२४ असार, काठमाडौं । राणा कालअघिको नेपालको इतिहासका दस्तावेज खोज्नुपरे लण्डनको ब्रिटिश लाइब्रेरीमा पुग्नुपर्छ । नेपालको इतिहासका कतिपय रहस्य र किस्साहरु ब्रायन हड्सनका किताबमा पढ्नुपर्छ । स्वतन्त्र भारतले कश्मिर र सिक्किमजस्तै नेपाललाई निल्नका लागि केसम्म गरेको थियो भन्ने बुझ्न तत्कालीन भारतीय कूटनीतिज्ञ र गुप्तरका किताब पढ्नुपर्छ ।
के नेपालको आफ्नै ‘मेमोरी’ छैन ? बाह्य मुलुकहरुसँग भारतभन्दा पहिले नै कूटनीतिक सम्बन्ध राखेको नेपालका तत्कालीन कूटनीतिक प्रतिनिधिहरुसँग त्यस्ता रहस्यहरु थिएनन् होला ? तर, उनीहरुको निधनसँगै तिनका अनुभव पनि मरे । हाम्रा कूटनीतिज्ञहरुले पनि तत्कालीन अनुभवहरु लेखिदिएका भए भावी पुस्ताका लागि महत्वपूर्ण दस्तावेज हुने थिए ।
यो छटपटी पत्रकार विष्णु रिजालमा पनि रहेछ । नेपालको कूटनीतिक अभ्यासका बारेमा जानकारी लिन हामी विदेशीहरुको पुस्तकमा भर पर्नुपरेको अवस्थाले उनलाई छोएको रहेछ । हरेक वर्ष पुराना कूटनीतिज्ञको निधन हुँदा उनको मनमा ‘हत्तेरिका उहाँ पनि यत्तिकै बिदा हुनुभयो’ भन्ने लागि रहन्थ्यो ।
नेपालका लागि भारतीय राजदूत रहिसकेका कूटनीतिज्ञ केभी राजनले सम्पादन गरेको पुस्तक ‘द एम्ब्यास्डर्स क्लब, इण्डियन डिप्लोम्याट एट लार्ज’ पढेपछि एउटै पुस्तकमा धेरै कूटनीतिज्ञका अनुभव संग्रहित हुँदा झन् फाइदाजनक हुँदो रहेछ भन्ने उनको मनमा परेको थियो ।
सक्रिय पत्रकारिता छाडेर लेखनमा लागेका र पछिल्लोपटक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भइसकेका विष्णु रिजाल अन्ततः त्यो काम गर्न आफैं अग्रसर भए । प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेपछि कुरा भयो र वरिष्ठ कूटनीतिज्ञका अनुभव पुस्तकका रुपमा निकाल्न रिजाल थत अग्रसर भए ।
तत्कालीन नेकपा एमालेमा प्रदीप ज्ञवाली प्रचार विभाग प्रमुख हुँदा रिजाल उनको सहयोगी टिममा थिए । अध्ययनमा रुचि राख्ने र समकालीन नेताहरुमध्ये इतिहास, वर्तमान र भविष्यको समेत वैचारिक विश्लेषण गर्नसक्ने क्षमतामा ज्ञवालीले रिजालको प्रस्तावलाई ढाडस दिए ।
अन्ततः एक वर्षभन्दा लामो समय लगाएर रिजालले सम्पादन गरेको पुस्तक ‘नेपालको कूटनीतिक अभ्यास’ राजदूतहरुको अनुभवसहित प्रकाशन भएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले यो पुस्तक प्रकाशन गरेको हो ।
पुस्तकमा २० जना पूर्वराजदूतका अनुभवहरु उनीहरुको शब्दमा राखिएको र उनीहरु ८० देखि ९९ वर्ष उमेर समूहका रहेको रिजालले बताए । तीमध्ये ९९ वर्षका नयनबहादुर खत्रीको यो पुस्तक प्रकाशित नहुँदै निधन भइसकेको छ । ९१ वर्षीय खड्गजीत बरालका रोचक किस्सा पुस्तकमा समेटिएका छन् ।
पुस्तक निकाल्ने क्रममा विभिन्न २५ जना वरिष्ठ कूटनीतिज्ञसँग कुराकानी गरिए पनि तथ्यगत अस्पष्टता लगायत विभिन्न कारणले ५ जनाको समावेश गर्न नसकिएको उनले बताए । ८० हाराहारीदेखि ९९ वर्ष उमेर समूहका व्यक्तिको अनुभव समेट्दा धेरै प्रसंग पञ्चायतकालीन छन् ।
तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा अमेरिकाको राजकीय भ्रमण गरेका थिए । त्यसयता नेपालकोतर्फबाट अमेरिकाको त्यो तहको भ्रमण हुन सकेको छैन । त्यो बेला कसरी सम्भव भयो ? राजीव गान्धी र वीरेन्द्रको सम्बन्ध किन बिग्रियो ? इन्दिरा गान्धी राजा महेन्द्रसँग किन डराइन् ? इतिहासका नखुलेका पाटाहरु यो पुस्तकबाट खुल्ने रिजाल बताउँछन् ।
दुईपटक संयुक्त राष्ट्रसंघको अस्थायी सदस्य भइसकेको नेपाल अहिले किन पछि पर्यो ? सन् २००६ मा आइपुग्दा किन लज्जास्पद पराजय ब्यहोर्नुपर्यो ? यसको समीक्षा हुँदै जाला । तर, पुस्तकमा त्यो बेलाका राजदूतका अनुभव र हण्डर ठक्करका कथा समेटिएका छन् ।
पुस्तकमा कथा अनुभव मात्र नभई तथ्यहरु समेत केलाइएको सम्पादक रिजालले बताए । वृद्ध अवस्थामा पुगिसकेका तत्कालीन राजदूतले भनेका कुरालाई पुष्टि गर्न र प्रमाण भिडाउन रिजालले कैयौं दिन मदन पुरस्कार पुस्तकालय र कीर्तिपुर पुस्तकालयमा बिताएका छन् ।
पुस्तकलाई आधिकारिक र तथ्ययुक्त बनाउन उनले एकजना व्यक्तिलाई ११ पटकसम्म भेटेका छन् । किनकि, उनीहरु घटना त भन्छन् तर तिथि मिति याद हुन्न । तिथिमिति भिडाउन पुस्तकालयदेखि परराष्ट्र मन्त्रालयका अभिलेखहरु पल्टाउँदा कैयौं दिन बतेको उनले बताए ।
रिजाल भन्छन्–इतिहासका घटनाक्रम र तिथि मितिहरु विभिन्न कालखण्डका अभिलेखमा राख्न सकिन्छ र भेटिन्छ । तर, ती घटना र कालखण्डका साक्षीसमेत रहेका त्यस्ता व्यक्तिका ज्ञान उनीहरुसँगै मरेर जान्छन् । त्यसैले हाम्रामा लेख्ने चलन नभएकाले धेरै व्यक्तिका निधनसँगै ज्ञान पनि मरेका हुनाले मैले यो पुस्तकमा उनीहरुका ज्ञान,अनुभव र घटनाहरु जस्ताको तस्तै ल्याइदिएको हुँ ।
पुस्तकमा प्रधान सेनापतिबाट राजदूत बनेका ८९वर्षीय अर्जुन नरसिंह राणादेखि प्रहरी महानिरीक्षकबाट राजदूत बनेका ९१ वर्षीय खड्गजीत बरालका रोचक किस्साहरु छन् । त्यस्तै इन्द्रवहादुर सिंह, कमल कोइराला, केदारभक्त माथेमा, डा.भेषवहादुर थापा, केदारभक्त श्रेष्ठका अनुभव पनि समेटिएका छन् ।
गोपीनाथ दवाडी, नयनवहादुर खत्री, नोवलकिशोर राई, पुष्करमान सिंह राजभण्डारी, भिक्ट्री शमसेरजबरा, मोहनप्रसाद लोहनी,राजेश्वर आचार्य, लीलाप्रसाद शर्मा, श्यामानन्द सुमन, सुन्दरनाथ भट्टराई, सूर्यप्रसाद श्रेष्ठ, सुरेन्द्रबहादुर श्रेष्ठ र सुशीलचन्द अमात्यका अनुभव पुस्तकमा छन् ।
३१० पृष्ठको पुस्तकमा नेपालका हालसम्मका परराष्ट्रमन्त्री र सचिवहरुको नाम मात्र छैन, नेपालको कूटनीतिक सम्बन्ध स्थापित भएका मुलुक तथा नियोगहरुका राजदूत तथा नियोग प्रमुखहरुको नाम पनि समावेश छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4