Comments Add Comment

एक खेलअघि नै नेपाल सेमिफाइनलमा

१८ असार, काठमाडौं । नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एक खेल अघि नै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा स्थान बनायो । मलेसियाको किनरारा ओभलमा आज विहान भएको खेलमा ५४ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँच ओभरको समाप्तिमा विना विकेट लक्ष्य भेटाएको थियो ।

नेपालको जितमा पवन सर्राफले विष्फोटक ब्याटिङ गरे । उनले २१ बलमा अविजित ४६ रन बनाए । पवनले ६ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, अर्को खेलाडी रित गौतम १० रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले २३.१ ओभरमा सबै विकेटको क्षतिमा ५३ रन मात्रै बनाएको थियो । चीनका दुई जना खेलाडीले मात्रै दोहोरो अंक बटुलेका थिए । चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए । त्यस्तै, तिलकराज भण्डारीले तीन विकेट लिएका थिए ।

समूह ‘ए’ बाट नेपालसँगै सिंगापुर पनि सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि भएको खेलमा सिंगपुरले चीनलाई पराजित गरेको थियो । यता, दुई खेलमा हार ब्यहोरेको चीन भने प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

अब जुलाई पाँच तारिखमा हुने सिंगापुर र नेपालबीचको खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

समूह ‘बी’ मा भने आयोजक मलेसियाले दुई खेलमा जित हात पार्दै शीर्ष स्थानमा रहेको छ । यता, हङकङले भने एक खेलमा जित हात पारेको छ । थाइल्यान्ड भने दुई खेलमा हार ब्यहोर्दै एक खेल अघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘बी’ कै भुटानले पनि एक खेलमा हार ब्यहोरेको छ ।

प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment