Comments Add Comment

तेन्दुलकरको कीर्तिमान तोड्दा खुशी छन् इक्रम

२० असार, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानका इक्रम अलि खिलले बिहीबार वेस्ट इन्डिजविरुद्ध ८६ रन बनाउँदै क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । ९३ बलमा ८६ रन बनाएका इक्रम विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने युवा खेलाडी बनेका हुन् ।

१८ वर्षका उनले सचिन तेन्दुलकरले १९९२ को विश्वकपका बेला न्युजिल्याण्डविरुद्ध हानेको ८६ रनको कीर्तिमान तोडेका हुन् । १९९२ मै तेन्दुलकरले जिम्बावेविरुद्ध पनि ७७ बलमा ८१ रन बनाएका थिए ।

वेस्ट इन्डिजविरुद्ध ३ सय ११ रनको लक्ष्य पछ्याउँदा इक्रमले ८६ रन बनाए पनि अफगानिस्तानले खेल जित्न सकेन । २३ रनले हारेको खेलमा पनि इक्रमको ब्याटिङको भने तारिफ नै भयो ।

श्रीलंकन क्रिकेटर कुमार सांगाकाराका समर्थक इक्रम विकेट किपर ब्याट्सम्यान हुन् । आफू ब्याटिङमा जाँदा पनि सांगाकाराको शैली अपनाउने प्रयासमा हुने इक्रम बताउँछन् ।

‘कुमार सांगाकारा जहिले मेरो मनमा हुन्छन् । ब्याटिङमा हुँदा पनि म उनको शैली पछ्याइरहेको हुन्छु । उनी स्ट्राइक परिवर्तन गर्न र आवश्यक परेको बेला बाउन्ड्री लगाउँछन्, त्यसले नै उनलाई विश्वस्तरीय ब्याट्सम्यान बनाएको छ’ सांगाकारालाई सम्झिँदै इक्रमले भने ।

‘म सचिन तेन्दुलकर जस्ता लिजेण्डको कीर्तिमान तोड्न पाउँदा खुशी छु’ उनले थपे ।

जारी विश्वकपमा अफगानिस्तानी ब्याटिङमा सर्वाधिक रन बनाउँदै राम्रो गरे पनि इक्रम समग्र खेललाई लिएर भने दुःखी छन् । अफगानिस्तानले एक खेल पनि नजिती बाहिरिनु पर्दा उनलाई कीर्तिमानले पनि लामो समय खुशी हुन नदिएको हो । यसका साथै शतक बनाउन चुकेकोमा पनि उनी खिन्न छन् ।

‘म शतब बनाउन सक्छु जस्तो लागिरहेको थियो । अफगानिस्तानका लागि यो विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान त बनेँ तर मलाई यो भन्दा राम्रो गर्न सक्छु भन्ने लागिरहेको थियो’ उनले भने ।

‘म राम्रो क्रिकेट खेल्दै अफगानिस्तानका लागि खेल्ने सबैभन्दा राम्रो क्रिकेटर बन्न चाहन्छु । यो विश्वकपमा लिन पाएको राम्रो अनुभवले भने खुशी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment