Comments Add Comment

रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी दुई हप्तापछि पक्राउ

१५ असार,बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ परेका छन् ।

गैडहवा गाउपालिका–८ का २२ वर्षीय थारु घटनाको दुई हप्तापछि रुपन्देहीकै सूर्यपुरा इलाकाबाट गएराति पक्राउ परेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

चौधरीमाथि जबरजस्ती करणी कसुरमा मुद्दा चलाइने प्रहरी निरीक्षक पोखरेलले बताए । उक्त बलात्कार घटनामा संलग्नको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रम गैडहवा गाउँपालिका संयोजक ३० वर्षीय जीवन ज्ञवाली यसअघि नै पक्राउ परेका छन् ।

यो पनि पढ्नुहोस १४ जनाले गरे दुई युवतीको सामूहिक बलात्कार

असार २ गते साँझ गैडहवा ९ नागेश्वरीचोकको एक रेष्टुरेन्टमा विष्णु चौधरीसँगै दुई युवती राति १० बजेसम्म मदिरा सेवन गर्दै बसेका थिए । घर छोड्ने भनेर दुई युवतीलाई बाइकमा राखेर फर्कने बेला हसनापुरस्थित बोर्डिङ स्कूल नजिकको खेतमा चौधरीले एक युवतीमाथि बलात्कार प्रयास गरेका थिए । अर्की युवती भागेर गाउँमा पुगेर गुहार मागेपछि गाउँका युवाहरु घटनास्थलमा पुगेका थिए । तर उनीहरुले संरक्षण दिनुको साटो आफैं बलात्कारमा संलग्न भएको युवतीहरुले प्रहरीलाई बताएका थिए । चौधरीले घटना बाहिर नल्याउन धम्की दिएका कारण तीन दिनपछि मात्र घटना सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक हुँदा बलात्कारमा १४/१५ जना युवा र पुरुषको समूह संलग्न भएको बताइए पनि युवतीहरु मदिराको नशामा भएका र अँध्यारोमा नचिनेका व्यक्तिबाट घटना भएकाले पीडकहरुको संख्या यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

बलात्कार गर्ने मध्येमा जीवन ज्ञवाली र चौधरीलाई मात्र चिनेको वयान युवतीहरुले दिएको प्रहरी निरीक्षक पोखरेलले बताए । चौधरीले ती दुई युवतीसँग घटनाको २ दिन अघिदेखि निरन्तर फोन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ । बलात्कारको शिकार भएका दुईमध्ये एकजना विवाहित र अर्की अविवाहित हुन् । उनीहरु विपन्न परिवारका भएको प्रहरीले बताएको छ ।

सामूहिक बलात्कारमा परेका दुवै युवतीहरुको स्वास्थ्य अवस्था सामान्य छ । भीम अस्पताल भैरहवामा स्वास्थ्य चेकजाँच गरेका उनीहरु अहिले घरमै छन् । उनीहरुको उपचारका लागि गैडहवा गाउँपालिकाले १०–१० हजार रुपैयाँ दिएको अध्यक्ष बच्चुलाल केवटले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment