Comments Add Comment

रोग निम्त्याउँदै अप्राकृतिक जीवनशैली  

हामी आधुनिक भयौं । परम्परा, संस्कृति, संस्कार हामीलाई पुरानो लाग्न थाल्यो । हामीले पुराना कुरालाई लत्यायौं । किनभने ति कुरामा वैज्ञानिक तर्क र तथ्य पाएनौं । आधुनिक हुने चक्करमा हामी लताकपडादेखि खानपानसम्ममा नयाँ-नयाँ प्रयोग गर्न थाल्यौं । मोजमस्ती, मिठोमसिनो, ऐशआरमलाई नै हामीले आधुनिकता बुझ्यौं । जे-जति सुविधा छन्, ति सबैको उपभोग गर्नुपर्छ भन्ने मान्यता राख्यौं । यही कारण हामी कृतिम र बनावटी कुरामा निर्भर हुन थाल्यौं ।

हामीले खाने खानेकुरा कृतिम भए । प्रकृतिले दिएको अन्नपातलाई थरीथरीका स्वाद र शैलीमा बनाएर खान थाल्यौं । प्रकृतिले दिएको सुविधालाई आफु अनुकुल बनाउने प्रयत्न गर्न थाल्यौं । विज्ञानको उपलब्धी र उपकरणको अधिकतम प्रयोगलाई नै जीवनको सफलतासँग दाँज्न थाल्यौं ।

एक पाइला हिँड्ने बाटोमा गाडी चढ्न थाल्यौं । केही समय घेत्लिएर निकाल्नुपर्ने हिसाबका लागि क्याल्कुलेटर दबाउन थाल्यौं । ल्यापटप, मोवाइल, कम्प्युटर, टेलिभिजन जस्ता उपकरण हाम्रो दैनिक जीवनकै एक हिस्सा बन्न पुग्यो । हामी यान्त्रिक भयौं । र, हाम्रो दैनिकीलाई यन्त्रिकरण गर्‍यौं ।

यन्त्र एवं उपकरणको प्रयोगले हाम्रो जीवन सहज भयो होला । हामीले सुविधा पायौं होला । हामीलाई ऐश-आरम मिल्यो होला । तर, यसले हामीलाई क्रमस प्रकृतिबाट विमुख बनाउँदै लग्यो । हामी प्रकृतिबाट टाढा-टाढा हुँदै गयौं ।

आज हाम्रो भान्सामा त्यही खानेकुरा उपलब्ध छन्, जो बजारमा तयारी अवस्थामा आउँछ । प्रकृतिले दिएको खानेकुरा होइन, कृतिम खानेकुराले हाम्रो भण्डार भरिएको छ । खेतीपाती गर्न छाड्यौं । आफैले उब्जनी गरेर खानेकुरा जोहो गर्दैनौं । हिलो, माटो, पानीसँग टाढा भयौं । रुख, बिरुवा, पातपतिंगारको सम्पर्कमा रहेनौं ।

आज हाम्रो दैनिकी मोवाइल वा फेसबुकबाट सुरु हुन्छ । हरक्षण मोवाइलमा लिप्त हुन थाल्यौं । दिनभरको काममा पनि मोवाइल र ल्यापटपको अधिकतम प्रयोग गर्न थाल्यौं । हाम्रा साथीभाई, समुदाय पनि भर्चुअल भए । भर्चुअल संसारमै रमाउन थाल्यौं ।

हामीले जहिलेपनि आरमदायक ठाउँको खोजी गर्‍यौं । घरमा आएपछि मुलायम सोफामा ढल्किएर टेलिभिजनको रिमोट चलाउन वा मोवाइलमा फेसबुक चलाउनुपर्ने भयो ।

आज हामी पैदल हिँड्दैनौ । पैदल हिँड्नु भनेको व्यायाम गर्नु हो भन्ने बुझाई छ । किनभने यात्रा गर्नका लागि सवारी साधन नभई नहुने अवस्था छ । दुई पाइला हिँड्नुपर्ने बाटोमा हामी मोटरसाइकल चढ्न थाल्यौं । हिँड्ने, कुद्ने, उप|mने जस्ता शारीरिक क्रिया हुन छाड्यो । हामी सुविधाभोगी भयौं ।

यसरी आधुनिकताको चक्करमा हामी जति-जति सुविधाको खोजी गर्दै गयौं, उत्तिनै प्रकृतिबाट विमुख हुँदै गयौं । हामी कृतिम, बनावटी जीवनशैलीमा प्रवेश गर्‍यौं । यसले हाम्रो शरीरलाई सुविधा त दियो, तर स्वस्थ्य दिएन । यसले हाम्रो मनलाई चैन त दियो तर शान्ती दिएन । प्रकृतिबाट विमुख भएर हामी अस्वस्थ्य भयौं । अशान्त भयौं । यही नै हाम्रो रोगको कारण बन्यो । मानसिक र शारीरिक समस्याको कारण बन्यो । आज मधुमेह, उच्च रक्तचाप, वाथदेखि चिन्ता, डिप्रेसनसम्मका मुल कारण नै हाम्रो खराब जीवनशैली बनेको छ । खराब जीवनशैलीको अर्थ बनावटी एवं अप्राकृतिक जीवनशैली ।

हामी प्रकृतिबाट जति-जति विमुख हुन्छौं, उत्तिनै शारीरिक र मानसिक रुपले कमजोर हुँदै जान्छौं । माटो, पानी, हिलो, हावा, बोट बिरुवा, बनजंगल, चराचुरुंगी, खेतीबाली आदिसँग दुरी बढाएपछि हामी अस्वस्थ्य, रोगी, जीर्ण हुँदै जान्छौं ।

हाम्रो शरीर प्रकृतिकै एक अंश हो । हामी जति प्रकृतिसँग एकाकार हुन्छौं, शरीर उत्तिनै स्वस्थ्य, तन्दुरुस्त हुन्छ । मन उत्तिनै खुसी, सुखी र सन्तुष्ट हुन्छ । कृतिम ढंगले प्राप्त गरिने जे जति कुरा छन्, ति सबै क्षणिक छन् । प्राकृतिक ढंगले प्राप्त गरिने जे जति कुरा छन्, ति सबै दिगो र भरपर्दो छन् ।

त्यसैले हामीले सकेसम्म प्राकृतिक जीवनशैली अपनाउने गर्नुपर्छ । प्रकृतिसँग मिल्ने एवं एकाकार हुने प्रयत्न गर्नुपर्छ । प्रकृतिले जे दिन्छ, जहिले दिन्छ, त्यही अनुसार हाम्रो खानपान तालिका तयार गर्नुपर्छ । प्रकृतिले जस्तो दिएको छ, त्यही अनुसार ग्रहण गर्नुपर्छ । प्रकृतिले दिएको कुरालाई अस्विकार गर्ने, उल्लघंन गर्ने प्रवृत्तिले हामीलाई रोगको दलदलमा फसाउँछ । त्यसैले जीवनलाई प्राकृतिक बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment