Comments Add Comment

कटहरियाकी उपमेयरको गुनासो : मलाई माटोको मूर्तिजस्तो बनाए

मेयर र उपमेयरको विवादका कारण नगरसभा प्रभावित

२४ असार, रौतहट । कटहरिया नगरपालिकाको नगरसभा बुधबार हुँदैछ । तर नगरसभाअघि मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको छ ।

मेयर सियाराम कुशवाहले उपमेयरले नगरपालिकाको काममा ध्यान नदिएको र आफ्नो जिम्मेवारीको काम समयमा नसेकेको आरोप लगाएका छन् । उपमेयर नूरजहाँ खातुनले योजना छनोट गर्दा मेयर र कर्मचारीले बेवास्ता गरेको र माटोको मूर्तिजस्तो बनाएको गुनासो गरेकी छन् ।

‘हामीलाई नगरपालिकाका प्रशासकीय अधिकृत र लेखापालल समेतले वेवास्ता गर्छन्’ उपमेयर खातुनले भनिन् ‘हिसाब किताब देखाउ भन्दा कर्मचारीले मान्दैनन । मेयरले झनै कुनै हैसियतसमेत दिदैनन् ।’

अनुगमनको जिम्मा उपमेयरको भए पनि मेयर कुशवाहाले आफै योजना अनुगमन तथा सुपरीवेक्षण समितिको संयोजक भन्दै हस्ताक्षर गरेको उपमेयर खातुनले बताइन् । नगर कार्यपालिकाको निर्णयबिनै करोडौं रकम जथाभावी बाँडिएको उनले आरोप लगाइन् । ‘नगरपालिकाको पैसा कुनै व्यक्ति विशेषले आफू खुशी बाँड्ने र खर्च गर्दासमेत सम्बन्धित निकाय मौन छ’

उपमेयर खातुनले नगरपालिकामा चरम भ्रष्टाचार हुँदा पनि कसैले चासो नलिएको गुनासो गरिन् । नगरपालिकाको नगरसभा बुधबार आयोजना हुँदैछ । मेयरले कानूनी प्रक्रिया मिचेर एकलौटी रुपमा नगरसभा आह्वान गरेको उनले बताइन् ।

मेयर सियाराम कुशवाहाले भने आफूले कार्यपालिकाको निर्णय बिना कुनै बजेट र भुक्तानी नगरेको दावी गरे । उनले उपमेयरको जिम्मेवारी अन्तर्गतको कामको बारम्बार रिपोर्ट माग गर्दासमेत नदिएपछि आफ्नो ढंगले काम गरेको बताए ।

‘राजश्व परामर्श समितिको कार्यतालिका अनुसार वैशाख २० गतेसम्मको रिपोर्ट बारम्बार माग गर्दा समेत नदिएको र योजना तर्जुमाको लागि समेत पत्राचार गर्दासमेत उहाँले काम गर्नुभएन’ उनले भने ‘योजना तर्जुमा नहुँदा असार १० गतेसम्म हुनुपर्ने नगरसभा समेत गर्न सकिएन । त्यसपछि कार्यपालिकाको बैठकले आफै योजना तर्जुमा गरी २५ असारका लागि नगरसभा तोकेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment