Comments Add Comment

अब सवस्टेशन र ट्रान्सफर्मरको अनुगमन अनलाइनबाट

१७ असार, काठमाडौं । स्मार्ट मिटरिङका लागि काम सुरु गरिसकेको नेपाल विद्युत् प्राधिकरणले अब सव–स्टेसन र ट्रान्सफर्मरहरुमा पनि स्मार्टप्रणाली जडान गर्ने भएको छ । प्राधिकरणको ऊर्जा दक्षता विभागले देशभरका सव–स्टेशन र ठूला ट्रान्सफर्मरहरुमा स्मार्ट सिस्टम जडान गर्न लागेको हो ।

सव–स्टेशनलाई अनलाइन सिस्टमबाटै कन्ट्रोल गर्न सकिने गरी प्रविधिको विकास गर्नेसहित विविध परीक्षण गर्ने काममा प्राधिकरण लागेको छ । पहिलो चरणमा काठमाडौंका ५ वटा साना सवस्टेशनमा यो प्रणालीको सफ्टवेयर जडान गरेर विभिन्न प्राविधिक परीक्षण चलिहेको विभागका सहायक प्रवन्धक सागरमणि ज्ञावालीले बताए । उनका अनुसार यो प्रणाली सफल भए देशभरका सब स्टेसनमा जडान गर्ने योजना छ ।

अनलाइन निगरानी

सव–स्टेशनहरुको सिस्टमलाई विश्वसनीय बनाउन र त्यसका तथ्यांकहरुलाई अनलाइनबाटै हेर्ने तथा प्रणालीलाई सञ्चालन गर्नेसम्मको कामको लागि यो प्रविधिको उपयोग गरिने छ ।

प्राधिकरणले ठूला ट्रान्सफर्मरलाई लक्षित गरेर ‘अटोमेटिक पावर फ्याक्टर कन्ट्रोलर’ सिस्टम पनि जडान सुरु गरिसकेको छ । देशभरका ठूला ट्रान्सफर्मरहरुको सुव्यवस्थित र भरपर्दो सञ्चालनको व्यवस्था लागि यो व्यवस्था गर्न लागिएको सहायक प्रवन्धक ज्ञावालीले बताए ।

उनका अनुसार, पहिलो चरणमा ३२५ वटा ठूला ट्रान्सफर्मरमा यो प्रणालीको जडान भइरहेको छ । २५० केभीएदेखि ५०० केभीएका ट्रान्सफर्मरमा यस्तो प्रणाली राख्न लागिएको हो ।

यस्ता ठूला क्षमताको ट्रान्सफर्मर प्रायः मुख्य बाहिरी क्षेत्र र औद्योगिक क्षेत्रमा छन् । यो प्रणाली जडानपछि पटक–पटक लाइन काटिएर हैरान भएका उद्योगीले पनि राहत पाउनेछन् ।

प्राविधिकहरुका अनुसार ट्रान्सफर्मरमा हुने पावर फ्याक्टर जति बढी हुन्छ, चुहावट पनि उत्तिकै बढी हुन्छ । त्यसैले पावर फ्याक्टरलाई घटाउने गरी प्राधिकरणले स्वचालित प्रणाली जडान गर्न लागेको हो ।

यो प्रणालीअन्तरगत सबै ट्रान्सफर्मरको अनलाइन मनिटरिङ गर्न सकिनेछ । यसका लागि सबै ट्रान्सफर्मरमा थ्रीजी सिमसहितको डिभाइस जोडिएका हुन्छन् । त्यसले ट्रान्सफर्मरको लोडिङ, पिक लोडिङ, अफ पिक लोडिङ, भोल्टेजलगायतका डाटा सीधै सिस्टममा पठाउँछ ।

के फाइदा ?

ट्रान्सफर्मरको क्षमताअनुसार उपयोगको हिस्सा, बाँकी हिस्सा, फेज ब्यालेन्स, लिकेजलगायतका सूचना पनि अनलाइन सर्भरमा पठाउँछ । यसअनुसार विभिन्न पावर फ्याक्टर तोकिएभन्दा घट–बढ भएपछि कन्ट्रोल रुमले ‘एक्सन’ लिन सक्छ ।

यसले चुहावट घटाउँछ भने भोल्टेज पनि ५–७ प्रतिशत बढाउँछ । यसका कारण अहिले जस्तो छिनमै बिजुली आउने र जाने क्रममा नियन्त्रण आउँछ ।

ट्रान्सफर्मरका समस्या पनि यसले थाहा दिने र समस्या आउनुअघि नै विभिन्न सूचनाहरु दिने भएकाले समयमै मर्मत गर्न पनि सकिनेछ । यस्तै ट्रान्सफर्मरबाट लोड नपुग्ने भन्दै यस्ता  सूचना नागरिकले  सीधै लिन सक्ने सहायक प्रवन्धक ज्ञावाली बताउँछन् ।

‘ट्रान्सफर्मरको लोड कति हो भन्ने रियल टाइमै थाहा पाउन सकिन्छ,’ उनले भने ।

यो सिस्टम जडानको लागि प्राधिकरणले स्नाइडर इन्डियालाई छनोट गरेको छ । यो कम्पनीमार्फत उत्पादित प्रविधि तथा उपकरणहरु हाल जडानको काम धमाधम भरहेको छ । ६ महिनाभित्रै प्रणाली जडानको काम सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment