Comments Add Comment

फेसबुक तथा गुगलमाथि फ्रान्सले लगायो कर

फ्रान्सको तल्लो सदनले गुगल, फेसबुक तथा अमेजनजस्ता ठूला इन्टरनेट कम्पनीहरु माथि कर लगाउने कानून पारित गरेको छ ।

करको दर न्यून रहेका युरोपेली मुलुकहरुमा कार्यालय खडा गरी अन्य मुलुकहरुमा कर छली गर्ने ठूला बहुराष्ट्रिय कम्पनीहरुको चलाखीलाई रोक्नका लागि यो नयाँ कानून प्रभावकारी हुने अपेक्षा गरिएको छ । स्मरणरहोस् गुगल, फेसबुक तथा अमेजनलगायतका बहुराष्ट्रिय कम्पनीहरुले फ्रान्समा ठूलो कारोबार गर्ने गरेका भए पनि करको रुपमा फ्रान्समा रकम चुक्ता गर्नु पर्दैन ।

फेसबुक तथा गुगलजस्ता कम्पनीहरुलाई हरेक मुलुकमा करको दायरामा ल्याउनका लागि आफूले तयार गरेको कानूनको अन्य मुलुकहरुले पनि सिको गर्ने अपेक्षा फ्रान्स सरकारले गरेको छ ।

फ्रान्सको तल्लो सदनले पारित गरेको विधयेक अनुसार फ्रान्समा कारोबार गर्ने र विश्वव्यापी वार्षिक आम्दानी ७५ करोड तथा फ्रान्समा वार्षिक अढाई करोड युरोभन्दा धेरै आम्दानी भएका डिजिटल कम्पनीहरुले फ्रान्समा ३ प्रतिशत कर तिर्नुपर्नेछ ।

तल्लो सदनले पारित गरेको यो विधयेक अर्को हप्ता माथिल्लो सदनले पारित गरेसँग लागू हुनेछ ।

फ्रान्सले तयार गरेको यो कानूनलाई प्रविधि उद्योगले भने आलोचना गरेको छ । यसले उपभोक्तामाथि थप व्ययभार थोपर्ने जिकिर उनीहरुको छ ।

फ्रान्सको नयाँ कानूनले फेसबुक, गुगल तथा अमेजन मात्र होइन अन्य अमेरिकी कम्पनीहरु एयर बीएनबी र उबरका सँगै कतिपय चिनियाँ तथा युरोपेली कम्पनीहरु पनि प्रभावित हुनेछन् ।

यो ३ प्रतिशत कर लागू गरेसँगै फ्रान्सले वार्षिक रुपमा ५० करोड युरो कर उठाउन सक्नेछ र करको त्यो रकम वार्षिक रुपमा बढ्नेछ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment