 
																			१६ असार, काठमाडौं । सन्तोष कार्कीले गत चैतबाट युवतीहरुमाथि कहिले टुथपिक त कहिले काँटीले आक्रमण गर्न थालेका थिए । तर, पीडितहरु बाहिर नआएका कारण गुपचुप रह्यो ।
महिलाहरूमाथि श्रृखलाबद्ध रुपमै आक्रमण भएपछि ‘सिरिन्ज आक्रमण’ हुनसक्ने आशंकाका खबरहरू आए । हेपटाइटीस ‘बी’, एचआईभी जस्ता रोग सार्ने नियत आक्रमण गरेको शंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले केही पीडितलाई औषधि नै चलायो ।
सर्वसाधारणमा अत्यधिक त्रास बढेपछि प्रहरी प्रशासनले पनि अनुसन्धानमा तादरुकता देखायो । काठमाडाैं प्रहरी परिसर, टेकु र अपराध महाशाखाले छुट्टाछुट्टै टोली खटाएर अनुसन्धान थाल्यो ।
पीडितहरुलाई आक्रमणकारीको हुलिया सोधियो तर, अधिकांशले स्पष्टसँग अनुहार देखेका थिएनन् । कार्की पक्राउ नपर्दासम्म प्रहरीले तीन पक्षबाट यसलाई हेरेको थियो । पहिलो, अभियुक्त लागूऔषध प्रयोगकर्ता हुनुपर्छ । दोस्रो, मानसिक रोगी/यौनप्रति आशक्त युवा र तेस्रो सामाजिक सञ्जालमा रमाइलो भिडियो देखेर कपी गर्न खोज्ने ‘टिन एजर्स’ ।
त्यही आधारमा अनुसन्धानको दायरालाई साँघुरो बनाएको प्रहरीले बजाज शोरुममा मोटरसाइकल फोटो देखाएर सम्भावित ‘लट लम्बर’बारे सूचना लियो । घटना भएको ढल्कु, पक्नाजोल क्षेत्रमा राति ९ देखि ११ बजेसम्म कुद्ने मोटरसाइकलको नम्बर टिप्न पनि थालियो ।
तर, कार्की पटकपटक बचिरहे । आफू ३ पटक प्रहरीको एम्बुसबाट छुटेको कार्की स्वयंले बताएका छन् ।
पक्नाजोलमा भएको घटनाको सीसीटीभी फुटेजको मद्दतमा भने कार्कीलाई पक्राउ गर्न प्रहरी सफल भयो । फुटेजमा अनुहार स्पष्टसँग नदेखिए पनि निलो रंगको मोटरसाइकल र त्यसमा लगाएको स्टीकर स्पष्टसँग देखिन्थ्यो । त्यसकै आधारमा कार्की पक्राउ परे ।
कार्कीले बाटोमा जो भेट्यो त्यहीमाथि आक्रमण गर्ने गरेको बताएपनि अनलाइनखबर गरेको खोजीले उनले देखिरहेका महिलाहरुलाई निशाना बनाउने गरेको देखिएको छ । पारिवारिक स्रोतका अनुसार पक्नोजोलमा आक्रमणमा परेकी महिला कार्कीका साथीको साथी हुन् । उनीमाथि दुई पटक आक्रमण भएको पाइएको छ ।
महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘सुरुमा ज्यान हेर्दा यो पनि अभियुक्त होला र ! भन्ने लागेको थियो । तर, सबुतले उनैलाई संकेत गरिरह्यो ।’ उनकाअनुसार सीसीटीभी फुटेज देखाएर केरकार गर्दा उनले कसुर स्वीकार गरेका छन् ।
कार्कीको विगत
कार्कीले किन युवतीमाथि काँटी आक्रमण गरेका त ? यो जान्न पहिले उनको विगततिर फर्किनुपर्छ ।
रामेछाप, खाँडादेवी गाउँपालिका–३ का कार्की वैदेशिक रोजगारीका क्रममा ६ वर्ष साउदी अरबमा रहे । त्यहाँ बर्गर कम्पनीमा काम गरेका उनी ०७४ को अन्तिमतिर स्वदेश फर्किए ।
हाल दाजु भाउजुसहित नैकापस्थित घरमा बस्दै आएका उनको दुई छोरा समेत छन् । पारिवारिक स्रोतका अनुसार कार्कीले स्वदेश फर्किएपछि केही समय ‘वेटर’को रुपमा पनि काम गरे । पछि दाजुसँग मिलेर भाटभटेनी सुपर मार्केट अगाडि क्याफे खोले ।
दाजुभाइसँगै बस्ने भए पनि उनी एक्लै घर फर्किन रुचाउँथे, दाइले पनि कर गरेनन् । ‘त्यतिवेला एक्लै फर्किँदा वास्ता गरिएन । यही दिन देख्नलाई रहेछ’, परिवारका एक सदस्य भन्छन् ।
एक वर्षअघि कार्कीले राति करिब १० बजे भाउजूलाई फोन गरेर आफू अपहरणमा परेको बताए । भाइ अपहरणमा परेको फोनले उनी आत्तिइन् । त्यो फोनबारे नजिकै रहेका आफन्तलाई सुनाइन् । पहिले होटल जाने कुरा भयो । त्यतिञ्जेल पुनः अपहरणकारीको फोन आउन सक्ने र त्यही अनुसार गर्ने उनीहरुको तयारी थियो ।
तर, जब भाउजुसहित होटल पुगे, अनौठो दृश्य देखियो । मदिरामा लठ्ठ कार्की राति ११ बजे एक युवतीसँग बसिरहेका थिए । भाउजु होटलमा पुगेपछि युवती भान्सा हुँदै बाहिरिइन् । त्यतिवेलै भाउजुले उनको अस्वभाविक व्यवहार नोटिस गरेकी थिइन् ।
कार्की परिवारका सदस्यहरुसँग पनि खुलेर कुरा गर्दैनथे । अनुसन्धान अधिकृत भन्छन्, ‘खुलेर बोल्ने मानिसलाई पढ्न सहज हुन्छ तर, कुण्ठा भरिएका मानिसको कुरा बुझ्न साह्रै गाह्रो ।’
हेर्नुस् काँटी सीसी टीभी फुटेज
अनलाइनखबरकर्मी आफन्त बनेर कार्कीसँग भेट्न प्रहरी हिरासत पुग्दा पनि अनुसन्धान अधिकृतले भनेझैँ उनी एक्दमै कम बोले । उनलाई हाम्रो पहिलो प्रश्न थियोः
‘सिरिञ्ज’ले युवतीलाई तपाईंले हान्नुभयो भन्ने सर्वत्र चर्चा भयो । खासमा के थियो त्यो ?
सुरुमा पसलमा भएको टुथ पिकले हानेको थिएँ । घर्रामा किला राखेको थिएँ, पछि त्यसैले हानेको हुँ । हल्ला भए जस्तो त्यस्तो केही होइन । रोगसोगको कुरा पनि हल्ला मात्र हो ।
तपाईंले प्रयोग गरेको किला प्रहरीले पनि भट्यो ?
मैले ‘बाटोमै फ्याकिँदिएको थिएँ’ भनेको छु । उहाँहरुले भेट्नु भयो होला ।
किन हान्नु भएको त ?
खै.. दशा लागेको रहेछ ।
प्रहरी कहाँ आक्रमण भयो भनेर ७ जनाले उजुरी दिएका छन् । तपाईंंले कतिलाई आक्रमण गर्नु भयो ?
अँ.. त्यत्रो होइन । ४ जना हो ।
काँटी घोचिएका युवतीलाई चिन्नु भएको थियो ?
पसल बन्द गरेर घर जाँदा देखेको हो ।
कसैलाई केही भन्नु छ कि ?
के भन्नु र ! बइज्जत भयो । जे नहुनु थियो भइहाल्यो ।
मनोविद् भन्छन् –मानसिक रोगको संकेत देखियो
अनुसन्धानका अधिकृतले छानविनका क्रममा कुनै रोग फैलाउन घटना गराएको हुनसक्ने आशंका गरेका थिए तर, कार्की पक्राउ गरेसँगै यो आशंका गलत सावित भएको छ ।
कार्कीको बयानमा खटिएका एक प्रहरी अधिृकतकाअनुसार उनले मिडियामा समाचार आएपछि आक्रमण गर्न छाडेका थिए । तर, त्यही बाटो प्रयोग गरेर आवतजावत गरिरहेका थिए । ‘मैले काँटी हान्दा यत्रो हंगामा होला भनेर सोचेकै थिइन’, कार्की भन्छन् ।
युवतीलाई काँटीले घोप्नुका पछाडि के कारण हुनसक्ला ? उनले सहजै भनेका छन्, ‘रमाइलोका लागि गरेँ ।’
प्रहरीले उनको बयानमा विश्वास गरेका छैनन् । उनीहरुको आशंका छ, कार्की मानसिक रोगी हुन् ।
मनोविद् गोपाल ढकाल पनि कार्कीमा एन्टी सोसियल पर्सनालिटी डिसअर्डर (साइकोप्याथ) को समस्या हुनसक्ने बताउँछन् । ‘पहिलो कुरा त रमाइलोको लागि गरेँ भन्नु नै मानसिक समस्या हो’, ढकालले अनलाइनखबरसँग भने, ‘यो रोग लागेका व्यक्ति अरुलाई दुःख दिएर आफू रमाउने गर्छन् ।’
कार्कीमा यौन बिचलन समेत रहेको हुनसक्ने ढकालको आशंका छ । यो तर्कलाई बल पुग्ने आधार चाहिँ के छ भने उनी र श्रीमती छुट्टाछुट्टै बस्छन् । उनकी श्रीमती गाउँमै बस्थिन् ।
कार्की आफैंले बयानका क्रममा राम्री केटीलाई मात्र आक्रमण गर्ने गरेको दाबी गरेका छन् । ‘साइकोप्याथको समस्या भएका व्यक्तिको परिवारका व्यक्तिसँग राम्रो सम्बन्ध हुँदैन’, उनले थपे, ‘ऊ जो सुकैलाई दुःख दिएर रमाउँछ ।’ कार्कीको स्वास्थ्य परीक्षण गरेको खण्डमा उनमा रोग छ/छैन भन्ने पत्ता लगाउन सकिने ढकालको भनाइ छ ।
कार्कीको प्रश्नः मोटसाइकल जलाएको भए बच्थे कि ?
महिलामाथि आक्रमणको आरोपमा पक्राउ परेका कार्कीले गर्ने केही प्रश्नले अनुसन्धान अधिकृतकै दिमाग घुमाइदिन्छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतका अनुसार बयानका क्रममा उनले ‘मोटरसाइकल जलाएको थिएँ भने पक्राउ पर्ने थिइनँ होला है’ भनेर उनले प्रश्न गरेका थिए ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले मोटरसाइकल जलाउने प्रयास पनि नगरेका होइनन् तर, सफल भएनन् । कार्की त्यही मोटरसाइकलकै कारण पक्राउ परेका हुन् ।
३२ वैशाखमा उनले जेनिसा (नाम परिर्वतन)लाई आक्रमण गरेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहाँ उनको अनुहार नदेखिपनि मोटरसाइकलको रंग र त्यसमा अगाडि र पछाडि स्टिकर लगाएको प्रष्ट देखिन्थ्यो । त्यही स्टिकरकै आधारमा जेनिसाको परिवारले भाटभटेनीमा शंकास्पद मोटरसाकइल भेटिएको खबर गरेका थिए ।
 
                









 
                     
                                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4