Comments Add Comment

कांग्रेस वडाध्यक्षले च्याते पोखरा महानगरपालिकाको रेडबुक

११ असार, पोखरा । पोखरा महानगरपालिकाको वार्षिक बजेट विवरण (रेडबुक) कांग्रेस निकट वडाध्यक्षहरुले च्यातेका छन् । बुधबार नगरसभाको चौथो दिन आएको रेडबुकमा उनीहरुले असहमति जनाउँदै च्यातेका हुन् ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको पोखरा ९ वडाध्यक्ष रामराज लामिछानेले आरोप लगाए । ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका थियौं । ३ बजेमात्रै रेडबुक आयो । त्यसमा पनि हामीलाई बोल्ने मौकै दिइएन,’ उनले भने, ‘बजेट पनि समान रुपमा वितरण भएको छैन ।’

पहिले रेडबुक अध्ययन गर्न माग्दा मेयर मानबहादुर जिसीले ‘आउँछ, आउँछ’ भनेर टारेको तर पछि ३ बजे रेडबुक बाँडेर समय नै नदिई जबर्जस्ती पारित गरिएको लामिछानेले आरोप लगाए । ‘रेडबुक नै ढिलो आयो । ढिलो आएको रेडबुकको छलफलका लागि समय दिनुपथ्र्यो,’ उनले भने, ‘पछि बोल्ने भनेर बोल्नै दिइएन । अनि मेयर साबले एक्कासी पारित गर्ने भनेर भन्नुभो ।’

पोखरा महानगरका मेयर मानबहादुर जिसीका सामु ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फ्यालेका हुन् । बजेट वडास्तरीय आएपनि नगरस्तरीय नआएको उनीहरुको आरोप छ । ‘बजेट पूरै केन्द्रिकृत रुपमा आएको छ । महानगरले पनि आफ्नो बजेट एकलौटी रुपमा वडालाई नदिएर आफूलेमात्रै राखेर हुन्छ,’ उनले भने ।

‘कुनै वडामा अत्याधिक धेरै छ । कुनै वडामा अत्यन्तै न्यून छ,’ वडाध्यक्ष लामिछानेले भने, ‘विषयगत रुपमा बजेट ल्याउँछौं भनेर भनेर सबै बजेट पूर्वाधारमा थुपारिएको छ ।’ उनले पोखरा वडा नम्बर १६, १७, २४, १९ लगायतका वडामा अध्याधिक बजेट परेको दाबी गरे । सबैभन्दा बढी राजश्व उठ्ने ठाउँलाई पनि बजेटलाई उपेक्षा गरिएको उनको आरोप थियो ।

पोखरा १२ वडाध्यक्ष रामबहादुर कार्कीले बजेट विनियोजनमा कसैलाई पाखा कसैलाई काखा गरिएको आरोप लगाए । उनले भने, ‘बजेट समानुपातिक रुपमा आएको थिएन । मेयर सा’बसँग कुरा राख्न गएकै हो । उहाँले समय नदिएपछि साथीहरुले रेडबुक च्याते ।’

रेडबुकमा आएको बजेट विनियोजनबारे असहमति जनाउँदा मेयर मानबहादुर जिसीले ‘पख् न भोलि मैसँग त हो बजेट माग्न आउने’ किसिमको प्रतिक्रिया दिएको वडाध्यक्षको आरोप छ ।

‘हामी जनताले चुनेर जनप्रतिनिधि भएका हौं । उहाँले त्यसरी भन्नुहुन्थेन,’ वडाध्यक्ष रामराज लामिछानेले भने, ‘जनताबाटै उठेको रकमले त आएको हो बजेट । हामीले नै माग्न नपाउने ?’ उनले मेयरले अभिव्यक्ति र रेडबुक नसच्याउँदासम्म विरोध गर्ने र बिहीबार महानगरमा तालाबन्दी गर्ने धम्की दिएका छन् ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ करोडको बजेट सार्वजनिक गरेको हो । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment