+
+
Shares

गोरखा नगरपालिकाले किन्यो ड्रोन क्यामेरा

विकास मरहट्टा विकास मरहट्टा
२०७६ असार १७ गते १८:५५

१७ असार, गोरखा । गोरखा नगरपालिका क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे तथा नक्साकंन ड्रोन बाट हुने भएको छ । आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने गरी नगरपालिका कार्यालयले ड्रोन खरिद गरेको हो ।

‘१५ लाखमा ड्रोन खरिद गर्‍यौं, सूचना मन्त्रालयबाट स्वीकृत लिइसकेका छौं,’ नगर प्रमुख राजनराज पन्तले भने, ‘गृह मन्त्रालय र प्रशासनसँग समन्वय गरेर आगामी आर्थिक बर्षबाट प्रयोग गर्छाै ।’ नगरपालिकाको आन्तरिक कार्यक्रम अन्तर्गत खरिद गरिएको ड्रोनको मंगलबार उडान परीक्षण गरिएको छ ।

‘यो ड्रोन करिब ६ किलोमिटरमाथि र ८ किलोमिटर सिधा (बाईएअर) जान सक्छ,’ कार्यालयका सूचना प्रविधि अधिकृत सुयोग खनालले भने, ‘ड्रोनको क्यामेरामा रोलिङ सटर छ, अन्यको भन्दा यसको फोटो र भिडियो हाइ क्वालिटिको हुन्छ ।’

नगर क्षेत्रमा भएका कुनै पनि योजनाको डीपीआर तयार गर्नका साथै कामको अनुगमनमा समेत सघाउ पुग्ने उनले बताए ।

प्राविधिकले पाँच दिन लगाएर गर्ने सर्भेको काम ड्रोनबाट दुई घण्टामै हुने खनालको दावी छ । ‘कुनै पनि योजना वा काम भइरहेको ठाउँमा ड्रोन पठाउछौं । यसले फोटो र भिडियोसहितको डाटा लिएर आउँछ । त्यसलाई हामीले कम्प्युटरमा हालेर प्रोसेस गर्छौं, अनि सबै कुरा यहीँबाट थाहा हुन्छ, हामी फिल्डमा जानुपर्दैन,’ खनालले भने ।

ठूला योजनाको अनुगमनमा ड्रोनको प्रयोग गर्ने नगरपालिकाको तयारी छ । ‘अब प्राविधिकहरु फिल्डमा जानुपर्दैन, यही बसेर सबै डाटा लिएर कामको अनुमगन समेत गर्न सक्छन्,’ नगर प्रमुख पन्तले भने, ‘ठूला योजनाका लागि कन्सल्ट्यान्ट हायर गर्नु पनि नपर्ने भयो ।’ जनशक्ति अभाव भएका बेला काममा सहज हुने पन्तको भनाइ छ ।

ड्रोन उडान र निरीक्षणका लागि एउटा छुट्टै कक्ष बनाउने तयारी नगरपालिकाले गरिरहेको छ । उक्त कक्षमा दुई जना प्राविधिक रहने नगर प्रमुख पन्त बताउँछन् । ‘अघिल्लो बर्ष नै ड्रोन प्रयोग गर्ने योजना बनाएका थियौं, ०७५/७६ को वार्षिक योजनामा राख्यौं अनि अहिले खरिद गरेका हौं । आगामी बर्षको सुरुवातदेखि नै प्रयोग गर्छाै,’ उनले भने ।

कामलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउनका साथै नियमित अनुगमन गर्नसमेत सहयोग पुग्ने उनको विश्वास छ । उक्त ड्रोनबाट नगरपालिकाको सबै क्षेत्र समेट्न सकिने उनले बताए ।

पर्यटन प्रवर्द्धनका लागि पनि उक्त ड्रोनको प्रयोग गर्ने तयारी नगरपालिकाको छ । ‘जिल्लामा रहेका पर्यटकीय एवं धार्मिक र ऐतिहासिक स्थलको फोटो र भिडियो खिचेर वृत्तचित्र जस्तो बनाउने र पर्यटकलाई देखाएर जिल्लामा आकर्षण गर्ने योजना पनि छ, त्यो काम पनि विस्तारै शुरु गर्छाै,’ उनले भने ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?