
सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी दिनेश पोखरेललाई ३९१ मत अन्तरले पराजित गर्दै सन् २०१९-२१ का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अध्यक्ष कँडेलले ४१४८ मत पाएका छन् भने पोखरेलले ३७५७ मत पाए ।
यसैगरी महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी ४१५८ मत ल्याउँदै बिजयी भएका छन् । उनले पाएको यो मत संख्या सर्वाधिक उच्च हो ।
यस्तै सचिवमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इरशद अहमत निर्वाचित भएका छन् ।
राष्ट्रिय समन्वय समितिको कार्यसमितिमा निर्वाचित हुनेमध्ये सबैजसो कँडेल प्यानलका रहेका छन् ।
यसैगरी आईसीसी सदस्यमा राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायण प्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर निर्वाचित भएका छन् ।
‘नो भोट’मा ठूलो संख्या
यसपटकको निर्वाचनमा नोट भोट अर्थात् उम्मेदवारमध्ये कसैलाई पनि भोट नदिने अप्सनसमेत दिइएको थियो । अनौठो के छ भने ठूलो संख्यामा मतदाताले कुनै पनि उम्मेदवारप्रति आफ्नो बिश्वास देखाएनन् र नो भो भोटमा मतदान गरे ।
जस्तो कि, अध्यक्ष पदमा ४६१ जनाले नो भोटमा मत दिए । यसको जम्मा ३९१ मतले हारजितको निर्धारण गरेको यो चुनावमा ४६१ अर्थात् कुनै एक उम्मेदवारलाई जिताउन वा हराउन सक्ने संख्याले नो भोट छनौट गरेका छन् ।
यस्तै महासचिव पदमा ७३७ जनाले नो भोट छनौट गरेका छन् । सचिवमा ८०३ र कोषाध्यक्षमा ८४९ जनाले नो भोटको विकल्प छानेका छन् । सबैभन्दा धेरै अर्थात् करिव ११५३ जनाले कोषाध्यक्षका दुवै उम्मेदवारप्रति मत दिन इन्कार गरेका छन् ।
मतदान प्रकृयामा सहभागी भएर यति ठूलो संख्यामा उठेका उम्मेदवारप्रति असन्तोष दर्साउनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । यसको कारण के हुनसक्छ भनी एनआरएन अष्ट्रेलियाभित्र कारणहरुको खोजी हुन थालेको छ ।
चुनावी समीकरण निर्माण गर्दा आफुले मन पराएका उम्मेदवार प्रतिस्पर्धामा जान बञ्चित भएपछि एउटा ठूलो पंक्तिले नो भोट अप्सन छनौट गरिएको प्रारम्भिक अनुमान गरिएको छ ।
नवनिर्वाचित एक एनआरएन सदस्यले भने- मतदान प्रकृयामै सहभागीता नजनाएको भए गैरआवासीय नेपाली संघप्रति नै असन्तुष्टिका रुपमा लिन सकिन्थ्यो तर मतदानमा सहभागी भएरै नो भोट गर्नु अनौठो देखियो ।’
कुल ११ हजार ६ सय १७ मतदातामध्ये ८ हजार ३ सय ६६ जना मतदान प्रकृयामा सहभागी भएका थिए । ३ हजार २ सय ५१ जनाले मतदानमा सहभागीता जनाएनन् ।
प्रतिक्रिया 4