Comments Add Comment

अंश विवादमा प्रहरीका सईले कुटे आफ्नै भाइ

२३ असार, बुटवल । रुपन्देहीमा एकजना प्रहरी नायव निरीक्षक (सई)ले आफ्नै भाइसहित भाइकोे परिवारका सदस्यहरुलाई कुटपीट गरेका छन् ।
संघीय प्रहरी कार्यालय भैरहवामा कार्यरत सई अम्विकाप्रसाद बरईले रुपन्देहीको सम्मरीमाई गाउँपालिका १ मा बसोवास गर्ने भाइ अनिरुद्रप्रसाद बरईसहित अनिरुद्रकी श्रीमती र छोरालाई कुटपीट गरेका हुन् ।

सई अम्विकासहित छोरा जयप्रसाद, श्रीमती किस्नावती र बुहारी निर्मलादेवीले श्रीमती मनोरमादेवी र छोरा अभिषेकसहित आफूलाई कुटपीट गरेको अनिरुद्रले बताएका छन् ।

खेतको आलि भत्किएको विषयमा विवाद गरी उनीहरुले कुटपीट गरेको अनिरुद्रको भनाइ छ । अम्बिकाले ‘तेरो पक्षमा कसैले केही गर्दैन’ भन्दै कुटपीट गरेको र ज्यानै मार्ने धम्की दिएको अनिरुद्रको आरोप छ ।

आइतवार बिहानको सो घटनापछि अनिरुद्र र उनको श्रीमतीले आइतवार नै जिल्ला प्रहरी कार्यालय रुपन्देही र राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय बुटवलमा निवेदन दर्ता गराएका छन् ।

सई अम्बिका बरईले भने आफू छुट्टीमा घर जाँदा सधै सामान्य निहुँमा झगडा हुने गरेको र भाइले आफ्नो बद्नाम गराई जागिरमा आँच पुर्‍याउने उद्देश्य राखेर प्रहरीमा निवेदन दिने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले उक्त परिवारमा विगतदेखि नै अंशका सम्बन्धमा झैझगडा र किचलो हुने गरेको र अदालतमा मुद्दासमेत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment