Comments Add Comment

बुबा जेल परेपछि फेरिएको जीवन

जुडो नखेलेको भए अहिले म के गर्दै हुन्थेँ होला ? केही न केही त गर्थें होला, तर अहिलेको जस्तो सम्मान र सन्तुष्टि भने पाउने थिइनँ जस्तो लाग्छ ।

फर्केर हेर्दा अचम्म पर्छु, कहाँबाट कहाँ पुगेँ । यो पढिसक्दा तपाईहरु पनि त्यस्तै अचम्ममा पर्नुहुनेछ । कति नसोचेका सफलताहरु पाएँ । कति नगरेका कामहरु गरेँ । मेहनत चिनँे । अनुशासन बुझेँ । त्यसैको बाटोमा निरन्तर हिँडिरहेको छु ।

देश विदेशका विभिन्न प्रतियोगितामा जितेका पदकहरु हेर्दा पुराना दिनको सम्झना अझ बलियो बनेर आइदिन्छ । हुन त खेलाडी बन्छु भनेर मैले जुडो सिकेकै होइन । ‘अनुशासनहीन केटाहरु अनुशासित बनुन्’ भनेर जुडो सिकाइएको थियो ।

त्यही उद्देश्य अहिले यति फराकिलो बन्यो कि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशको गौरवसँग जोडियो । त्यसैले मेहनत बढाइरहेको छु । दुःख नगरी आइलागेको सुख लामो समय टिक्दैन पनि । दुःखले दिलाएको सुखले दिने सन्तुष्टि ठूलो छ ।

****

म सिन्धुपाल्चोकमा जन्मिएको हुँ । सिन्धुपाल्चोकबारे भन्नुपर्ने त्योबाहेक अरु केही छैन । अहिले मेरो घर बन्दी सहायता नियोग (पाम) बनेको छ । काठमाडौं रानीवनमा पाम परिसर नै मेरो यहाँसम्मको सफलताको आधार हो ।


म नौ वर्षको हुँदा तीन बहिनी र एक भाइसँगै काठमाडौं ल्याइएँ । बाबा जेल परेपछि परिवारको अवस्था कमजोर बनेकाले हामीलाई सहयोगी संस्थामा ल्याइएको थियो । बुझ्ने बेला नभइसकेकाले बाबा के कारण जेल पर्नुभएको हो थाहा थिएन । तर त्यसले हाम्रो अवस्था भने एकाएक भिन्न बनिदियो ।

बाबा जेलमा हुँदा आमा बेलाबेला भेट्न आउनुहुन्थ्यो । हालखबर सोध्नुहुन्थ्यो । दशैंमा पनि भेट्न आउनुहुन्थ्यो । बाबा जेलबाट छुटेपछि त आमा आउनुभएको छैन । कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? थाहा नभएको पनि तीन वर्ष भयो ।

तर पामले अभिभावकको अभाव महसुस हुन दिएको छैन । सरहरुले छोराछोरीलाई जस्तै माया गर्नुहुन्छ । रेखदेख गर्नुहुन्छ । उहाँहरु हरेक क्षण हाम्रै चाहना पूरा गर्न लागि पर्नुहुन्छ । त्यसैले त बाबा जेलमा हुनुहुन्छ भन्ने ख्यालै भएन । माया पाएर नै हाम्रो हरेक कुरामा सुधार हुँदै गएको हो । जुडोको गुरु पनि कुनै दिन आउन पाउनु भएन भने फोन गरेर के छ, कसो छ सोधिरहनु हुन्थ्यो ।

गाउँबाट निस्कदा र अहिले हाम्रा धेरै कुराहरु फेरिएका छन्, सबैभन्दा बढी त चेतनाको स्तर

सुरुमा पाममा आउँदा म अलि बदमास थिएँ । गर भनेको केही कुरा नमान्ने । जिद्दी स्वभावको थिएँ । कहिले कता भागिदिने कहिले कता जाने गरिरहेको हुन्थेँ । विस्तारै बानीमा सुधार हुँदै गयो । त्यसको प्रमुख कारण जुडो नै हो । जुडोले खेल मात्रै होइन, अनुशासन पनि सिकियो । असल व्यवहारसाथ अघि बढ्न सहयोग मिल्यो । शारीरिक मानसिक विकासले गर्दा शिक्षामा पनि सुधार भयो । सिन्धुपाल्चोकमा तीन कक्षा पढिरहेको म काठमाडौं आएपछि केजीमा भर्ना भएको थिएँ । त्यसले पनि त्यो बेलाको पढाइको अवस्था कस्तो थियो भन्ने थाहा हुन्छ । अहिले त निकै राम्रो भइसकेको छ । एसईई दिएर बसेको छु । खेल र पढाइसँगै अगाडि बढाउने चाहना छ ।

सुरुमा पामका अध्यक्ष डा. नारायणकाजी श्रेष्ठ सरले जुडो प्रशिक्षक सूर्यनारायण सरसँग कुरा गरेर हामीलाई जुडो सिकाउने व्यवस्था मिलाउनु भएको थियो । त्यसबेला उहाँको उद्देश्य बच्चाहरु अनुशासित हुन् भन्ने नै थियो । किनभने त्यो समय हामी अलि झगडालु थियौं । जुडो सिक्दै जाँदा राष्ट्रिय स्तरका प्रतिस्पर्धाहरुमा हाम्रो उपस्थिति बलियो हुँदै गयो । पदकहरु आउन थाल्यो । त्यसले खेलमै लाग्ने बाटो बन्यो । हरेक दिन जुडोको चाहना बढ्दै गयो । दुई जना बहिनी पनि जुडो नै खेल्छन् । उनीहरुको खेल पनि राम्रो छ ।

म अहिले २० वर्षको भएँ । ठूली बहिनीहरु १७ र १३ वर्षका छन् । भाइ ९ र अर्की बहिनी ७ वर्षका भए । गाउँबाट निस्कदा र अहिले हाम्रा धेरै कुराहरु फेरिएका छन्, सबैभन्दा बढी त चेतनाको स्तर ।

****

पहिले त कसैसँग घुलमिल हुने बोल्ने पनि गर्दैनथेँ । खेलकुदमा लागेपछि विस्तारै घुलमिल हुन थालेँ । सन् २००९ को अगस्टदेखि हाम्रो जुडो सुरु भएको थियो । सूर्यनारायण गुरुले हात खुट्टा समाएरै सिकाइदिनुभयो । विस्तारै प्रतियोगितामा पनि सहभागी हुन थाल्यौं । खेलको धेरै कुरा नबुझेकाले होला हारे पनि हाँस्थ्यौं, जिते पनि हाँस्थ्यौं । रमाइलो मात्रै थियो । जब विस्तारै प्रतिस्पर्धाको महत्व बुझ्दै गइयो, तब खेल कसरी खेल्नुपर्छ भन्ने बुझ्न थाल्यौं ।

अहिले एसईई परीक्षा दिएर बसेकाले अभ्यासका लागि अलि सजिलो भएको छ । होइन भने त विद्यालय जाने समयमा सबै कुरा मिलाउन असाध्यै गाह्रो थियो । बिहान ५ बजे उठेर अभ्यासमा जाउ, अभ्यासबाट आएर विद्यालय जाउ, छुट्टी पछि फेरि अभ्यास र रातिसम्म बसेर विद्यालयको गृहकार्य एकछिन पनि फुर्सद हुँदैनथ्यो ।


राष्ट्रिय स्तरका प्रतियोगितामा राम्रो गरिरहँदा मेरो छनोट १२ औं दक्षिण एसियाली खेलकुदमा भएको थियो । १२ औं सागमा भारत जाँदा अभ्यास राम्रो गरेका थियौं । त्यहाँ पहिले खेल अफगानिस्तानसँग हारेँ । त्यो बेला मेरो दुवै हातमा पिलो आएर दुःखीरहेको थियो । त्यही पनि खेलेँ । कांस्य पदकसम्म पुगेँ । त्यहाँ तेस्रो स्थानमा हुनु पनि राम्रो कुरा हो भन्ने लाग्यो । खुशी भएँ ।

त्यसपछि सातौं राष्ट्रिय खेलकुदमा सहभागी भएँ । त्यही बेलादेखि ६६ केजी मुनीको तौल समूहमा खेल्न थालेको थिएँ । त्यसअघि ६० किलो तौल समूहमा खेल्थेँ । सातौं राष्ट्रियमा व्यक्तिगत र समूहगत विधा दुवैमा स्वर्ण जितेपछि मेरो खेलले थप उचाइ लियो । अब नेपालमा नै हुने १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने लक्ष्य छ । त्यसअनुसार मेहनत पनि गरिरहेका छौं ।

गएको आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेपछि सागका लागि तयारीमा जुटेका हौं । आठौंमा करारमा पुलिस क्लबमा आबद्ध भएर खेलेको थिएँ । नेपालगञ्जको गर्मीले अप्ठ्यारो भएपनि राष्ट्रिय स्तरमा नजितेसम्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सकिँदैन भनेर मेहनत गरेँ र स्वर्ण पदक जितेँ ।

अहिले १३ औं सागका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म १४ जना खेलाडी सँगै अभ्यास गरिरहेका छौं । बारअनुसार फरक-फरक अभ्यास गर्छौं । त्यसले राम्रो गर्न सकिन्छ कि भन्ने छ । शनिबार बसेर अरु दिनमा गरेको अभ्यासबारे छलफल गर्छौर्ं । त्यसैले स्वर्ण पदक जित्न सकिन्छ कि भन्ने विश्वास बलियो छ ।

जुडोमा टेक्निकहरु एकदमै याद गर्नुपर्छ, धेरै आक्रमणमा जाने या धेरै रक्षात्मक हुने दुवै खतरनाक हुन्छ

****

हरेक पटक विदेशमा प्रतिस्पर्धा गर्न जाँदा लाग्छ, उनीहरुले सक्ने हामीले नसक्ने भन्ने के हुन्छ र ? हामीले पनि सक्छौं, मेहनत गर्नुपर्छ ।

आठौं राष्ट्रिय खेलकुद लगत्तै दुबईमा भएको जुडो च्याम्पियनसिपमा सहभागी हुन गएको थिएँ । त्यहाँ चाइनिज ताइपेइसँग हारेर फर्किनु पर्‍यो । त्यसले धेरैजसो सहभागिता अनुभवमा सीमित भए पनि जितेका क्षण पनि निकै छन् ।

सन् २०१८ मा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थिएँ । त्यसका लागि दुई महिना अभ्यास गरेका थियौं । दक्षिण एसियामा अरु देशभन्दा पनि हराउन अप्ठ्यारो भारतलाई नै हो । सेमिफाइनलमा नै भारतलाई हराएपछि त फाइनलमा पाकिस्तानसँग सजिलो भएको जस्तो लाग्यो । जितिहालिन्छ नि भन्ने मनोबलले खेल राम्रो भयो र स्वर्ण जितेँ पनि ।

जित्दा त सबैजना नेपाल, नेपाल भन्दै कराइरहेका थिए । एकैछिनमा माहोल नै भिन्दै बन्यो । रमाइलो भयो ।

थाइल्याण्डमा युनिभर्सिटी जुडो च्याम्पियन्ससिपमा पनि लगातार तीन पटक सहभागी हुन गएँ । त्यसबाट पनि अनुभव राम्रो मिलेको छ । नयाँ कुराहरु बुझ्न पाएको छु ।

पहिलो पटक २०१७ मा जाँदा तेस्रो भएको थिएँ । हङकङ र थाइल्याण्डलाई हराएको थिएँ । सेमिफाइनलमा युएईसँग हारेपछि तेस्रो स्थानको लागि भएको खेलमा थाइल्याण्डलाई नै हराएँ । २०१८ मा जाँदा स्वर्ण पदक नै जितेँ । फाइनलमा जापानलाई हराएको थिएँ । जापान जस्तो देशलाई हराएर विदेशी भूमिमा देशको नाम राख्न पाउँदाको खुशी गजबकै थियो । यही २०१९ मा नै तेस्रो पटक जाँदा भने हातमा चोट लागेकाले मैले खेल्न सकिनँ ।


दाहिने हातमा लक लागेर मसल च्यापिएको रहेछ । त्यो पनि नेपाल आएपछि मात्रै थाहा पाएँ । हात अहिले पनि पूरा सीधा गर्न मिल्दैन । डाक्टरले खेल्न हुन्छ भनेका छन् । गएको जेठदेखि प्रहरीमा नै जागिरे भएकाले पुलिस अस्पतालमा नै गएर जचाउँदा केही समय आराम गर्न नै भन्नुभएको थियो ।

२०१८ मा इन्डोनेसियामा एसियाली खेलकुदका लागि पनि गएँ । त्यसअघि पनि हामीले अभ्यास राम्ररी नै गरेका थियौं । तर सोचेजस्तो खेल भने हुन सकेन । पहिलो खेलमै इजिप्टसँग पराजित भएँ । नरमाइलो लाग्यो । यो पाली देखिएका कमजोरीहरु अर्को पाली सुधार गर्छु भन्ने सोचेर चित्त बुझाएँ । कति पावर लाउँदा के हुनेरहेछ, मेरो कमजोरी पक्ष के हो, कुन ठाउँमा कुन गलत तरिका अपनाएँ भन्ने विचार गरेर सुधार गर्दैछु । जुडोमा टेक्निकहरु एकदमै याद गर्नुपर्छ, धेरै आक्रमणमा जाने या धेरै रक्षात्मक हुने दुवै खतरनाक हुन्छ ।

****

अहिले बुबासँग बेला-बेला फोनमा कुरा हुन्छ । जेलबाट छुटेपछि उहाँ गाउँतिरै हुनुहुन्छ । मैले जितिरहेको कुराहरु उहाँलाई पनि थाहा छ । म कतै जानुभन्दा अगाडि फोन गर्छु । बुबा खुशी भएर गाउँघरमा सुनाउनु निस्कनु हुन्छ रे ।

मलाई लाग्छ, गाउँमै बसेको भए अहिले पाएको सफलता शायदै पाउथेँ होला । बन्दी सहायता नियोगमा आएपछि अवसरहरु पाए, सरहरुले सहयोग गर्नुभयो । २०७२ को दशैंमा एकपटक गाउँ गएको पनि थिएँ । सुरुमा त धेरैले चिन्दै चिनेनन् । चिनुन् पनि कसरी, गाउँ छाड्दा ९ वर्षको मात्रै त थिएँ । गाउँका केही साथीहरु पनि भन्छन्, ‘हामी त केही गर्न सकेका छैनौं । तिमीले त राम्रो गर्‍यौं, तिम्रो जीवन बन्यो ।’ यी कुराहरुले खुशी लाग्छ ।

अहिले जुडोले दिएका खुशी अरु केहीसँग तुलना हुँदैन । सबैभन्दा रमाइलो के हुन्छ थाहा छ ? जब कतै जितेर आएपछि हामी बसेर रमाइलो गर्छौं, त्यो अदभूत लाग्छ । बन्दी सहायता नियोगमा नै सबै भेला भएर हामी रमाइलो गर्छौं । खानेकुराहरु बनाउँछौं, सबैजना गोलाकार भएर बस्छौं, सँगै खान्छौं र नाचगान गर्छौं ।

प्रस्तुति – ऋग्वेद शर्मा

तस्वीर : शंकर गिरी/अनलाइनखबर

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा‘ को ४२ औं अंकमा यो हप्ता जुडो खेलाडी इन्द्रबहादुर श्रेष्ठको कथा ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment