काठमाडौं । चारबुँदे सहमतिसँगै गायक शम्भु राई र प्रकाश सपुतको विवाद टुंगिएको छ । सपुतको चर्चित गीत बलबन्दीको भाका आफूले धेरे पहिले गएको देउसी गीतको एउटा अंशसँग मिलेको दाबी गरेपछि विवाद सुरु भएको थियो ।
पछिल्लो समय केहीले यसलाई जातीय रंग दिन पनि खोजे । विवाद अर्कैतिर मोडिन थालेपछि मिलनबिन्दु खोजेको भन्दै राईले भने, ‘यहाँ आगोमा घिउ थप्नेहरु बढे । उहाँहरु सबैलाई लाखै छ । हामी मिल्यौ, हामीलाई पनि लाखै छ ।’
प्रस्तुत छ, शम्भु राईको धारणा जस्ताकाे तस्तै
प्रकाश सपूत भाइ र मेरो सम्बन्ध हार्दिकतापूर्ण रह्यो । अहिलेपनि हाम्रो सम्बन्ध उस्तै छ । हामीबीच भेटघाट, कुराकानी भइरहन्थ्यो । कुनै व्यक्तिगत कटुता थिएन ।
यसबीचमा जुन विवाद भयो, त्यस्तो गल्ती-कमजोरी हामी सबैबाट हुनसक्छ । तर त्यस्ता गल्ती–कमजोरीलाई सच्याएर, परिमार्जन गरेर अघि बढ्नुपर्छ ।
यो एउटा सर्जकले, अर्को सर्जकलाई सिध्याउने खेल थिएन । मात्र आफ्नो सिर्जनाको रक्षा थियो । पैसाका लागि, चर्चाको लागि मैले आफ्नो दावी पेश गरेको होइन । त्यसबाट एक रुपैयाँ त के एक पैसा पनि लिने मेरो सोच होइन ।
गलबन्दी विवाद चर्किरहँदा मेरो गीतलाई पनि चोरी गरेको भन्ने आरोप लाग्यो । बोल्नेको मुख थुन्न सकिँदैन । कसले के बोल्छ, कसले के भन्छ भनेर चियोचर्चा गर्ने फुर्सद पनि भएन । आफू सही र सत्य ठाउँमा उभिएपछि सबैको जवाफ दिनुपर्छ भन्ने पनि लाग्दैन ।
२०४२ सालमा रेकर्ड गराएर त्यसपछि मैले निरन्तर गाउँदै आएको गीत ‘चलेछ बतास सुस्तरी’ नारायण गोपालको गीतसँग मिल्यो भनियो । मैले त्यो गीत रेडियो नेपालमा रेकर्ड गराएको थिएँ । रेडियो नेपालमा त्यसबेला नातिकाजी, तारादेवी जस्ता दिग्गज संगीतकर्मीहरुले गीत पास गरेपछि मात्र गाउन पाइन्थ्यो । यदि त्यो गीत चोरिएको थियो भने रेडियो नेपालले किन रोकेन ? रेडियो नेपालले रोक्नुपर्ने थियो नि ।
हो, हाम्रा गीत संगीत हाम्रै गाउँघरका लोकसंगीत, लोकभाकाबाट प्रभावित हुनसक्छ । म पूर्वमा जन्मिएँ । मेरो गीत संगीतमा त्यहाँको प्रभाव पर्न सक्छ । तर लोक भाका वा लोक गीतलाई जस्ताको तस्तै गाएर मैले त्यसबाट व्यवसयिक लाभ लिनु जायज होइन ।
आफ्नो सिर्जनाको गीतमा आफ्नो सर्वाधिकार रहन्छ । यसरी आफुले सिर्जना गरेको गीत एवं सिर्जना अरुले चोरेमा त्यो एक स्रष्टाप्रतिको ठूलो अपमान अनि अन्याय हुनजान्छ ।
एउटा सर्जकलाई आफ्नो सिर्जनाको सधै माया हुन्छ । जब आफ्नो सिर्जनामाथि अरुले हस्तक्षेप गर्छ, त्यसबेला चुपचाप बस्न सकिँदैन । प्रकाश सपूत भाइले गीत गाउनुभयो र जानेर, नजानेर, संयोगबस् जे भएर होस्, त्यो मैले यसअघि गाइसकेको गीतसँग मिल्न गयो ।
मेरो आशय एक प्रतिभाशाली युवालाई हतोत्साही गर्ने होइन । एक उर्जावान् युवालाई पन्छाउने पनि होइन । कसैको प्रशिद्धिप्रतिको लोभ र इष्र्या पनि होइन । मेरो भनाइ के मात्र हो भने, कसैको सृजनालाई मर्न र मार्न नदिऔं । यसले एउटा श्रष्टामाथि ठूलो अन्याय पर्न जान्छ । साथसाथै गलत नजिर पनि स्थापना हुन्छ ।
मैले मेरो सिर्जनामाथि अन्याय हुनजान्छ भन्ने सोचेर नै आफ्नो अडान राखेको हुँ । तर, यसले अर्कै रुप लियो । यो जाति र त्यो जाति भनेर विवाद चर्कन थाल्यो । यो जातीय लडाई थिएन, सिर्जनाको थियो । तर, जात–जातिको कुराले सामाजिक सञ्जाल नै भाँडिदियो । यो कुरा संसदमा समेत पुग्यो र कतिपय माननीय ज्युहरुले पनि यस विषयलाई जातीयताकरण गर्ने प्रयास गर्नुभयो ।
उहाँहरुसँग माइक थियो, बोल्ने अधिकार थियो, बोल्नुभयो । तर, के बोल्नुपर्ने, के भएको हो भन्ने कुरा बुझ्नुभएन । हामीसँग पनि माइक हुन्छ, स्टेज हुन्छ, हामीसँग पनि बोल्ने कुरा छन् । हामीसँग पनि मिडिया छन् । तर, जथाभावी बोल्नु सचेत नागरिकको चरित्र होइन ।
यो विवाद नै अर्कोतिर मोडिने सम्भावना भयो । त्यसैले अब यसलाई चाँडै साम्य बनाउनुपर्छ भन्ने लागेर हामीले मिलनबिन्दु खोजेका हौं । यहाँ आगोमा घिउ थप्नेहरु बढे । आगोमा आगो सल्काउनेहरु भए । कोही उचाल्ने, कोही थेचार्ने भए । उहाँहरु सबैलाई लाखै छ । हामी मिल्यौ, हामीलाई पनि लाखै छ ।
प्रतिक्रिया 4