Comments Add Comment

‘पानवाली जनप्रतिनिधि’ चार बर्षदेखि मुद्दा झेल्दै

२० असार, जनकपुरधाम । तीन दशकयता पान दोकान चलाएकी सितियादेवी राय (४८) अहिले जनप्रतिनिधिको भूमिकामा पनि छिन् ।

जनकपुर उप–महानगरपालिका– ८ की वडा सदस्य उनको आफ्नै वडाको बजरंग चोकमा चल्तिको पान दोकान छ । ‘उप–महानगरपालिकाको कार्यपालिकामा पनि निर्वाचित भएकी छु’, राष्ट्रिय जनता पार्टी (राजपा) बाट वडा सदस्य निर्वाचित राय भन्छिन्, ‘बिहान र बेलुका दुकान चलाएर दिउँसो जनताको काममा खट्छु । दिउँसो कान्छो छोराले दुकान हेर्छ ।’

तीन दशकअघि जानकी चोकमा प्रतिमहिना २० रुपैयाँ भाडामा सुरु गरेको दोकानमा उनले आठ आनामा एक विडा पान बेच्थिन्, जुन अहिले २० रुपैयाँ पुगेको छ । यही व्यवसायबाट दुई छोरालाई शिक्षादिक्षा दिएकी उनले घर पनि बनाइन् ।

सुरेश चौधरी पहिल्यैबाट मधेश राजनीतिमा सकृय थिए, श्रीमती सितियादेवी दोकान र घरव्यावहारमा केन्द्रित थिइन् । १० बर्षअघि क्यान्सर रोगबाट सुरेशको मृत्यु भएपछि सबै जिम्मेवारी सितियादेवीको काँधमा आयो । श्रीमानको निधनपछि छोराहरुको अनुहार हेरेर, साहस गरेर पार्टी राजनीतिमा लागेको सितिया बताउँछिन् ।

श्रीमानको निधनले गर्दा छोराहरुलाई उच्च शिक्षा दिलाउने धोको भने पुरा हुन नसकेको उनी बताउँछिन् । लामो समय क्यान्सरको उपचारमा धेरै खर्च हुन पुग्दा जेठो छोराको कक्षा १० र कान्छोको ९ कक्षामै पढाई रोकिएको दुःख सितियादेवीको मनमा गढेको छ ।

कालो झण्डा देखाउँदाको मुद्दा

१ भदौ २०७२ मा सप्तरीको भारदहमा प्रहरीको गोली लागेर राजीव राउतको ज्यान गएपछि पुरै तराई–मधेशमा फैलिएको तेस्रो मधेश आन्दोलन छमहिना चल्यो । आन्दोलनकाबीच विवाहपञ्चमीका दिन राष्ट्रपति विद्यादेवी भण्डारी पूजापाठ गर्न जनकपुरधामस्थित जानकी मन्दिर आउँदा तत्कालिन मधेशी मोर्चाका नेता÷कार्यकर्ताहरुले कालो झण्डा देखाए ।

‘धेरै व्यक्तिको रगत बगेको आक्रोश हामीमा थियो’, सितियादेवी भन्छिन्, “त्यस्तो माहोलमा जनकपुर आएकी राष्ठट्रपतिलाई कालो झण्डा देखाउन म पनि गएँ, तर प्रहरीले मन्दिर तोड्फोड गर्न आएको भन्दै झुटो मुद्दा दर्ता गरेछ ।”

उनी त्यो मुद्दाको तारेख अझै खेप्दैछिन् । त्यो मुद्दाका तीन महिला सहित नौजना प्रतिवादीमध्ये रामचन्द्र चौधरीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment