News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सोमबार ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेका छन्।
 - दयाराम शर्मा मौद्रिक व्यवस्थापन विभागबाट गभर्नरको कार्यालयमा सरुवा भएका छन्।
 - गुरु पौडेल मानव संशाधन व्यवस्थापन विभागमा, रेवतीप्रसाद नेपाल सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा भएका छन्।
 
१८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एक दर्जन कार्यकारी निर्देशकको सरुवा गरेका छन् । गभर्नरले सोमबार निर्णय गर्दै बुधबारदेखि कार्यान्वयन हुने गरी ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् ।
गभर्नर कार्यालयका अनुसार जिम्मेवारी हेरफेर भएका कार्यकारी निर्देशकमध्ये मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मा पङ्गेनी गभर्नरको कार्यलयमा तानिएका छन् । त्यसैगरी बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका गुरु पौडेल मानव संसाधन व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका रेवतीप्रसाद नेपाल सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको जिम्मामा दिइएको केन्द्रीय बैंकले जनाएको छ । साथै मानव संशाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मा दिइएको छ ।
राष्ट्र बैंकको प्रवक्ता समेत रहेका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डितलाई विदेशी विनिमय विभागको जिम्मा तोकिएको छ । हाल वित्तीय संस्था सुपरीवेक्षण विभागमा रहेका सत्येन्द्र तिमिल्सिना बुधबारदेखि भुक्तानी प्रणाली विभागको नेतृत्व गर्नेछन् ।
त्यसैगरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रानेशन कुमार सिग्देललाई बैंकिङ विभागको जिम्मेवारी तोकिएको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकको बैंकिङ विभागको नेतृत्व गरेका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेल मौद्रिक व्यवस्थापन पुगेका छन् ।
केन्द्रीय बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका अनुज दाहाललाई मुद्रा व्यवस्थापनको जिम्मा दिइएको छ भने भर्खरै मात्र कार्यकारी निर्देशक भइ गभर्नरको कार्यलयमा रहेका राजन बिक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको प्रमुख बनाइएको केन्द्रीय बैंकले जनाएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4