Comments Add Comment

कारको ठक्करबाट विराटनगरमा मोटरसाइल चालकको मृत्यु

नियोजितरुपमा ठक्कर दिएको दावी

Photo Credit : मोटरसाइकललाई ठक्कर दिने किरण लामा /अनलाइनखबर ।

१५ असार, विराटनगर । शनिवार राति कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

राति करिब ११ बजे विराटनगर- ४ बरगाछीमा किरण लामाको कारको ठक्करबाट विराटनगर-१२ का १८ वर्षीय शंकरकुमार मिश्रको मृत्यु भएको हो । मिश्र को३प ५६३४ नम्बरको मोटरसाइकलमा सवार थिए ।

शनिवार राति हृयाजट्याग टोहलमा मापसे गरी बा२०च ७४० नम्बरको कारमा निस्किएका लामाले बरगाछी चोकमा मोटरसाइकललाई ठक्कर दिंदा मिश्रको मृत्यु भएको हो ।

स्थानीय गुण्डा नाइके लामा दमकका केही युवासहित विराटनगर एयरपोर्ट मोडमा बसेका थिए । उनले होटलमा २९ हजार रुपैयाँको बिल उठेको प्रहरीले बताएको छ ।
होटलमा सामान्य विवाद भएका कारण लामाले मोटरसाइकललाई ठक्कर दिएको प्रहरी स्रोतको दाबी छ ।

होटलबाट विवाद भएपछि निस्किएका मिश्रलाई पिछा गर्दै आएका लामाले बरगाछी चोकमा ठक्कर दिएको स्रोतको दाबी छ । ठक्कर दिएपछि केही पर कार रोकेका लामा भागेका थिए ।

होटलबाट मापसे गरी निस्किएका लामाले नै कार चलाएको प्रहरीको दाबी छ । अपराधिक पृष्ठभूमिका लामाले होटलमा सँगै गएका साथीको मोवाइल पनि फुटाइदिएका थिए ।

ठक्करबाट गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि विराट नर्सिङहोम भर्ना गरिएको थियो । तर, अस्पतालले राति नै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

घटनापछि फरार रहेका लामाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठका अनुसार ठक्करपछि कार लिएर भागेका लामाको कार भने विराटनगर-६ स्थित आफ्नो घरमै लुकाएका थिए ।

प्रहरीले राति करिब २ बजे उनको घरमा लुकाएर राखेको अवस्थामा कार नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार मिश्रसँग सामान्य विवाद भएपछि नियोजित रुपमा ठक्कर दिएको हो । तर, जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठ भने घटनाको अनुसन्धान भइरहेको बताउँछन् ।

चालक लामाको खोजीकार्य तीव्र पारिएको बताउँदै डीएसपी श्रेष्ठले नियोजित रुपमा ठक्कर दिएको भए सोही अनुसार मुद्दा चलाउने बताए ।

लामा विराटनगरका डनको रुपमा परिचित छन् । जग्गा कारोवारदेखि मिटर ब्याजको धन्दा चलाइरहेका उनी यसअघि होटलका व्यवसायिक साझेदार प्रहृलाद गुरागाईंलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए ।

एकजना पक्राउ

लामाको खोजी गरिरहेको प्रहरीले उनका भाइलाई पक्राउ गरेको छ । शनिवार राति लामाको खोजी गर्दै विराटनगर- ६ स्थीति घर पुगेको प्रहरी टोलीलाई अवरोध गरेपछि प्रहरीले लामाको नाताले भाइ पर्ने मेलिस लामालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई अवरोध गरेपछि नियन्त्रणमा लिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

आफन्तको प्रदर्शन

मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका लामालाई पक्राउ गर्न माग गर्दै टेम्पो चालकहरुले विराटनगरको मुख्य सडक केही समय अवरुद्ध गरेका छन् ।

मिश्रका बुबा टेम्पो चालक हुन् । दुर्घटनापछि लामा फरार भएपछि तत्काप पक्राउ गरी कारवाही गर्न माग गर्दै आइतबार दिउँसो सडक अवरुद्ध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment