षातको मौसममा घरमा कीरा-फट्याङ्ग्र्र्राको बिगबिगी नै हुन्छ । त्यसरी घरमा किरा-फट्याङ्ग्रा आउन थाले भने किटनाशक औषधी प्रयोग गर्न सकिन्छ ।

-वर्षातको मौसममा भान्सामा कीराहरु आउन थाले भने अवश्य पनि कुनै भित्तमा प्वाल परेको हुनुपर्छ । त्यस्तो अवस्थामा ती प्वालहरुलाई सिमेन्ट, चुना अथवा माटोले बन्द गरिदिनु पर्छ ।

-वर्षातको मौसममा साङ्लासहितका कीराले गुण बनाउन सक्छन् । त्यस्तो अवस्थामा किटनाशक औषधी प्रयोग गर्न सकिन्छ ।

-बैठक कोठा अथवा अन्य कोठामा राखिएका कार्पेटहरुलाई भिज्नबाट जोगाउनु पर्छ ।

-झरी परेको बेला कोठाको झ्यामा झुण्ड्याइएको पर्दा भिज्नबाट जोगाउनु पर्छ । पर्दा भिजेको खण्डमा दुर्गन्ध समेत फैलिने डर हुन्छ ।

-बेला-बेलामा घरका पर्दा, गलैंचा तथा ब्ल्याङ्केटहरुलाई घाम लागेको बेला सुकाउनुपर्छ ।

-बेड रुममा भएको दराज ओसिलो हुन सक्छ । यदि त्यस्तो भएमा कपूरको गोली प्रयोग गर्न सकिन्छ ।

-दराजमा धोएर सुकिसकेका कपडाहरु मात्र राख्नु पर्छ । नसुकेका कपडा दराजमा राखिएको भने नमिठो गन्ध फैलिन्छ ।

-झरी परेको बेला काठका फर्निचरमा समेत कीरा लाग्ने सम्भावना हुन्छ । त्यसका लागि पनि कपूरको गोली, ल्वाङ अथवा निमको पात प्रयोग गर्न सकिन्छ ।

-फर्निचरमा पानी पर्न दिनु हुँदैन । यदि काठका फर्निचरमा पानी परेमा ग्लिसिरिन अथवा मट्टीतेलको प्रयोग गर्न सकिन्छ ।

-पानी परेर यदि काठ फुलेको छ भने एसिटोन उपयोग गर्न सकिन्छ ।

-पानीले भिजेका काठका सामग्री तथा फर्निचर पुछ्नका लागि सुख्खा कपडामात्र प्रयोग गर्नुपर्छ ।

-जुत्ता-चप्पल राख्ने र्‍याकमा थोरै वाटको बिजलीको बल्व प्रयोग गर्नु पर्छ । त्यसले भिजेका जुत्ता-चप्पललाई सुख्खा बनाउन सहयोग गर्नेछ ।

-भिजेका जुत्तँ-चप्पल प्रयोग गर्दा आफैंलाई संक्रमण हुने खतरा हुन्छ ।

-सोफाको खोल यदि छालाको छ भने त्यसलाई पनि प्रत्येक साता सुख्खा कपडाले सफा गर्नु पर्छ । सोफाको खोललाई चम्किलो बनाउनका लागि मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । कपासमा थोरै मोइस्चराइजर हाली सोफाको खोल पुछ्दा सफा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment